© 2026
अर्घाखाँची । शितगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रमले विकास, सुशासन, कृषि, पर्यटन र सामाजिक रूपान्तरणलाई एउटै सूत्रमा बाँध्ने प्रयास गरेको छ ।
शितगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा “आधुनिक कृषि र पर्यटकीय क्षेत्रको स्थापना, समुन्नत शितगंगा हाम्रो चाहना” भन्ने दीर्घकालीन सोचलाई केन्द्रमा राखेर ल्याइएको नीति तथा कार्यक्रमले नगरको भविष्यलाई आत्मनिर्भर, उत्पादनमुखी र प्रविधिमैत्री बनाउने स्पष्ट सङ्केत दिएको छ ।
शितगंगाले आगामी वर्ष कृषि र पशुपालनलाई स्थानीय अर्थतन्त्रको प्रमुख आधार बनाउने लक्ष्य लिएको छ । मौसमी तथा बेमौसमी तरकारी उत्पादन, रैथाने बाली संरक्षण, अदुवा, बेसार, अकबरे खुर्सानी, टिमुर, केरा, कफी र माहुरी पालन जस्ता नगदे बालीको व्यावसायिक उत्पादन तथा बजारीकरणमा जोड दिइएको छ ।
वडा नम्बर ४ को सानादहमा निर्माण भएको शितभण्डार र कृषि तथा पशु सेवा केन्द्र सञ्चालनमा ल्याइने भएपछि कृषकले उत्पादन भण्डारण र प्राविधिक सेवामा सहज पहुँच पाउने अपेक्षा गरिएको छ । कृषि ल्याबलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने, कृषि यान्त्रीकरणलाई बढावा दिने तथा जंगली जनावरबाट हुने बाली क्षति नियन्त्रण गर्ने कार्यक्रमले किसानलाई राहत दिने छ ।
पशु विकासतर्फ स्वच्छ दूध, मासु र माछा उत्पादनमा जोड दिइँदै नगरलाई दुग्ध तथा मासुमा आत्मनिर्भर बनाउने नीति लिइएको छ । निःशुल्क खोप सेवा, नश्ल सुधार, गोठ तथा भकारो सुधारमा अनुदान, पशु उपचार शिविर र कृषि–पशु सेवा केन्द्रको विस्तारले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।
प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण शितगंगाले पर्यटन विकासलाई अब आर्थिक समृद्धिसँग जोडेको छ । डमरु दह, सुपादेउराली, सूर्य ओडार, वराह दह, महादेव तपोगुफा, अमिता गुफा, वाणगंगा धाम, खुम्चिकोट शिवालय, कालिकामाई मन्दिर, फलाचौर बौद्ध गुम्बा, मालिका मन्दिर, ठूलो बरको रुख लगायतका धार्मिक तथा पर्यटकीय स्थललाई व्यवस्थित गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताएका छन् ।
नगरपालिकाले पदमार्ग, होमस्टे, सूचना केन्द्र तथा पर्यटन पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ । स्थानीय कला, संस्कृति, जात्रा, परम्परागत बाजा र भेषभूषाको संरक्षण गर्दै पर्यटनसँग जोड्ने नीति ग्रामीण समुदायको आयआर्जनसँग प्रत्यक्ष सम्बन्धित देखिन्छ ।
वडा नम्बर १३ मा रहेको औद्योगिक ग्रामलाई स्थानीय स्रोत, उत्पादन र रोजगारीको केन्द्र बनाउने नीति पनि निकै महत्वाकांक्षी देखिन्छ । थाप्लेबारी औद्योगिक ग्रामलाई प्राथमिकता दिँदै संघ र प्रदेशसँग थप बजेट माग गर्ने योजना बनाइएको छ ।
केराको लोक्ताबाट धागो उत्पादन, पातका टपरी निर्माण, फूलका माला उत्पादन, काष्ठकला उद्योग र साना घरेलु उद्योगमार्फत स्थानीय उद्यमशीलता विकास गर्ने नीति वातावरणमैत्री र स्थानीय स्रोतमा आधारित अर्थतन्त्र निर्माणतर्फ केन्द्रित देखिन्छ ।
