© 2026
काठमाडौं । सांसदहरूको हाजिरी प्रणाली अब डिजिटल हुने भएको छ। संघीय संसद सचिवालयले विद्युतीय हाजिरी प्रणाली लागू गर्ने तयारीस्वरूप भोलिदेखि बायोमेट्रिक विवरण संकलन सुरु गर्न लागेको हो।
सचिवालयले बुधबार सूचना जारी गर्दै सबै सांसदहरूलाई विद्युतीय हाजिरी प्रयोजनका लागि बायोमेट्रिक विवरण उपलब्ध गराउन आग्रह गरेको छ। बायोमेट्रिक विवरण संकलन संसदीय समितिअनुसार फरक–फरक समय र स्थानमा गरिनेछ। बायोमेट्रिक संकलनका क्रममा सांसदहरूको औपचारिक तस्वीरसमेत खिचिने भएकाले औपचारिक पोशाकमा संघीय संसद्को लोगो लगाएर उपस्थित हुन निर्देशन दिइएको छ।
सूचनाअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिका सदस्यहरूलाई भोलि बिहान १० देखि १२ बजेसम्म सार्वजनिक लेखा समितिको हलमा उपस्थित हुन भनिएको छ। त्यस्तै, अर्थ समिति र विधायन व्यवस्थापन समितिका सदस्यहरूलाई अर्थ समितिकै हलमा सोही समयमा बोलाइएको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरूलाई भोलि दिउँसो २ देखि ४ बजेसम्म सार्वजनिक लेखा समितिको हलमा उपस्थित हुन भनिएको छ भने कानुन, न्याय तथा मानवअधिकार समितिका सदस्यहरूलाई सोही समयमा अर्थ समितिको हलमा उपस्थित हुन निर्देशन दिइएको छ।
यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सदस्यहरूलाई पर्सि बिहान १० देखि १२ बजेसम्म सार्वजनिक लेखा समितिको हलमा उपस्थित हुन भनिएको छ। पूर्वाधार विकास समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्यहरूलाई सोही समयमा अर्थ समितिको हलमा बोलाइएको छ। महिला तथा सामाजिक मामिला समिति र राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूलाई पर्सि दिउँसो २ देखि ४ बजेसम्म क्रमशः सार्वजनिक लेखा समिति र अर्थ समितिको हलमा उपस्थित हुन भनिएको छ।
यसैगरी, सार्वजनिक लेखा समितिका सदस्यहरूको बायोमेट्रिक विवरण वैशाख २८ गते बिहान १० देखि १२ बजेसम्म लेखा समितिकै हलमा संकलन गरिनेछ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यहरूको विवरण भने सोही दिन अर्थ समितिको हलमा संकलन गरिनेछ। विद्युतीय हाजिरी प्रणाली लागू भएपछि सांसदहरूको उपस्थिति अभिलेखीकरण थप व्यवस्थित, पारदर्शी र प्रभावकारी हुनेछ।
