Butwal Today

नारामामात्रै सीमित नहोस् रेडक्रस दिवस 

२५ बैशाख २०८३, शुक्रबार
अ+
अ-

‘मानवताका लागि एकता’ भन्ने नाराका साथ आज विश्व रेडक्रस दिवस मनाईदैछ । यो दिवसले बोकेको नारा आफैमा महत्त्वपूर्ण यस अर्थमा छ कि आज विश्व युद्धले आक्रान्त छ । हत्या, हिंसा, मुठभेड, द्वन्द्व तिक्तता र अस्थिरताले मानवता कमजोर बन्दै गएको छ ।

मानवता भन्ने कुरा अव दानवतामा रूपान्तरण हुँदै गएको छ । रेडक्रस जस्ता संस्थाहरूको भूमिका खुम्चाउने प्रयास भइरहेको छ । जसका कारण मानवीय मूल्य र मान्यता लोप हुँदै जान थालेको छ ।

रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिनको अवसरमा उनले गरेको योगदानको कदर गर्दै हरेक बर्षको मे ८ लाई संसारभर रेडक्रस दिवसका रूपमा मनाउने परम्परा रहेको छ । तर, पछिल्लोसमय यो परम्परा केवल औपचारिक बन्दै गएको महसुस भएको छ । विशुद्ध मानवीय सेवा गर्ने उद्देश्यले हेनरीले सन् १८६३ मा रेडक्रस सोसाइटीको स्थापना गरेका थिए ।

उनको विचारलाई आत्मसाथ गर्दै सन् १८६४ को जेनेभा सम्मेलनबाट रेडक्रसले आधिकारीकरूपमा मान्यता प्राप्त गरेको हो । नेपालमा भने धेरैपछि बि.स. २०२० सालमा मात्र रेडक्रसको स्थापना भयो । रेडक्रसले मानवता, निष्पक्षता, तटस्थता, स्वतन्त्रता, स्वयंसेवा, एकता र सर्वव्यापकता भन्ने भावलाई आत्मसाथ गरेको छ । तर, रेडक्रसलाई समेत राजनीतिक गन्ध दिने काम हुँदा यसको निष्पक्षता र प्रभावकारीतामा समेत प्रश्न उठेको विगतको इतिहास छ । रेडक्रसलाई समाजसेवाको होइन, राजनीतिक अखडा बनाउने काम विगतमा भएकै हो ।

अवको दिनमा र यो दिवसको अवसरमा भन्नैपर्दछ– रेडक्रसको भूमिकालाई खुम्चाउने काम कतैबाट नहोस् । रेडक्रस जुन उद्देश्यले स्थापना गरिएको थियो, त्यसको आत्मा मार्ने काम नहोस् । जहाँ मानवमाथि संकट आईपर्छ, त्यहाँ रेडक्रसको उपस्थिति हुनुपर्दछ । तर, रेडक्रसको नेतृत्व मानवताको सेवाको भावले भन्दा दलका नेताहरूले भागबण्डाको राजनीतिमा लगेर सिध्याउन काम गरेका छन् ।

यो सर्वाधिक गलत छ । यसले रेडक्रसको आत्मामाथि चोट पुगेको छ । दुःखको बेला मानवको सेवा गर्ने रेडक्रसको महान अभियान हो । रेडक्रस दिवस खासगरी स्वयंसेवक युवाहरूको संलग्नता, सम्मान, सुरक्षा तथा स्वयंसेवकको प्रबर्धनमा लक्षित रहेको छ ।

सम्भावित विपद् तथा आपत्कालिन परिस्थितिको सामाना गर्न समुदायलाई सहयोग गर्ने, उनीहरूको उत्थानशीलतालाई बढावा दिन तथा अहिंसा एवं शान्तिको प्रबर्धन गर्ने गतिविधिमा युवा स्वयंसेवकले अतुलनीय योगदान दिइरहेका छन् ।

आपतकालीन परिस्थितिमा स्वास्थ्य सेवा पु¥याउने काम र शान्ति प्रबद्र्धनको लागि सकारात्मक व्यवहार प्रबद्र्धनमा उनीहरूको महत्त्वपूर्ण भूमिका हुन्छ । तर, पछिल्लोसमय रेडक्रसको भूमिकामाथि प्रश्न गर्न थालिएको छ । यो चिन्ताको कुरा हो । पछिल्लो समयमा रेडक्रसको भूमिका पारदर्शी नभएको आरोप पनि संसारभरि लाग्न थालेको छ । यो चिन्ताको कुरा हो । रेडक्रसका पदाधिकारीमाथि बेला बेलामा प्रश्न उठने गरेको छ ।

पछिल्लोसमय युवाहरू सेवामा समर्पित हुने क्रम बढेको छ । यो खुसीको कुरा हो । रेडक्रस जस्ता संस्थामा युवाको समावेशीता अव अपरिहार्य छ । रेडक्रससंग युवाहरूलाई जोडने हो भने त्यसले भोलिको दिनमा ठूलो महत्व राख्न सक्छ । विपदको अवस्थामा युवाहरूको सक्रियता र भूमिका विगतमा पनि हामीले देखेकै हो । तसर्थ विश्व रेडक्रस दिवस मनाउँदै गर्दा युवालाई समाजसेवामा जोड्नु जरुरी छ ।

समाजसेवा भनेकै रेडक्रस हो । रेडक्रसको माध्यमबाट युवाहरूले देश दुःखीरहेको बेला मल्हम बन्ने प्रयास गर्नु जरुरी छ । हेनरी ड्यूनाले स्थापना गरेको रेडक्रसको साख जोगाउने र त्यसकै माध्यमबाट समाजसेवा गर्नेतर्फ हामी सवैको ध्यान जानुपर्दछ ।

यो बर्षको दिवसले जुन सार बोकेको छ, त्यसको धरातलमा रहेर रेडक्रसलाई मानवतामा समर्पित गराउनु जरुरी छ । यो दिवस केवल नारामा मात्रै सीमित नबनोस् । मानवताका लागि हामी सवै बादविवादबाट माथि उठेर कर्म गर्ने हो भने रेडक्रसको लक्ष्य भेट्टाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?