© 2026
मुगु ।
अनुमतिविना यार्सागुम्बा सङ्कलनका लागि गएका २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मुगुका विभिन्न पाटनमा यार्सागुम्बा सङ्कलन गर्न गएका एक बालिकासहित २५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए । “अनुमतिविना पाटन वन क्षेत्रमा प्रवेश गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएका छौँ, उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ”, उनले भने ।
मुगुम कार्मारोङ गाउँपालिकाले यार्सागुम्बा सङ्कलनसम्बन्धी सूचना प्रकाशित गरेको छैन । यार्सागुम्बा सङ्कलनको समय नजिकिँदै गर्दा मुगुका यार्सापाटनमा सुरक्षा बढाइएको छ ।
मुगुका दुई दर्जनभन्दा बढी वन तथा पाटनमा पाइने बहुमुल्य, बहुउपयोगी जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि हुम्ला, जुम्ला, बाजुरा, दैलेख, कालीकोट, अछामसहित मुलुकभर र भारतबाट सङ्कलनकर्ता र खरिदकर्ता पाटन पुग्ने गरेका छन् ।
यार्सागुम्बा दुर्गमका जनताको प्रमुख आर्थिक स्रोतका रुपमा रहेको छ । यहाँ जनता आफ्नो वर्षभरिको पारिवारिक खर्च यार्सागुम्बा बिक्रीबाटै जुटाउने गर्दछन् ।