© 2026
चन्द्राैटा । राजनीतिमा पाँच दशक बिताएका पूर्व प्रतिनिधिसभा सदस्य मङ्गलप्रसाद गुप्ताको निधन भएको छ । नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्यसमेत रहेका ८० वर्षीय गुप्ताको भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
एमाले कृष्णनगर नगरपालिका नगर कमिटी अध्यक्ष गोपाल चण्डेलका अनुसार स्वास्थ्य परीक्षणका लागि तीन साताअघि दिल्ली पुगेका गुप्ता एक साताअघि निवासको शौचालयमा लडेर घाइते भएका थिए । त्यसपछि उनलाई मेदान्त अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा स्वास्थ्यमा सुधार देखिएपछि सामान्य वार्डमा सारिए पनि आइतबार बिहान उनको निधन भएको जनाइएको छ ।
गुप्ताले आफ्नो राजनीतिक यात्रा २०२४ सालदेखि सुरु गरेका थिए । पञ्चायतकालदेखि लोकतान्त्रिक गणतन्त्रसम्मको राजनीतिक यात्रामा उनले पटक-पटक निर्वाचनमा प्रतिस्पर्धा गरे । २०३९ सालमा जिल्ला पञ्चायत सभापति र २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्य पदमा पराजित भएका उनी बहुदलीय व्यवस्थापछि पनि निरन्तर चुनावी मैदानमा सक्रिय रहेका थिए ।
नेपाली काँग्रेस, तमलोपा र मधेसी जनअधिकार फोरम हुँदै एमालेमा पुगेका गुप्ताले विभिन्न निर्वाचनमा लगातार पराजय भोगे । तर लामो राजनीतिक सङ्घर्षपछि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कपिलवस्तु-३ बाट विजयी हुँदै पहिलो पटक सङ्घीय संसद् प्रवेश गरेका थिए ।
सातौँ चुनावी प्रयासमा सफलता हात पारेका गुप्ता जिल्लाको राजनीतिक वृत्तमा धैर्य, निरन्तरता र सङ्घर्षका प्रतीक मानिन्थे । उनका श्रीमती, दुई छोरी र चार छोरा छन् । गुप्ताको निधनले कपिलवस्तुको राजनीतिक क्षेत्रले एक अनुभवी र सङ्घर्षशील नेतालाई गुमाएको छ ।