Butwal Today

विपत् नीति निर्माण र कोष सञ्चालन

७ असार २०८३, आइतबार
अ+
अ-

बुटवल । बाँके जिल्लाका आठ वटै स्थानीय तहले विपत् जोखिम न्यूनीकरणका लागि नीति निर्माणसँगै विपत् कोष सञ्चालन गरेका छन् ।

जिल्लाका सबै स्थानीय तहले विपत् जोखिम न्यूनीकरणका लागि नीति निर्माण गरेर विपत् कोष स्थापना गरी रकम समेत जम्मा गरेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना अधिकृत रूपन ज्ञवालीले बताए ।

उनका अनुसार विपत् कोषमा, नेपालगन्ज उपमहानगरपालिकाले एक करोड २८ लाख, कोहलपुर नगरपालिकाले १३ लाख ८२ हजार, बैजनाथ गाउँपालिकाले ५५ लाख ४८ हजार, खजुरा गाउँपालिकाले ८१ लाख १० हजार, जानकी गाउँपालिकाले १२ लाख ५८ हजार, डुडुवा गाउँपालिकाले १० लाख, राप्तीसोनारी गाउँपालिकाले दुई लाख ७३ हजार र नरैनापुर गाउँपालिकाले पाँच लाख रुपियाँ जम्मा गरेका छन् ।

सूचना अधिकृत ज्ञवालीले जिल्ला विपत् व्यवस्थापन समितिले तयार गरेको मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना अनुसार सबै स्थानीय तहले विपत् कोषमा रकम जम्मा गरेको बताए ।

विपत् व्यवस्थापन समितिका अनुसार बाँकेमा विपत् पूर्व तयारीका लागि आवश्यक सामग्री भण्डारण समेत गरेर राखिएको छ । उद्धारका लागि आठ स्थानीय तहमा १९ हेलिप्याड, १२ रबरबोट सहित आवश्यक जनशक्तिलाई तयारी अवस्थामा राखिएको छ ।

प्रमुख जिल्ला अधिकारी तथा विपत् व्यवस्थापन समितिका अध्यक्ष दिल कुमार तामाङका अनुसार विपत्का सम्भावित स्थान र हुने विपत्को पूर्वानुमान गरेर योजना तयार पारी सो योजना कार्यान्वयन गर्ने सबै प्रक्रिया पूरा गरेर राखिएको जानकारी दिए ।

उनले विपत् व्यवस्थापनलाई प्रभावकारी र शून्य क्षतिमा पु¥याउन नीति निर्माण र कोष सञ्चालन गरिएको बताए ।  नरैनापुर गाउँपालिकाका वन, वातावरण तथा विपत् व्यवस्थापन शाखाका प्रमुख विनोद चौधरीले नरैनापुरमा पटक पटक आगलागी र डुबानको समस्या हुने गरेको जनाउँदै यस पटक पूर्व तयारीलाई सुदृढ पारिएको बताए ।

पश्चिम नेपालको तराईमा पर्ने बाँके जिल्लामा बर्सेनि गर्मीमा आगलागी र तातो हावा लु, वर्षामा बाढी, डुबान तथा चिसोमा शितलहरजस्ता विपत्बाट स्थानीय बासिन्दा पीडित हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?