© 2026
काठमाडौं । सरकारले राजधानी काठमाडौं र पर्यटकीय नगरी पोखराबीचको यात्रा समय घटाएर दुई घण्टामा सीमित गर्ने लक्ष्यसहित नयाँ द्रुतमार्ग एक्सप्रेस वे निर्माणको अध्ययन प्रक्रिया अघि बढाएको छ।
प्रतिनिधिसभा बैठकमा जानकारी दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले काठमाडौं–पोखरा द्रुतमार्गको सम्भाव्यता अध्ययन र कार्ययोजना निर्माणको काम भइरहेको बताए। उनका अनुसार सरकारले पोखरा–बुटवल एक्सप्रेस वेलाई समेत उच्च प्राथमिकतामा राख्दै चालु आर्थिक वर्षभित्रै ठेक्का प्रक्रिया सुरु गर्ने तयारी गरेको छ।
मन्त्री लम्सालले बुटवल–पोखरा एक्सप्रेस वे निर्माणपछि पोखरासम्मको यात्रा समय उल्लेखनीय रूपमा घट्ने विश्वास व्यक्त गरे। उनले “दुई घण्टामै पोखरा पुग्ने लक्ष्यसहित परियोजनाको टेन्डर यही वर्ष आह्वान गर्ने तयारी भइरहेको” जानकारी दिए। सरकारले पर्यटन प्रवर्द्धनलाई केन्द्रमा राखेर देशभर आठ वटा रणनीतिक पर्यटकीय राजमार्ग निर्माण गर्ने अवधारणा अघि सारेको छ। ती परियोजनाका लागि करिब ६ खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ।
मन्त्री लम्सालका अनुसार पूर्व–पश्चिम राजमार्गपछि अब पर्यटन र आर्थिक गतिविधिलाई टेवा पुग्ने पूर्वाधार विकासमा सरकारको विशेष ध्यान केन्द्रित भएको छ। भारतलगायत छिमेकी मुलुकबाट आउने पर्यटकको संख्या बढ्दै जाँदा पोखरामा यातायातको चाप बढेको र त्यसको दीर्घकालीन समाधानका लागि आधुनिक तथा द्रुत सडक सञ्जाल आवश्यक भएको उनले बताए।
सरकारले सुदूरपश्चिमको अपिनम्पा क्षेत्रदेखि पूर्वी नेपालको पाथीभरा क्षेत्रसम्म जोड्ने पर्यटकीय एक्सप्रेस वेको अवधारणामा समेत काम गरिरहेको जनाएको छ। प्रस्तावित योजनाहरू कार्यान्वयनमा आएमा पर्यटन, व्यापार र आन्तरिक आवागमन क्षेत्रमा उल्लेखनीय परिवर्तन आउने अपेक्षा गरिएको छ। विशेषगरी काठमाडौं–पोखराबीचको यात्रा समय घट्दा पर्यटन उद्योग र व्यवसायिक गतिविधिलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ।