© 2026
नेपालगञ । द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय पुनःसञ्चानलमा आउने भएको छ । भन्सार विभागका निर्देशक किशोर बर्तौलाले नेपालगञ्ज भन्सारअन्तर्गत रहेर नरैनापुर छोटी भन्सार सञ्चालनमा आउने जानकारी दिँदै भौतिक पूर्वाधार निर्माण र कर्मचारी व्यवस्थानको काम भइरहेको बताए ।
“यो छोटी भन्सार अस्थायी पैठारी र घरायसी सामान ल्याउनका लागि मात्रै प्रयोगमा आउने हो”, उनले भने । भन्सार नियमावली, २०८३ मा बाँकेको नरैनापुरस्थित छोटी भन्सार स्थापना हुने उल्लेख भएपछि यस क्षेत्रका स्थानीय व्यवसायी तथा व्यापारी खुसी देखिएका छन् । सात वटा छोटी भन्सार रहेको बाँकेमा अन्य कार्यालय बन्द भए पनि नरैनापुरको छोटी भन्सार पुनःसञ्चालनका लागि तयारी गरिएको भन्सार कार्यालय नेपालगञ्जका प्रमुख जर्नादन पौडेलले जानकारी दिए । “यहाँ रहेका सात वटा छोटी भन्सारमध्ये नरैनापुरको मात्रै अहिले सञ्चालनमा आउनेगरी तयारी भएको छ”, उनले भने । अवैध समान ओसारपसारका लागि यो भन्सारको दुरुपयोग हुनसक्ने जोखिम भने रहेको उल्लेख गर्दै उनले भन्सार जाँचलाई कडाइ गरिने बताए । नरैनापुरबाट आलु, प्याज र केही पशु आउन सक्ने उनको भनाइ छ ।
उद्योग वाणिज्य सङ्घ नेपालगञ्जका वरिष्ठ उपाध्यक्ष चीरञ्जीवी ओलीले छोटी भन्सार पुनः सञ्चालनमा आउनु स्थानीय व्यवसायीका लागि उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे। मुख्य भन्सारबाट आउने सामान छोटी भन्सारबाट नआउने तर्क गर्दै उहाँले राजस्व सङ्कलन बढ्नुका साथै तस्करी नियन्त्रणमा सघाउ पुग्ने उल्लेख गरे।
सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले नरैनापुर छोटी भन्सार अहिलेको अवस्थामा स्थापना भए डिजिटल प्रणालीमा सञ्चालन हुनुपर्नेमा जोड दिँदै त्यसले जमुहनाह नाकामा हुने घुइँचो घटने विश्वास व्यक्त गरे । उनले छोटी भन्सारबाट राज्यले नाफा लिन सक्ने अवस्था हुनुपर्ने उल्लेख गर्दै नरैनापुर छेटी भन्सार पारदर्शी रूपमा सञ्चालनमा आउनुपर्नेमा जोड दिए ।
“चोरी, निकासी बन्द हुनुपर्छ र आसपासका स्थानीयले यसको फाइदा लिनुपर्छ । यसले गर्दा राज्यलाई राजश्व सङ्कलनमा पनि थप टेवा पुग्ने छ”, श्रेष्ठले भन्नुभयो । सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्यले नेपालगञ्जका व्यवसायीका लागि यो सकारात्मक अवसर भएको उल्लेख गर्दै अवैध व्यापार निरुत्साहित हुने धारणा राखे । द्वन्द्वकालमा यहाँ सञ्चालनमा रहेका सात वटा छोटी भन्सार सुरक्षा सम्वेदनशीलताका कारण बन्द भएका थिए ।