© 2026
भैरहवा । रुपन्देही जिल्ला क्रिकेट सङ्घको आगामी जेठ २५ गते हुने निर्वाचनले अहिले जिल्लाको क्रिकेट वृत्तलाई मात्र होइन, लुम्बिनी प्रदेशकै खेलकुद क्षेत्रलाई उत्साहित बनाएको छ ।
नेपाली क्रिकेटको उदीयमान केन्द्रका रूपमा स्थापित हुँदै गएको रुपन्देहीमा आगामी चार वर्षका लागि नेतृत्व कसले सम्हाल्ने भन्ने प्रश्न अहिले सबैभन्दा बढी चासोको विषय बनेको छ ।
निर्वाचनमा वर्तमान अध्यक्ष हरि बहादुर थापा र नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी शक्ति गौचनबिच प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ । दुवै उम्मेदवारले सार्वजनिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् र आ–आफ्नो एजेन्डासहित मतदातामाझ पुगिरहेका छन् ।
यो निर्वाचन केवल दुई व्यक्तिबिचको प्रतिस्पर्धा मात्र होइन । यसलाई रुपन्देही क्रिकेटमा ‘निरन्तरता कि परिवर्तन’, ‘प्रशासनिक अनुभव कि खेलाडी नेतृत्व’ र ‘संस्थागत व्यवस्थापन कि प्राविधिक क्रिकेट दृष्टिकोण’ बिचको प्रतिस्पर्धाका रूपमा पनि हेरिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) अन्तर्गत रुपन्देही पछिल्ला वर्षहरूमा सक्रिय जिल्लामध्ये एकका रूपमा स्थापित भएको छ । उमेर समूहदेखि खुला प्रतियोगितासम्मका गतिविधि नियमित रूपमा सञ्चालन हुँदै आएका छन् । जिल्लाबाट राष्ट्रिय टोलीसम्म पुग्ने खेलाडीहरूको सङ्ख्या पनि बढ्दो छ । तर सफलतासँगै चुनौतीहरू पनि उत्तिकै छन् ।
जिल्लामा क्रिकेट गतिविधि बढे पनि पर्याप्त मैदानको अभाव कायमै छ । अधिकांश ठुला प्रतियोगिता सञ्चालनका लागि सिद्धार्थ क्रिकेट रङ्गशालामाथि निर्भर रहनुपरेको अवस्था छ । एउटै मैदानमा प्रशिक्षण, प्रतियोगिता र अन्य गतिविधि सञ्चालन गर्दा समय व्यवस्थापन र खेल विकासमा समस्या देखिँदै आएको छ ।
यही कारण आगामी नेतृत्वले पूर्वाधार विकासलाई कसरी अघि बढाउँछ भन्ने विषय निर्वाचनको केन्द्रमा पुगेको छ ।
हरि बहादुर थापा: निरन्तरता र संस्थागत व्यवस्थापनको पक्ष
वर्तमान अध्यक्ष हरिबहादुर थापा आफ्नो कार्यकालमा सुरु गरिएका योजनालाई पूर्णता दिनुपर्ने तर्कसहित चुनावी मैदानमा उत्रिएका छन् ।
उनको मुख्य दाबी सङ्घलाई संस्थागत रूपमा बलियो बनाएको र रुपन्देही क्रिकेटलाई क्यानको दृष्टिमा अग्रणी जिल्लाका रूपमा स्थापित गराएको हो ।
उनी आगामी कार्यकालमा सङ्घलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा लैजाने योजनासहित मत मागिरहेका छन् । खेलाडीको तथ्याङ्क, प्रतियोगिताको अभिलेख, आर्थिक पारदर्शिता र प्रशासनिक कामलाई सफ्टवेयर प्रणालीमार्फत सञ्चालन गर्ने योजना उनको प्रमुख चुनावी एजेन्डा बनेको छ ।
यसका अतिरिक्त सिद्धार्थ क्रिकेट रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको पूर्वाधारयुक्त मैदानका रूपमा विकास गर्ने, अभ्यास सुविधा विस्तार गर्ने तथा जिल्लाभित्रका अन्य मैदानहरूको स्तरोन्नति गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन् ।
थापाको सबैभन्दा बलियो पक्ष भनेको प्रशासनिक अनुभव मानिन्छ । लामो समयदेखि क्रिकेट प्रशासनमा सक्रिय रहेका कारण क्यान, स्थानीय सरकार र विभिन्न सरोकारवालासँग उनको सम्बन्ध स्थापित छ ।
तर आलोचकहरू भने रुपन्देही क्रिकेटले अपेक्षा गरेअनुसार पूर्वाधार विस्तार हुन नसकेको र नयाँ मैदान निर्माणमा पर्याप्त गति नदेखिएको तर्क गर्छन् ।
शक्ति गौचन: मैदानबाट नेतृत्वमा आउने प्रयास
