Butwal Today

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा विद्यालयलाई खानेपानी धारा हस्तान्तरण

५ असार २०८३, शुक्रबार
अ+
अ-

बुटवल ।

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीका संस्थापक अध्यक्ष भेषराज पोखरेलका पिता स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा निर्माण गरिएको खानेपानी धारा बुटवल–१३, बदेलपोखरीस्थित जितेश्वरी माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको छ । सोही अवसरमा धाराको औपचारिक उद्घाटनसमेत सम्पन्न भएको हो ।

संस्थापक अध्यक्ष पोखरेलका छोरा सम्राट पोखरेलको जन्मदिनको अवसर पारेर विद्यालय तथा स्थानीय समुदायको हितलाई मध्यनजर गर्दै निर्माण गरिएको उक्त धारा विद्यालयलाई समर्पण गरिएको हो ।

कार्यक्रममा लियो जिल्ला परिषद् ३२५ पी, नेपालका जिल्ला अध्यक्ष तथा लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीका पूर्व अध्यक्ष श्रीधर बस्यालले धारा उद्घाटन गर्दै सामाजिक उत्तरदायित्वका यस्ता कार्यले समुदायमा सकारात्मक प्रभाव पार्ने बताए । उनले शिक्षा, स्वास्थ्य र सरसफाइसँग प्रत्यक्ष सम्बन्धित यस्ता परियोजनाले विद्यार्थीहरूको दैनिकी सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

कार्यक्रममा धारा निर्माण समितिका संयोजक गोकुल भण्डारी, सह–संयोजक लक्ष्मण खनाल र विशाल खनाल तथा पूर्व अध्यक्ष एवं एरिया चिफ जीवन थापा क्षेत्री लगायतले संस्थापक अध्यक्ष भेषराज पोखरेलको परिकल्पनाअनुसार विद्यालयमा शुद्ध तथा सुरक्षित खानेपानीको पहुँच विस्तार गर्ने उद्देश्यले धारा निर्माण गरिएको जानकारी गराए ।

विद्यालयका प्राचार्य उपेन्द्र ज्ञवालीले सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई छनोट गरी महत्वपूर्ण योजना सञ्चालन गरेकोमा क्लबप्रति आभार व्यक्त गरेका छन् । यस परियोजनाबाट विद्यार्थी, शिक्षक तथा विद्यालय परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुने उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा समाजसेवी कमल सापकोटा तथा सरु थापा लगायत अन्य वक्ताहरूले क्लबप्रति आभार व्यक्त गर्दै यस्ता परोपकारी कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका थिए ।

क्लबका अध्यक्ष लियो अशोक कुमार श्रेष्ठले सामाजिक उत्तरदायित्व, मानवीय सेवा तथा समुदायप्रतिको प्रतिबद्धतालाई आत्मसात् गर्दै आगामी दिनमा पनि यस्ता सेवामूलक तथा जनहितका कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

कार्यक्रममा लियो क्लबका संस्थापक तथा पूर्व अध्यक्षहरू, वर्तमान कार्यसमितिका पदाधिकारीहरू, विभिन्न सामाजिक तथा परोपकारी संस्थाका प्रतिनिधिहरू, समाजसेवी, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?