Butwal Today

ढुङ्गाबाट विद्यालय सम्म जहाँ सङ्घर्ष, त्यहीँ सफलता

३० बैशाख २०८३, बुधबार
अ+
अ-

चन्द्रौटा । सुरेन्द्र प्रसाद चौधरी आज शिक्षा क्षेत्रमा परिचित नाम हुन् । कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटाका उनी शैक्षिक जगतका अनुहार मध्ये एक हुन् ।

अरूभन्दा चौधरीको कथा भने फरक छ । यही क्षेत्रमा करिब १२ वर्षदेखि कम्प्युटर, कोरियन भाषाको इन्स्टिच्युट पनि सञ्चालन उनीसँग अनुभव छ ।

सामान्य परिवारमा जन्मिएका उनी सानैदेखि नै साहसी छन् । घरको ६ भाइमध्ये चौधरी कान्छो रहेका छन् । तर, उनको आजको सफलता सहज रूपमा प्राप्त भएको भने होइन । जीवनको कठिन मोडहरू पार गर्दै, अभावसँग सङ्घर्ष गर्दै र निरन्तर मेहनतका साथ अघि बढेका चौधरीको कथा वास्तवमै उत्साहपूर्ण छ ।

आर्थिक अवस्था कमजोर भएका कारण सुरेन्द्रको बाल्यकाल र युवावस्था सहज थिएन । परिवारको दैनिकी चलाउनकै लागि उनले सानै उमेरदेखि श्रम गर्नुपरेको थियो । पढाइलाई निरन्तरता दिन चाहना हुँदाहुँदै पनि परिस्थितिले उनलाई कामको खोजीमा धकेल्यो । यही क्रममा उनले अरूको ट्रकमा ढुङ्गा लोड गर्ने काम सुरु गरे उनले बताउँछन् ।

लगातार तीन वर्षसम्म उनले ट्रकमा ढुङ्गा लोड गर्ने कठिन काम गरेको सुनाए । बिहानदेखि साँझसम्मको कठोर श्रम, न्यून आम्दानी र भविष्यप्रतिको अन्योलताकाबीच पनि उनले आफ्नो सपना मर्न दिएनन् ।

शारीरिक श्रमले थकित शरीर भए पनि मनभित्र केही ठुलो गर्ने अठोट सधैँ जीवित थियो । उनले बुझिसकेका थिए–जीवन परिवर्तन गर्ने सबैभन्दा बलियो माध्यम शिक्षा हो । यही साँचेका साथ उनले श्रमबाट कमाएको रकम बचत गर्न थाले र भविष्यमा केही आफ्नै काम गर्ने योजना बनाए । धेरै सङ्घर्षपछि उनले वि.सं. २०७१ सालमा एउटा इन्स्टिच्युट स्थापना गरे ।

यो उनको जीवनको महत्त्वपूर्ण मोड थियो । इन्स्टिच्युट स्थापना गरेर उनले स्थानीय विद्यार्थीहरूलाई शैक्षिक अवसर प्रदान गर्न थाले । सुरुमा चुनौती कम थिएनन् । पर्याप्त स्रोतसाधन थिएन, विद्यार्थी सङ्ख्या पनि सीमित थियो, तर उनले भने धैर्यता गुमाएनन् ।

गुणस्तरीय शिक्षामा जोड दिँदै उनले संस्थालाई विस्तार गर्ने प्रयास जारी राखेको ३३ वर्षीय चौधरीको भनाइ छ ।इन्स्टिच्युट सञ्चालनबाट प्राप्त अनुभवले उनलाई अझ आत्मविश्वासी बनायो । शिक्षा क्षेत्रमा अझ ठुलो योगदान दिन सकिने विश्वासका साथ उनले वि.सं. २०७७ सालमा सिद्धार्थ बाल विकास केन्द्र स्थापना गरेका हुन् ।

बालबालिकाको प्रारम्भिक शिक्षालाई केन्द्रमा राखेर स्थापना गरिएको यस संस्थाले छोटो समयमै राम्रो पहिचान बनायो । अभिभावकहरूले पनि संस्थामाथि विश्वास गर्न थालेको बताए । बालबालिकालाई राम्रो वातावरणमा शिक्षा दिने उनको प्रयासले समाजमा सकारात्मक सन्देश फैलिएको स्थानीय हरि थारुले बताए ।

सुरेन्द्र चौधरी यतिमै रोकिएनन् । उनको सपना अझ ठुलो थियो । आफ्नो क्षेत्रमै गुणस्तरीय विद्यालय सञ्चालन गर्ने चाहनालाई उनले निरन्तर अघि बढाए । यही लक्ष्यअनुसार उनले वि.सं. २०८२ सालमा ब्राइट राइजिङ स्टार इंग्लिस बोर्डिङ स्कुल समेत स्थापना गरेका छन् ।

उक्त विद्यालयलाई अन्य शैक्षिक संस्थासँग मर्ज गरी अझ व्यवस्थित रूपमा सञ्चालनमा ल्याइएको उनले जनाए । हाल विद्यालयमा कक्षा ८ सम्म अध्ययन–अध्यापन भइरहेको छ । विद्यालयले स्थानीय विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै अभिभावकहरूको विश्वास जितिरहेको उनले जिकिर गरे । सुरेन्द्र भन्छन्– “सङ्घर्ष जीवनको पाठशाला हो ।

यदि कठिनाइसँग डराइयो भने सफलता सम्भव हुँदैन ।” उनको यही साँचेले उनलाई निरन्तर अगाडि बढाएको छ । ढुङ्गा बोक्ने मजदुरदेखि शिक्षा क्षेत्रमा सफल उद्यमी बन्ने उनको सफलताको यात्राले युवा पिँढीका लागि भने प्रेरणादायी छ ।

पछिल्लो समय युवाहरू विदैशिक रोजगारीमा भौँतारिरहेका बेला स्वादेशमै स्थानीय ८ जनालाई रोजगारी समेत प्रदान गरेका छन् । शैक्षिक जगतमा एक छुट्टै पहिचान बनाउँदै मनग्य आम्दानी गर्दै आएको चौधरीले बताए । उनी थारु सङ्ग्रहालय संरक्षण समिति सदस्य, स्थानीय विद्यालय व्यवस्थापन समितिलगायत विभिन्न सङ्घसंस्थाहरूमा आबद्ध रहेर कार्य गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?