Butwal Today

एनआरएनए कतारको हटलाइन सेवा प्रभावकारी

२२ बैशाख २०८३, मंगलवार
अ+
अ-

कतार । कतारमा रहेका नेपाली श्रमिकका समस्या समाधानमा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) एनसिसी कतारद्वारा सञ्चालन गरिएको हटलाइन सेवा प्रभावकारी माध्यमका रूपमा स्थापित हुँदै गएको छ ।

वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्यामा परेका श्रमिकका लागि यो सेवा भरोसायोग्य सहारा बन्दै गएको बताइएको छ ।

एनआरएनए एनसिसी कतारले करिब छ महिनाअघि सुरु गरेको हटलाइनमा दैनिक रूपमा दर्जनौँ श्रमिकहरूले सम्पर्क गरी आफ्ना गुनासा, समस्या तथा जिज्ञासा राख्ने गरेका छन् ।

प्राप्त समस्याहरूलाई सम्बन्धित निकायसँग समन्वय गरी समाधान गर्ने प्रयास भइरहेको एनसिसी कतारका द्वितीय उपाध्यक्ष तथा श्रमिक संयोजक सन्तोष पौडेलले जानकारी दिए ।

उनका अनुसार हटलाइनमार्फत धेरै श्रमिकले छोटो समयमै राहत पाएका छन् भने केही जटिल प्रकृतिका समस्याहरू कानुनी प्रक्रियाबाट समेत समाधान भएका छन् । “धेरै श्रमिकले काम गरेको कम्पनीबाट पाउनुपर्ने पारिश्रमिक नपाएको गुनासो ल्याएका थिए,” पौडेलले भने, “हाम्रो पहलमा सम्बन्धित निकायसँग समन्वय गरेर कैयौँ श्रमिकलाई बक्यौता रकम दिलाउन सफल भएका छौँ ।”

पछिल्लो समय कतारस्थित नेपाली दूतावासले पनि श्रमिकका समस्यालाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए । श्रमिकबाट आउने कल, सन्देश तथा इमेलमा दूतावासले सकारात्मक प्रतिक्रिया दिँदै समस्या समाधानमा सहयोग पु¥याइरहेको उनको भनाइ छ ।

हटलाइनमा आउने गुनासामध्ये नेपालीले नेपालीलाई नै आर्थिक रूपमा ठगेको घटनाहरू बढी देखिने गरेको पौडेलले बताए । यस्तो प्रवृत्तिले नेपाली समुदायप्रति विश्वास कमजोर बनाउने भन्दै उनले यस्ता गतिविधि नगर्न सबैलाई आग्रह गरे ।

वैदेशिक रोजगारीका क्रममा आवश्यक कागजातको महत्त्व उल्लेख गर्दै उनले श्रमिकलाई आफ्ना सबै डकुमेन्ट सुरक्षित राख्न सुझाव दिए । साथै, आफू कार्यरत कम्पनीको नाम, ठेगाना र सम्पर्क विवरण परिवारलाई जानकारी गराउनुपर्नेमा जोड दिँदै यसले आपतकालीन अवस्थामा समस्या समाधान गर्न सहज हुने बताए ।

कुनै पनि समस्या परेमा हटलाइन नम्बरमा कल वा ह्वाट्सएपमार्फत सन्देश पठाउन सकिने र सेवा २४सै घण्टा उपलब्ध रहेको उनले जानकारी दिए ।

एनआरएनए एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीले आगामी दिनमा हटलाइन सेवालाई अझ प्रभावकारी बनाउने योजना रहेको बताए । साथै, श्रमिकलाई सचेतना प्रदान गर्न विभिन्न जानकारीमूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको उनले उल्लेख गरे ।

एनआरएनए कतारको यो पहलले नेपाली श्रमिकको हकहित संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने र सुरक्षित वैदेशिक रोजगारीमा टेवा पुग्ने विश्वास गरिएको छ । कतारमा रहेका नेपाली श्रमिकहरूले पनि हटलाइन सेवाप्रति सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।

उक्त हटलाइन नम्बर ९७४–७०००१३५३ रहेको छ, जसमा श्रमिकहरूले आवश्यक परेमा जुनसुकै समयमा सम्पर्क गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?