भैरहवा । नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनमाथिको निगरानी अब थप प्रभावकारी बन्ने भएको छ । लामो समयदेखि कानुनी व्यवस्था रहे पनि अभिलेख व्यवस्थापन र अनलाइन प्रणालीको अभावका कारण प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भारतीय सवारी व्यवस्थापन प्रणाली अहिले डिजिटल माध्यमबाट कडाइका साथ लागू गर्न थालिएको हो ।
भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेल का अनुसार नेपाल सरकारले भारतीय नम्बर प्लेटका सवारी साधनका लागि तोकेको समय सीमा र शुल्कसम्बन्धी व्यवस्था नयाँ नभई विगतदेखि नै लागू रहेको कानुनी प्रावधान हो । तर, अनलाइन प्रणाली नहुँदा कुन सवारी कति पटक नेपाल प्रवेश ग¥यो, कति दिन बस्यो र समय सीमा नाघ्यो वा नाघेन भन्ने तथ्याङ्क व्यवस्थित रूपमा राख्न कठिन हुँदा नियम पूर्ण रूपमा कार्यान्वयन हुन सकेको थिएन ।
उनले भारतीय नागरिक नेपालभर भ्रमण गर्न पाउने भए पनि पर्यटकीय प्रयोजनका लागि नेपाल भित्रिने भारतीय सवारी साधनलाई भने निश्चित समय सीमा तोकिएको बताए । उनका अनुसार कार, जिप, मोटरसाइकल लगायत पर्यटकीय सवारी साधनले एक वर्षभित्र एकै पटक वा पटक–पटक गरी जम्मा ३० दिनसम्म मात्रै नेपालमा बस्न पाउने कानुनी व्यवस्था छ ।
“३० दिनभन्दा बढी बस्न कुनै पनि हालतमा पाइँदैन । अतिरिक्त महसुल तिरेर पनि बस्न अनुमति छैन,” प्रमुख भन्सार अधिकृत पौडेलले भने, “तोकिएको समय सीमा नाघेर सवारी नेपालमै राखेमा कानुनअनुसार कारबाही हुन्छ र सवारी साधनसमेत जफत हुन सक्छ ।”
उनका अनुसार सीमा नाकामा यो व्यवस्था विगतदेखि नै लागू गरिँदै आए पनि अभिलेखीकरण म्यानुअल प्रणालीमा आधारित हुँदा निगरानी प्रभावकारी हुन सकेको थिएन । अहिले अनलाइन प्रणालीमार्फत सवारीको प्रवेश, बसाइ अवधि र आवतजावतको विवरण डिजिटल रूपमा राख्न थालिएपछि कार्यान्वयनमा सहजता आएको उनले बताए ।
मालवाहक सवारीमा फरक व्यवस्था
प्रमुख भन्सार अधिकृत पौडेलका अनुसार पर्यटकीय सवारी र मालवाहक ढुवानीका साधनका लागि भने फरक कानुनी व्यवस्था लागू गरिएको छ । ‘सवारी साधन’ र ‘ढुवानीका साधन’ अलग–अलग रूपमा परिभाषित गरिएको उल्लेख गर्दै पौडेलले मालवाहक ट्रक तथा ढुवानीका साधनमा ३० दिने सीमा लागू नहुने स्पष्ट पारे ।
नेपालमा माल लिन आउने भारतीय ढुवानीका साधनले नेपाल प्रवेश गर्दा एक हजार ७०० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ । यस्ता सवारीले दुई दिनभित्र माल लोड गरी नेपालबाट फर्किनुपर्ने हुन्छ । त्यस्तै भारतबाट माल बोकेर नेपाल आउने ढुवानीका साधनले एक हजार ५०० रुपैयाँ तिरेर प्रवेश अनुमति पाउने गरेका छन् ।
यस्ता गाडीले ७२ घण्टाभित्र नेपाल छाडे थप कुनै शुल्क लाग्दैन । तर ७२ घण्टाभन्दा बढी नेपालमा बसेमा प्रतिदिन दुई हजार ५०० रुपैयाँका दरले महसुल लाग्ने व्यवस्था रहेको पौडेलले जानकारी दिए ।
