Butwal Today

छुट्टिए घर, जोडिए मन

२४ बैशाख २०८३, बिहीबार
अ+
अ-

भैरहवा  । समयसँगै संयुक्त परिवारको संरचना खुम्चिँदै गएको छ । एउटै छानामुनि पुस्तौँदेखि सँगै बस्ने चलन बिस्तारै कमजोर बन्दै जाँदा चाडपर्वमा मात्र भेटघाट हुने प्रवृत्ति बलियो बनेको छ ।

तर बर्दियाको मधुवन नगरपालिका–१ पत्थरबोझीमा भने एउटा परिवार छुट्टिँदा सम्बन्ध टुटेन, बरु नयाँ बस्ती नै जन्मियो–सहकार्य, परम्परा र  आत्मीयताको नयाँ अध्याय बोकेर ।

वर्षौँदेखि एउटै आँगनमा ५९ सदस्यीय विशाल परिवारका रूपमा बस्दै आएको यो थारु परिवारले यस वर्षको माघी पर्वमा आपसी सहमतिमा छुट्टिने निर्णय ग¥यो । कानुनी अंशबन्डा अझै गरिएको छैन, तर व्यवहारिक रूपमा भने उनीहरू आफ्नो घर निर्माणमा जुटिसकेका छन् ।

त्यहीँ एकै ठाउँमा अहिले काठ, बाँस र खरले बनेका परम्परागत घरहरू लहरै उठिरहेका छन् । दृश्य यस्तो लाग्छ, मानौँ एउटा परिवारका सपना छुट्टिएर छुट्टाछुट्टै घरको आकार लिइरहेका छन्, तर जरा भने उहीँ गाडिएको छ ।

घर निर्माणको काम कुनै व्यक्तिगत प्रयास होइन, सामूहिक अभियान जस्तै बनेको छ । ‘परमा’ अर्थात् श्रम साटासाट गर्ने पुरानो प्रणाली यहाँ अझै जीवित छ । एक जनाको घर बनाउन सबै जुट्छन्, अनि अर्कोको पालो आउँछ । यही सहकार्यको भावनालाई झल्काउँदै स्थानीय रामदुलारी चौधरी भन्छिन्, “हामीसँग पैसा नहुन सक्छ, तर आफन्तको साथ छ । घर बनाउँदा सबैले सहयोग गर्छन् ।”

उनको दिनचर्या अहिले झन् व्यस्त छ । संयुक्त परिवार हुँदा खाना पकाउने जिम्मेवारी पालैपालो हुन्थ्यो, तर अहिले परिस्थिति फेरिएको छ । उनी भन्छिन्, “पहिला सगोलमा हुँदा आलोपालो खाना पकाउँथ्यौँ । एक जनाको डेढ महिना सम्ममा पालो पथ्र्यो । अहिले आफन्तहरू सघाउन आउनुभएको छ, म एक्लैले ६५ जनालाई खाना पकाएर खुवाइरहेकी छु ।”

परिवार छुट्टिए पनि सम्बन्धको न्यानोपन घटेको छैन भन्ने उदाहरण हो यो दृश्य ।  थारु समुदायको अंशबन्डा गर्ने शैली आफैँमा अद्वितीय छ । यहाँ केवल जमिन मात्र बाँडिँदैन, घरका काठ, इँटा, भाँडाकुँडा सबै बराबरी गरिन्छ । अझ विशेष कुरा—गर्भमा रहेको शिशुलाई समेत भविष्यको हकदार मानेर अंश छुट्टाउने परम्परा अझै कायम छ ।

