Butwal Today

एकै महिनामा ३१ मुद्दा दर्ता 

७ असार २०८३, आइतबार
अ+
अ-

पाल्पा । पाल्पामा एकै महिनामा ३१ वटा विभिन्न प्रकारका अपराधका मुद्दा दर्ता भएका छन् ।

तीमध्ये भवितव्य ज्यान सम्बन्धी १०, आत्महत्या सम्बन्धी ९, लागु औषध सम्बन्धी २, चोरी सम्बन्धी ३, अभद्र व्यवहार सम्बन्धी ३, ज्यान सम्बन्धी २ र फुटकर ज्यान सम्बन्धी २ वटा मुद्दा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।

जसमध्ये १० वटा मुद्दा फर्स्यौट भएका छन् । यो जेठ महिनाको तथ्याङ्क हो । यस अवधिमा चालु मुद्दाका १९ जना प्रतिवादीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

जसमा ६ महिला र १३ पुरुष रहेका छन् । लागु औषध मुद्दाका ६, चोरी सम्बन्धी मुद्दाका ५, ठगी सम्बन्धीका १, बैङ्किङ कसुर सम्बन्धीका १, अभद्र व्यवहार सम्बन्धीका ६ जना प्रतिवादी पक्राउ परेका हुन् । सार्वजनिक चासोका पेण्डिङ्ग मुद्दाका १३ वटा २ वर्षे मुद्दा फर्स्योट गरिएको छ ।

यस्तै अदालतको फैसला कार्यान्वयनको क्रममा विभिन्न मुद्दामा फरार रहेका ३ जनालाई पक्राउ गरी उनीहरूबाट एक महिना बराबरको कैद सजाय कार्यान्वयन गरिएको छ भने ४३ लाख ८१ हजार ८ सय ३ रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ । लागु औषध नियन्त्रणको क्रममा जेठ महिनामा ३ सय ६० ग्राम गाँजा बरामद गरिएको जानकारी गराइएको छ ।

यस्तै सवारी दुर्घटना ७ वटा हुँदा ११ जना घाइते भएका छन् । ट्राफिक नियम उल्लङ्घन गर्ने ४ सय ९७ सवारी साधनमाथि कारबाही गरी ५ लाख ३६ हजार राजस्व सङ्कलन गरिएको छ । दुर्घटनाका प्रमुख कारणमा तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी चलाउनु तथा ट्राफिक अनुशासनको कमी रहेको विश्लेषण गरिएको छ ।

यस्तै हराएका १७ जना मध्ये १३ जना फेला परेका छन् । जस मध्ये महिला ४ जना, पुरुष ६ जना, बालक १, बालिका २ जना रहेका छन् ।
४ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । एक महिनाको अवधिमा ४ वटा घरेलु हिंसाको मुद्दा दर्ता भएका छन् । जसमा २ वटाको मिलापत्र गरिएको छ भने १ वटा अदालत पठाइएको छ ।

लागु औषध नियन्त्रण, आत्महत्या न्यूनीकरण, महिला हिंसा, बालविवाह, साइबर अपराध, ट्राफिक चेतना लगायतसम्बन्धी समुदाय–विद्यालय कार्यक्रमलाई पनि प्राथमिकता दिइएको छ । जेठ महिनामा ६८ वटा समुदाय–विद्यालय केन्द्रित कार्यक्रम सञ्चालन गरिएको छ । जसबाट २ हजार ४ सय ९७ जना लाभान्वित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?