अर्का उम्मेदवार शक्ति गौचन नेपाली क्रिकेटमा परिचित नाम हुन् । राष्ट्रिय टोलीका प्रमुख स्पिनरका रूपमा झण्डै दुई दशक बिताएका गौचनले अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव बोकेका छन् । खेल जीवनपछि पनि उनी क्रिकेट विकासका विभिन्न गतिविधिमा संलग्न रहँदै आएका छन् ।
उनको उम्मेदवारीले विशेष गरी युवा खेलाडी, क्रिकेट प्रेमी र परिवर्तन चाहने समूहमा उत्साह थपेको देखिन्छ । गौचनको मुख्य एजेन्डा क्रिकेट पूर्वाधार विस्तार हो । उनले रुपन्देहीको सबैभन्दा ठुलो समस्या मैदान अभाव भएको बताउँदै आएका छन् ।
अध्यक्ष निर्वाचित भए देवदह क्षेत्रमा निर्माणाधीन क्रिकेट मैदानलाई पूर्णता दिने र थप खेल पूर्वाधार निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । उनले क्रिकेट विकासका लागि सामूहिक नेतृत्वको अवधारणा अघि सारेका छन् । खेलाडी, प्रशिक्षक, क्लब र स्थानीय सरकारबिच समन्वय गर्दै क्रिकेटलाई व्यापक बनाउने उनको योजना छ ।
गौचनको बलियो पक्ष भनेको क्रिकेटभित्रको लोकप्रियता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव र खेलाडीको मनोविज्ञानप्रतिको गहिरो बुझाइ हो । तर सङ्घीय प्रशासन, बजेट व्यवस्थापन र सङ्गठन सञ्चालनमा प्रत्यक्ष अनुभव कम रहेको विषयलाई उनका प्रतिस्पर्धी पक्षले प्रश्नका रूपमा उठाइरहेका छन् ।
को हुन् मतदाता ?
रुपन्देही क्रिकेट सङ्घको आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाल क्रिकेट सङ्घ (क्यान) का पूर्व निमित्त सचिव प्रशान्त विक्रम मल्लले निर्वाचनमा मतदान गर्न पाउने मतदाताको कानुनी व्यवस्थाबारे स्पष्ट पारेका छन् । मल्लले जिल्ला क्रिकेट सङ्घको निर्वाचनमा मतदान गर्ने अधिकार प्राप्त गर्न ६ वटा मुख्य मापदण्ड रहेको जानकारी दिएका छन् ।
उनका अनुसार कम्तीमा तीन अन्तर्राष्ट्रिय खेल खेलेका नेपाली खेलाडी, राष्ट्रिय स्तरमा खेलिसकेका र पछिल्लो दुई वर्षदेखि सक्रिय खेलबाट बाहिर रहेका पूर्व खेलाडी, आइसिसी वा सम्बन्धित निकायबाट लेभल–१ प्रशिक्षक कोर्स पूरा गरेका प्रशिक्षक तथा लेभल–१ अम्पायरिङ तालिम प्राप्त अम्पायरहरू मतदाता बन्न योग्य हुन्छन् ।
यस्तै, जिल्ला, प्रदेश वा क्षेत्रीय क्रिकेट सङ्घको कार्यसमितिमा कम्तीमा दुई कार्यकाल काम गरिसकेका पूर्व पदाधिकारीहरू पनि मतदाताको सूचीमा समावेश हुनेछन् ।
क्लबतर्फ भने जिल्ला क्रिकेट सङ्घले आयोजना गरेका आधिकारिक प्रतियोगितामा पछिल्लो आठ वर्षभित्र कम्तीमा दुई पटक सहभागिता जनाएको क्लबले मतदानको अधिकार पाउने व्यवस्था रहेको मल्लले बताएका छन् ।
उनका अनुसार यी मापदण्डभित्र पर्ने व्यक्ति र क्लबहरू मात्र जिल्ला क्रिकेट सङ्घको निर्वाचनमा कानुनी रूपमा मतदाता बन्न सक्नेछन् । रुपन्देही क्रिकेट सङ्घमा १२६ जना मतदाता रहेको मल्लले बताए ।
निर्वाचन नजिकिँदै जाँदा केही क्लबहरू खुला रूपमा उम्मेदवारको पक्षमा उभिन थालेका छन् भने धेरै क्लब अझै अन्तिम निर्णयमा पुगेका छैनन् । क्रिकेट वृत्तमा भएको चर्चाअनुसार अनुभवी प्रशासनिक नेतृत्व चाहने समूह थापातर्फ आकर्षित देखिन्छ भने क्रिकेटलाई नयाँ सोच र खेलाडी नेतृत्वको आवश्यकता रहेको विश्वास गर्नेहरू गौचनतर्फ झुकेको विश्लेषण भइरहेको छ ।
यद्यपि अन्तिम परिणाममा व्यक्तिगत सम्बन्ध, विगतको योगदान, क्लबहरूसँगको समन्वय र अन्तिम समयको चुनावी रणनीतिले महत्त्वपूर्ण भूमिका खेल्ने सम्भावना छ । पूर्वाधार विस्तार, खेलाडी उत्पादन, प्रशिक्षक विकास, महिला क्रिकेटको प्रवर्द्धन, आर्थिक स्रोत व्यवस्थापन र अन्तर्राष्ट्रियस्तरको सुविधा निर्माण आगामी नेतृत्वका प्रमुख चुनौती हुनेछन् ।