उनका अनुसार मालवाहक ढुवानीका साधन व्यापारिक प्रयोजनसँग प्रत्यक्ष सम्बन्धित भएकाले तिनमा पर्यटकीय सवारीसरह ३० दिने सीमा लागू गरिएको छैन ।
सीमावर्ती बजारका लागि १२ घण्टे सुविधा
सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दालाई लक्षित गर्दै नेपाल–भारत सीमा नाकामा छोटो अवधिको आवतजावत सुविधा पनि दिइँदै आएको छ ।
कार, जिप र मोटरसाइकललगायत भारतीय सवारी साधनले नजिकको नेपाली बजारसम्म आउजाउ गर्न १२ घण्टे सुविधा पाउने गरेका छन् । यस्तो सुविधाका लागि कुनै शुल्क लाग्दैन ।
प्रमुख भन्सार अधिकृत पौडेलका अनुसार यो सुविधा मुख्यतः सीमावर्ती बजारमा दैनिक किनमेल, सामान्य व्यापार तथा आवतजावत गर्ने स्थानीय नागरिकलाई लक्षित गरेर दिइएको हो ।
“सुविधा लिने भनेका सीमावर्ती बजारका स्थानीयहरू हुन् । उनीहरूलाई सहज ओहोरदोहोरका लागि यस्तो व्यवस्था गरिएको हो,” उनले भने
उनले नेपाली सवारी साधनले पनि भारततर्फ नजिकका रेलवे स्टेसनसम्म जान यही प्रकारको सुविधा उपयोग गर्दै आएको बताए ।
डिजिटल निगरानीपछि कार्यान्वयन प्रभावकारी हुने अपेक्षा
भन्सार प्रशासनले अनलाइन प्रणाली कार्यान्वयनसँगै अब भारतीय सवारी साधनको नेपाल बसाइ अवधि, प्रवेश सङ्ख्या र समय सीमा उल्लङ्घनको विवरण सहजै ट्र्याक गर्न सकिने जनाएको छ ।
यसले राजस्व चुहावट नियन्त्रण, अवैध रूपमा लामो समयसम्म विदेशी सवारी सञ्चालन रोक्न तथा कानुनी व्यवस्था प्रभावकारी कार्यान्वयन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै सीमावर्ती क्षेत्रमा हुने अनियमित आवतजावत नियन्त्रणमा पनि यसले भूमिका खेल्ने प्रमुख भन्सार अधिकृत पौडेलको भनाइ छ ।
नेपाल सरकारले सडक मार्ग हुँदै नेपाल आउने विदेशी पर्यटकका सवारी साधनका लागि अनलाइन दर्ता तथा राजस्व भुक्तानी प्रणाली सुरु भइसकेको छ ।
नयाँ व्यवस्थाअनुसार भारतसहित अन्य देशबाट निजी सवारी साधन लिएर नेपाल भ्रमणमा आउने पर्यटकले यात्रा सुरु गर्नु अघि नै अनलाइनमार्फत आफ्नो सवारीको विवरण दर्ता गर्न सक्नेछन् । साथै आवश्यक राजस्व शुल्क पनि डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।
भुक्तानी प्रक्रिया पूरा भएपछि पर्यटकलाई इमेलमार्फत क्युआर कोड उपलब्ध गराइनेछ । सीमा नाकामा यही क्युआर कोड देखाएर सवारी साधनलाई नेपाल प्रवेश अनुमति दिइने व्यवस्था गरिएको छ ।
यो प्रणालीको अर्को विशेषता भनेको सवारी अनुमति अवधिको नवीकरण प्रक्रिया पनि अनलाइनमार्फत गर्न सकिने व्यवस्था हो ।
यात्राका क्रममा अनुमति अवधि सकिएमा पर्यटकले नेपालभित्रबाट अनलाइन माध्यमबाट अनुमति नवीकरण गर्न सक्नेछन् । यसका लागि पुनः सीमा नाकासम्म जानुपर्ने आवश्यकता नपर्ने जनाइएको छ ।