काठमाडौँ । मुक्त कमलरी विकास मञ्चले कमलरी मुक्त भएको एक दशक बढी बित्दासमेत उचित व्यवस्थापन नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । मञ्चले आज पत्रकार सम्मेलन गरी कमलरी मुक्त घोषणा भएको १३ वर्षसम्म पनि अधिकार नपाएका कमलरी र जमिन भोगचलनको २० वर्ष सकिँदा पनि व्यवस्थापन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
मञ्चका पूर्वकेन्द्रीय अध्यक्ष हिरामोति चौधरीले भनिन, “तत्कालीन सरकारले हामीलाई मुक्त गरेको घोषणा त गर्यो तर हाम्रो न्यूनतम आवश्यकता र न्यायका विषय आजसम्म पनि कागजमै सीमित बनाइयो, त्यसैले वर्तमान सरकारलाई ध्यानाकर्षण गर्न बाध्य भएका छौँ ।” उनले नेपालमा १२ हजार ७६९ मुक्त कमलरी रहेको र त्यसमध्ये नौ हजार ४९० जनाको मात्रै सरकारी तथ्याङ्कमा रहेको जानकारी दिईन । उनका अनुसार त्यसमध्येमा सात हजार ४३५ जनाले मात्र परिचयपत्र पाएका छन् ।
विसं २०७० असार १३ गते तत्कालीन सरकारले कमलरी मुक्ति घोषणा गरेर केही कानुन पनि आएको तर कानुन कागजमै सीमित रहेको भन्दै मञ्चकोतर्फबाट वर्तमान सरकारसमक्ष ज्ञापनपत्र पनि बुझाएको छ ।