Butwal Today

वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न नेपाल वन प्राविधिक सङ्घको अपिल

२५ बैशाख २०८३, शुक्रबार
अ+
अ-

 अर्घाखाँची । वनक्षेत्रको संरक्षण तथा व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन वन अतिक्रमण नियन्त्रण र व्यवस्थापन अपरिहार्य रहेको नेपाल वन प्राविधिक सङ्घ लुम्बिनी प्रदेशले बताएको  छ।

लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा समेत वन अतिक्रमणका घटना बढ्दै गएको पाइएकाले सम्बन्धित निकायहरूबिच समन्वय तथा सहकार्य गरी अतिक्रमण नियन्त्रण अभियान सञ्चालन गर्न आवश्यक देखिएको जनाएको छ।

नेपाल वन प्राविधिक सङ्घ लुम्बिनीका अध्यक्ष केशर खड्काले एक सार्वजनिक अपिल जारी गरि प्रदेशभित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, वन उपभोक्ता समूह, सरोकारवाला सङ्घसंस्था तथा आम नागरिकहरूलाई वन अतिक्रमण नियन्त्रण तथा वन संरक्षण अभियानमा सक्रिय सहयोग तथा सहभागिताका लागि हार्दिक अनुरोध गरेको छ ।

साथै वनक्षेत्र अतिक्रमण गरी बसोबास वा उपयोग गरिरहेका व्यक्तिहरूलाई स्वैच्छिक रूपमा अतिक्रमण छाडी वन संरक्षण कार्यमा सहयोग पुऱ्याइदिन अनुरोध समेत गरेको छ ।

वन क्षेत्रको अतिक्रमण आज वन विनाश तथा वनक्षेत्र हासको प्रमुख कारणको रूपमा देखा परेको छ। वनक्षेत्रमा अनधिकृत बसोबास, खेतीपाती तथा अन्य प्रयोजनका लागि गरिने अतिक्रमणका कारण प्राकृतिक स्रोतसाधन, जैविक विविधता, वन्यजन्तुको वासस्थान तथा वातावरणीय सन्तुलनमा गम्भीर असर परेको छ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गरेको सन्दर्भमा वनक्षेत्रको संरक्षण तथा अतिक्रमण नियन्त्रण गर्नु राज्य, समुदाय तथा सम्पूर्ण नागरिकको साझा दायित्व हो।

विज्ञप्तिमा भनिएको छ । प्रचलित वन सम्बन्धी कानुन अनुसार वन अतिक्रमण दण्डनीय कार्य हो । पाल सरकारबाट प्राप्त निर्देशन बमोजिम वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्पूर्ण वन प्राविधिक, सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित सरोकारवालाहरू एकजुट भई अभियान सफल बनाउन सक्रिय रूपमा लाग्नुपर्ने आवश्यकता रहेको छ।

वन संरक्षण नै वातावरण संरक्षण, जैविक विविधता संरक्षण तथा भावी पुस्ताको सुरक्षित भविष्यको आधार भएकाले वन संरक्षण अभियानमा सबै पक्षबाट सकारात्मक सहयोगको अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?