© 2026
नेपालगन्ज । कर्णाली विकास बैङ्कको साढे दुई अर्ब रुपियाँ बराबरको घोटाला प्रकरणमा प्रभावित बचतकर्ताहरूले सोमबार फेरि आन्दोलन गरेका छन् । लामो समयदेखि आफ्नो बचत रकम फिर्ता नपाएपछि बचतकर्ताहरू विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
सोमबार दिउँसो ¥यालीसहित कर्णाली विकास बैङ्क पुगेका बचतकर्ताहरूले आफ्ना माग राख्न खोजे पनि सुनुवाइ नभएको भन्दै नेपाल राष्ट्र बैङ्कको नेपालगन्ज कार्यालयमा पुगेर विरोध प्रदर्शन गरेका थिए । उनीहरूले बचत रकम फिर्ताको सुनिश्चितता गर्न तथा दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
प्रदर्शनमा सहभागी बर्दियाको बढैयातालकी ललिता थापाले आफ्नो परिवार र आफन्तहरूको मात्रै करिब २२–२३ लाख रुपियाँ डेढ वर्षदेखि बैङ्कमा अड्किएको बताइन् । उनले भनिन्, “सहकारीमा पैसा राख्दा पनि समस्या, बैङ्कमा राख्दा पनि समस्या हुने अवस्था आयो । जनताले अब कसलाई विश्वास गर्ने ? मुद्दती खातामा राख्दा राम्रो ब्याज पाइन्छ भनेर राखिएको रकम अहिले निकाल्नै नपाउने अवस्था छ ।”
उनका अनुसार बचतकर्ताहरू आफ्नो मेहनतको कमाइ फिर्ता पाउन नसक्दा आर्थिक तथा मानसिक रूपमा समस्यामा परेका छन् । राज्यका निकायहरूले समस्या समाधानमा प्रभावकारी भूमिका निर्वाह नगरेको उहाँको आरोप छ ।
यस्तै, प्रभावित बचतकर्ता नवराज रिजालले विगत दुई वर्षदेखि बचतकर्ताको रकम फसेको अवस्थासँगै दोषीमाथि पनि प्रभावकारी कारबाही हुन नसकेको बताए । यस प्रकरणमा १०८ जनाविरुद्ध मुद्दा दर्ता भएको भए पनि दुई जनाबाहेक अन्यलाई पक्राउ नगरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।
“समय–समयमा पाँच–पाँच हजार रुपियाँका दरले रकम वितरण गर्ने प्रयास भए पनि त्यसले साना बचतकर्तालाई मात्रै सामान्य राहत दिएको छ,” रिजालले भने, “ठुला बचतकर्ताहरू, विभिन्न सङ्घसंस्था र व्यावसायिक प्रयोजनका लागि बैङ्कमा रकम राख्नेहरू भने अझै गम्भीर समस्यामा छन् ।” उनले बैङ्कमा रकम फसेका कारण धेरै सङ्घसंस्थाहरू आर्थिक सङ्कटमा परेको र नियमित गतिविधि सञ्चालन गर्न कठिन भएको बताए । समस्या समाधान हुने निश्चित समय सीमा अझै नतोकिएकाले आन्दोलन जारी रहने उनको भनाइ छ ।
बर्दियास्थित उपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बमबहादुर सुवेदीले पनि संस्थाको रकम कर्णाली विकास बैङ्कमा फसेका कारण सहकारीको कामकाज नै प्रभावित भएको बताए । उनले भने, “संस्थाको पैसा फसेपछि सेवा प्रवाह गर्न कठिन भएको छ । हाम्रोमा बचत गर्ने अधिकांश साना आयस्रोत भएका नागरिक हुन् । उनीहरूको रकम फिर्ता नहुँदा दैनिक जीवनयापनमै समस्या परेको छ ।”
प्रदर्शनका क्रममा बचतकर्ताहरूले राज्य र नियामक निकाय समस्या समाधानप्रति गम्भीर नभएको आरोप लगाएका थिए । उनीहरूले बचत रकम फिर्ता हुने स्पष्ट आधार नबन्दासम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् । यसैबिच, नेपाल राष्ट्र बैङ्क नेपालगन्ज कार्यालयका उपनिर्देशक मनोजकुमार केसीले उक्त विषयमा नेपालगन्ज कार्यालय वा यहाँ कार्यरत कर्मचारीले प्रत्यक्ष रूपमा केही गर्न नसक्ने प्रतिक्रिया दिएका थिए ।
कर्णाली विकास बैङ्कमा भएको वित्तीय अनियमितताका कारण हजारौँ बचतकर्ता प्रभावित भएका छन् । लामो समयदेखि रकम फिर्ता नहुँदा प्रभावितहरू न्याय र आफ्नो बचत फिर्ताको माग गर्दै निरन्तर आन्दोलनमा छन् । नेपाल राष्ट्र बैङ्कले २०८१ पुसमा कर्णाली डेभलपमेन्ट बैङ्कलाई सङ्कटग्रस्त घोषणा गरेको थियो ।