© 2026
बर्दघाट,नवलपरासी । बर्दघाट नगरपालिका वडा नं. ५ को कार्यालयमा कार्यरत कर्मचारीहरूलाई स्थानीय केही व्यक्तिले कार्यालय समयमै प्रवेश गरी धम्की, गालीगलौज र हातपात गर्ने मनसायले होहल्ला गरेको भनिएको घटनापछि वडा सचिवहरूको समूहले नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ।
वडा सचिव समूहले असार २ गते बुझाएको ज्ञापन पत्र अनुसार असार १ गते बिहान १ बजेदेखि १:३० बजेसम्म वडा नं. ५ मा सेवारत वडा सचिव शान्ति तिमिल्सिना लगायतका कर्मचारीलाई स्थानीय केही व्यक्तिहरूले भू-उपयोग क्षेत्र वर्गीकरणको विषयमा कार्यालय परिसरमै अवाञ्छित व्यवहार गरेको उल्लेख पत्रमा उल्लेख छ।
ज्ञापन पत्रमा भनिएको छ, “सेवा प्रदायक कर्मचारीहरूमाथि गरिने यस प्रकारका गतिविधिले कार्यस्थलमा कर्मचारीहरू असुरक्षित बन्दै गएको स्पष्ट हुन्छ।” समूहले उल्लेखित व्यक्तिहरूलाई कानुन बमोजिम यथाशीघ्र कारबाही गरी भयरहित वातावरणमा सेवा प्रवाह गर्ने अवस्था सुनिश्चित गरिदिन माग गरेको छ।
यता वडा नं. ५ कार्यालयले पनि असार १ गतेको घटनाबारे प्रेस विज्ञप्ति जारी गर्दै घटनाको विस्तृत विवरण सार्वजनिक गरेको छ। विज्ञप्ति अनुसार जग्गा नामसारीका लागि कृषि जग्गालाई आवासीय प्रयोजनको बाटो खोल्ने सिफारिस माग गरेका थिए।
कानुन बमोजिम त्यस्तो सिफारिस दिन नमिल्ने भनेपछि उनीहरूले पटक पटक दबाब सिर्जना गरी कानुनी रूपमा गर्न नमिल्ने काम गर्न बाध्य पार्ने प्रयास गरेको वडा कार्यालयको भनाइ छ। विज्ञप्तिमा “धम्की, गाली गलौच गरी हातपात गर्ने मनसायले एक हुल मानिस कार्यालय भित्र प्रवेश गरी होहल्लाका साथ विध्वंस मच्चाउँदै गर्दा नगर प्रहरी र इलाका प्रहरीलाई खबर गरियो” भनिएको छ।
घटनापछि वडा कार्यालय परिवारले समेत गम्भीर घटना घट्न सक्ने भन्दै खेद व्यक्त गर्दै वडावासीमा भ्रम सिर्जना नहोस् भन्ने उद्देश्यले विज्ञप्ति जारी गरेको वडा अध्यक्ष विमला गुरुङले जनाएकी छन्।