“बालबालिकालाई विद्यालय पठाऔं, सिकाऔं र टिकाऔं” अभियानलाई निरन्तरता दिँदै नगरपालिकाले आधारभूतदेखि कक्षा १२ सम्म निःशुल्क शिक्षालाई थप प्रभावकारी बनाउने नीति लिएको छ । स्मार्ट कक्षा, ई–हाजिरी, शिक्षक क्षमता विकास, छात्रवृत्ति, मेगा विद्यालय अवधारणा, दिवा खाजा, सेनिटरी प्याड र स्थानीय पाठ्यक्रम कार्यान्वयनले शिक्षालाई आधुनिक र व्यवहारिक बनाउने सङ्केत दिएको छ ।
स्वास्थ्य क्षेत्रमा वडा नम्बर ३ को ठाडा प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालका रूपमा स्तरोन्नती गर्न पहल गरिने भएको छ । दुर्गम क्षेत्रमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर, निःशुल्क स्वास्थ्य बिमा, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको घरदैलो स्वास्थ्य परीक्षण, कुपोषित बालबालिकाका लागि पोषण कार्यक्रम, योग तथा आयुर्वेद सेवा विस्तार जस्ता कार्यक्रमलाई नगरपालिकाले प्राथमिकता दिएको नगर उपप्रमुख गीता भाटले बताइन् ।
नगरका १४ वटै वडाका स्वास्थ्य संस्थामा ई–हाजिरी जडान गर्ने योजना सार्वजनिक प्रशासनमा अनुशासन र पारदर्शिता बढाउने प्रयासका रूपमा हेरिएको छ ।
शितगंगाले सडक, पुल, खानेपानी र सिंचाइलाई दीर्घकालीन योजनासँग जोडेको छ । नगर गौरवका सडकहरूलाई स्तरोन्नती गर्ने, प्रदेश राजधानीसँग जोड्ने सडकलाई प्राथमिकता दिने तथा मुख्य सडकहरूको ‘राइट अफ वे’ स्पष्ट निर्धारण गर्ने नीति अव्यवस्थित बस्ती विकास रोक्ने दिशामा महत्वपूर्ण मानिएको छ ।
ठाडा–अमराई–जुकेना–देउराली–ऐरावती सडक, भेडामारे–सिमलपानी–चोलारानी सडक, राजुबास–सुवर्णखाल–पोखरा सडक लगायतका रणनीतिक सडकलाई प्राथमिकतामा राखिएको छ ।
सडक निर्माणमा प्रारम्भिक संरचना तयार भएपछि मात्र कालोपत्रे गर्ने नीति, आफ्नै ल्याब परीक्षण व्यवस्था र उपभोक्ता समितिलाई तालिम दिने कार्यक्रमले गुणस्तरीय पूर्वाधार निर्माणमा नगरपालिकाको ध्यान केन्द्रित भएको देखिन्छ ।
भ्रष्टाचारमा शून्य सहनशीलता, द्रुत गुनासो सुनुवाइ प्रणाली, सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, नागरिक वडापत्र र कार्यसम्पादन मूल्याङ्कनमा आधारित दण्ड–पुरस्कार प्रणाली लागू गर्ने नीति सुशासनतर्फको बलियो प्रतिबद्धता मानिएको छ ।
ठाडामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने पहल तथा भूमि प्रशासन सम्बन्धी सेवा नगरपालिकाबाटै सञ्चालन गर्ने तयारीले नागरिकलाई सेवा लिन जिल्ला धाउनुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत नुमलाल खनालले बताएका छन् ।
समग्रमा हेर्दा शितगंगा नगरपालिकाको आगामी नीति तथा कार्यक्रम केवल वार्षिक औपचारिक दस्तावेज मात्र होइन, ग्रामीण नगरलाई आधुनिक कृषि, धार्मिक पर्यटन, उत्पादनमुखी अर्थतन्त्र र डिजिटल सुशासनतर्फ रूपान्तरण गर्ने दीर्घकालीन मार्गचित्रका रूपमा प्रस्तुत भएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाको भनाइ छ ।
पूर्वाधार विकाससँगै उत्पादन, रोजगारी, शिक्षा, स्वास्थ्य, सामाजिक समावेशीकरण र वातावरण संरक्षणलाई समान प्राथमिकतामा राखिएको यो नीति कार्यान्वयन प्रभावकारी बन्न सके शितगंगा केवल अर्घाखाँचीको एउटा नगरपालिका मात्र नभई लुम्बिनी प्रदेशकै नमुना स्थानीय सरकारका रूपमा स्थापित हुन सक्ने सम्भावना देखिएको छ ।