Butwal Today

फिल्म ‘लालीबजार’ मुद्दामा सर्वोच्चले विपक्षीलाई छलफलमा बोलायो

२९ बैशाख २०८३, मंगलवार
अ+
अ-

काठमान्डौँ ।

सर्वोच्च अदालतले फिल्म ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै दायर गरिएको रिटमाथि सुनुवाइ गर्दै विपक्षीहरूलाई छलफलका लागि बोलाउन आदेश दिएको छ ।

मंगलबार न्यायाधीशद्वय कुमार रेग्मी र नृपध्वज निरौलाको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो ।

वादी समुदायलाई गलत रूपमा चित्रण गरिएको दाबी गर्दै अभियन्ता रोशनी नेपालीले फिल्मको प्रदर्शन रोक्न मागसहित रिट दायर गरेकी थिइन् । रिटमा पाटन उच्च अदालत, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्डसहित ७ निकायलाई विपक्षी बनाइएको छ ।

अदालतले विपक्षीहरूलाई छलफलका लागि सूचना दिन आदेश दिँदै आगामी सुनुवाइका लागि बुधबार पेशी तोकेको छ ।

यसअघि पाटन उच्च अदालतले फिल्म प्रदर्शन रोक्ने अन्तरिम आदेश खारेज गर्दै प्रदर्शनका लागि बाटो खुला गरिदिएको थियो, त्यसपश्चात् फिल्म गत शुक्रबारदेखि प्रदर्शनमा आएको हो ।

उच्च अदालतको आदेशलाई चुनौती दिँदै अभियन्ता नेपाली सर्वोच्च अदालत पुगेकी थिइन् । सर्वोच्चले यसअघि नै उच्च अदालतको आदेशको सक्कल फाइल र फिल्मको प्रति झिकाउन आदेश दिएको थियो ।

सोमबार सुनुवाइ हुन नसकेपछि मुद्दा हेर्न नभ्याउने सूचीमा परेको थियो भने मंगलबार मात्र इजलासमा सुनुवाइ भएको हो ।

यम थापा निर्देशित तथा षट्कोण आर्ट्सको निर्माण रहेको फिल्म ‘लालीबजार’ ले वादी समुदायका महिलाले भोग्नुपरेका संघर्षको कथा प्रस्तुत गरेको छ ।

फिल्ममा स्वस्तिमा खड्काले मुख्य भूमिका निर्वाह गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?