ठुलो संयुक्त परिवारका रूपमा परिचित मङ्गरु थारुको परिवारले लामो समयदेखि एउटै आँगनमा बसोबास गर्दै आएको थियो । बाबुआमा, तीन दाजुभाइ तिनका सन्तान मिलेर खेतीपाती, पशुपालन र घरायसी काम सामूहिक रूपमा सञ्चालन गर्ने परम्परा अझै जीवित रहेको उनी बत्ताउँछन् । “हाम्रोमा सबै काम मिलेर हुन्छ, कसैको दुःख–सुख छुट्टै हुँदैन,” उनले भने -थारु समुदायमा संयुक्त परिवार प्रणाली सामाजिक सुरक्षाको महत्त्वपूर्ण आधार मानिन्छ । एउटै घरमा धेरै पुस्ता सँगै बस्दा श्रमको बाँडफाँड सहज हुने, आर्थिक भार कम हुने र पारिवारिक सम्बन्ध मजबुत हुने विश्वास गरिन्छ । तर परिवार विस्तारसँगै व्यवस्थापन चुनौतीपूर्ण हुँदै गएको हुन्छ । तर, यो नयाँ बस्तीको कथा केवल सहकार्य र संस्कृतिमा मात्र सीमित छैन । यहाँ जीवनको अर्को कठोर यथार्थ पनि छ—जङ्गली हात्तीको स्थायी त्रास ।

पत्थरबोझी क्षेत्र नेपाल–भारत जोड्ने खाता ‘कोरिडोर’ मा पर्छ, जहाँ हात्तीहरूको आवतजावत नियमित हुन्छ । यसैले यहाँका बासिन्दाले बर्सेनि धनजनको क्षति बेहोर्दै आएका छन् । “हामी प्रत्येक वर्ष नयाँ घर तयार गर्छौ र प्रत्येक वर्ष हात्ती आएर त्यसलाई भत्काईदिन्छन ।” मङ्गरु थारुले भने “गएको वर्ष देखि यता हात्ती आएका छैनन्, त्यसैले यसै जग्गामा सबै भाइले फेरी घर जोड्ने निधो गर्‍यौ ।”

स्थानीय प्रयासहरू पनि जारी छन् । खाता सामुदायिक वन समन्वय समितिको अध्यक्ष हरि गुरुङका अनुसार मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि दीर्घकालीन योजना सञ्चालनको प्रयास गरिएको छ । कोरिडोर व्यवस्थापन, विद्युतीय बार, चेतनामूलक कार्यक्रम वैकल्पिक जीविकोपार्जनका उपायहरू लागु गरिएको छ ।

यस बाहेक वन्यजन्तु प्रभावित क्षेत्रमा रहेका ४ हजार १९५ घरधुरीको बिमा गरिएको उनले जानकारी दिए । “सम्बन्धित घरबाट ९५ रूपैया लिई बाकी रकम खाता सामुदायिक वन समन्वय समितिले व्यहोर्ने गरि बिमा गरिएको छ ।” गुरुले बताए “यसले प्रभावित घरलाई अवस्था १ लाख ५० हजार सम्मको क्षतिपूर्ति गर्न सकिन्छ । यो सुविधा दैवी प्रकोपबाट प्रभावित घरधुरीलाई पनि समेटेको छ ।”

यसले पीडित परिवारलाई केही राहत दिए पनि राष्ट्रिय बनरमध्यवर्ति क्षेत्रका पीडितहरू बिच कानुनी रूपमै रहेको राहतको विभेद भने अन्त्य हुनुपर्ने गुरुङको माग छ ।

यद्यपि, चुनौती अझै टरेको छैन । माटो र बाँसका घरहरू हात्तीको आक्रमणमा सजिलै भत्किन्छन् । पक्की घर बनाउने आर्थिक क्षमता सबैसँग छैन । संयुक्त परिवारबाट छुट्टिएर नयाँ जीवन सुरु गर्न लागेका मङ्गरुका सन्तानहरू यति बेला दोधारमा छन्, संस्कृति जोगाउने कि ज्यान सुरक्षित राख्ने ? तर, जोखिमका बिच पनि उनीहरूले रोजेको बाटो सहकार्यको हो । पत्थरबोझीको यो सानो बस्तीले एउटा ठुलो सन्देश दिएको ।

परिवार टुट्न सक्छ, तर सम्बन्ध टुट्नुपर्दैन । घर फरक हुन सक्छ, तर मन एउटै रहन सक्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?