© 2026
काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले वर्तमान सरकारलाई आफ्ना कमजोरी सुधार्न आग्रह गर्दै असफलताको बाटोमा नजान चेतावनी दिएका छन्। बुधबार माइतीघरमा आयोजित खुला पत्रकार सम्मेलनमा उनले बालेन्द्र शाह नेतृत्वको सरकारलाई संयमता अपनाउन सुझाव दिएका हुन्।
भुसालले सरकार गठन भएको डेढ महिना नबित्दै जनतामा निराशा र त्रासको वातावरण देखिन थालेको टिप्पणी गरे। विशेषगरी सुकुम्बासी व्यवस्थापनका नाममा समाजका कमजोर वर्गमाथि गरिएको व्यवहारप्रति उनले गम्भीर आपत्ति जनाए। उनले भने, “यो सरकारले आफ्ना कमजोरीहरू सुधारोस्। हामी सरकार उल्ट्याउन सडकमा आएका होइनौँ। तपाईँसँग पर्याप्त सामर्थ्य र समय छ—नहतारिनुस्, नहडबडाउनुहोस्, शक्तिको तुजुक नदेखाउनुस्। यस्ता तुजुक देखाउने धेरै लोकप्रिय सरकारको अन्त्य हामीले देखिसकेका छौँ।”
भुसालले जनता सरकारसँग डराउने अवस्था सिर्जना भए त्यसको परिणाम सकारात्मक नहुने चेतावनी दिए। बहुमतलाई लोकतान्त्रिक स्थिरता र देशको समृद्धिका लागि प्रयोग गर्न आग्रह गर्दै उनले जनता अझै सरकारप्रति आशावादी रहेको बताए। त्यस्तै, उनले सरकारले अध्यादेशमार्फत ट्रेड युनियन र विद्यार्थी संगठनमाथि लगाएको प्रतिबन्ध फिर्ता लिन माग गरे। अध्यादेशमार्फत निर्णय गर्नुले सरकारको बहुमतको गरिमा घटाएको उनको आरोप थियो।
यसैगरी, कालापानी–लिपुलेक क्षेत्रको विषयमा पनि भुसालले सरकारलाई राष्ट्रिय एकता र फराकिलो सहमतिका आधारमा पहल गर्न सुझाव दिएका छन्। उनका अनुसार यस्ता संवेदनशील राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र सरोकारवालालाई साथमा लिएर अघि बढ्न आवश्यक छ।