Butwal Today
 बुटवलमा चौथो राष्ट्रिय मिडिया सम्मेलन आयोजना हुँदै

नेपाली मिडियाको संकट र भविष्यबारे राष्ट्रिय बहस हुने

३ असार २०८३, बुधबार
अ+
अ-

बुटवल ।

नेपाली मिडिया क्षेत्रले भोगिरहेका आर्थिक, प्राविधिक तथा नीतिगत चुनौतीबारे राष्ट्रिय स्तरमा बहस गर्न बुटवलमा चौथो राष्ट्रिय मिडिया सम्मेलन २०८३ आयोजना हुने भएको छ ।

प्रकाशन तथा प्रसारण संघ, लुम्बिनीको आयोजनामा तथा नेपाल मिडिया सोसाइटीको सह–आयोजनामा आगामी असार ६ र ७ गते बुटवलमा सम्मेलन सञ्चालन हुन लागेको हो । “संकटबाट सम्भावनातर्फः नेपाली मिडियाको दिगो भविष्य” भन्ने मूल नारासहित आयोजना हुने सम्मेलनको उपनारा “मिडियामा विश्वसनीयता, विविधीकरण र स्थायित्वको खोजी” रहेको छ ।

आयोजकले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पछिल्ला वर्षहरूमा विज्ञापन बजारको संकुचन, डिजिटल प्लेटफर्मको तीव्र विस्तार, बढ्दो सञ्चालन खर्च, पाठक तथा दर्शकको बदलिँदो व्यवहार र राजस्व स्रोतको अभावका कारण नेपाली सञ्चार उद्योग गम्भीर संकटमा परिरहेका बेला सम्मेलन आयोजना गर्न लागिएको हो ।

सम्मेलनमा सञ्चारमाध्यमको वर्तमान अवस्था, सरकारी विज्ञापन नीति, मिडियाको दिगोपन, डिजिटल विज्ञापनको विस्तार, सञ्चारमाध्यमको विश्वसनीयता, विज्ञापन वितरण प्रणाली, राजस्व विविधीकरण, पाठक तथा दर्शक मापन प्रणाली, डिजिटल संक्रमण तथा सञ्चार उद्योगको भविष्यलगायत विषयमा कार्यपत्र प्रस्तुति, विषयगत छलफल, प्यानल बहस र खुला अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

आयोजकका अनुसार सम्मेलनको मुख्य उद्देश्य सरकारी विज्ञापन नीतिमा आवश्यक सुधारका लागि साझा धारणा निर्माण गर्नु, मिडियाका लागि वैकल्पिक राजस्व स्रोतको खोजी गर्नु, डिजिटल रूपान्तरणलाई अवसरका रूपमा उपयोग गर्ने रणनीति विकास गर्नु तथा सञ्चार उद्योगभित्र सहकार्य र एकताको वातावरण सुदृढ गर्नु रहेको छ । सम्मेलनको दोस्रो दिन राष्ट्रिय दैनिक पत्रिकाहरूको विशेष भेला समेत आयोजना गरिनेछ ।

उक्त भेलामा दैनिक पत्रिकाहरूले भोगिरहेका साझा समस्या, वितरण प्रणाली, मुद्रण लागत, विज्ञापन व्यवस्थापन, डिजिटल संक्रमण तथा नीतिगत सुधारका विषयमा केन्द्रित छलफल हुने जनाइएको छ ।

प्रकाशन तथा प्रसारण संघ, लुम्बिनीका अध्यक्ष नवराज कुँवरका अनुसार दुईदिने सम्मेलनको समापनमा “बुटवल घोषणा–२०८३” जारी गरिनेछ ।

घोषणापत्रमार्फत नेपाली मिडिया उद्योगको दिगोपन, सञ्चारमाध्यमको विश्वसनीयता अभिवृद्धि, विज्ञापन वितरण प्रणालीमा पारदर्शिता, नयाँ राजस्व मोडेलको विकास तथा सञ्चारमाध्यम र विज्ञापन बजारबीच सहकार्य विस्तारका विषयमा साझा प्रतिबद्धता सार्वजनिक गरिने आयोजकको अपेक्षा छ ।

सम्मेलनले सरकारी विज्ञापन वितरण प्रणालीलाई मापदण्डमा आधारित, पारदर्शी र न्यायोचित बनाउन, राष्ट्रिय मिडिया दिगोपन कोष स्थापना गर्न, डिजिटल विज्ञापन बजारको उचित नियमन गर्न तथा स्थानीय सञ्चारमाध्यम संरक्षणका लागि आवश्यक नीतिगत पहलका विषयमा समेत सम्बन्धित निकायको ध्यानाकर्षण गराउने विश्वास लिइएको छ ।

देशभरका छापा, रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चारमाध्यमका सञ्चालक, प्रकाशक, सम्पादक, पत्रकार, सञ्चार विज्ञ, नीतिनिर्माता, विज्ञापन क्षेत्रका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको सहभागिता रहने सम्मेलनले नेपाली मिडियाको वर्तमान संकटलाई अवसरमा रूपान्तरण गर्दै दिगो, प्रतिस्पर्धी र विश्वसनीय सञ्चार क्षेत्र निर्माणका लागि महत्वपूर्ण योगदान पुर्‍याउने कुवरले बताए ।

प्रकाशन तथा प्रसारण संघ, लुम्बिनीका महासचिव माधव नेपालले “संकटमा नेपाली मिडिया, अब बन्द होइन, रूपान्तरणको बेला” भन्ने सन्देशसहित सम्मेलनले सञ्चार क्षेत्रको साझा भविष्य निर्माणमा महत्वपूर्ण बहस र निष्कर्ष प्रस्तुत गर्ने बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?