© 2026
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक वर्षको वैशाख महिनालाई खोपको महिनाको रूपमा मनाउँदै आईरहेको छ । अप्रिल महिनाको अन्तिम हप्तालाई विश्वभरी खोप सप्ताहाको रूपमा पनि मनाइन्छ । यो अभियानलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रूपमा समन्वय गर्दै आएको पाइन्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाख महिनामा खोप लगाउन छुटेका ५ बर्ष मुनिका सबै बालबालिकाहरूका लागि बृहतखोज र खोप अभियान २०८३ सञ्चालन गरेको छ । मन्त्रालयले बैशाखलाई पूर्ण खोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप अभियान २०८३ सञ्चालन गर्न लागेको हो ।
खोप लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्ण खोप रहेको सुनिश्चित गर्नको लागि वैशाख महिनामा देशभरका सबै बालबालिकालाई सबै सरकारी स्वास्थ्य संस्थाबाट १५ महिनाभित्रमा लगाउनु पर्ने नियमित खोपमा छुटेका ५ बर्ष मुनिका सबै बालबालिकालाई नियमित खोप दिने अभियान भएकाले वैशाख महिनालाई खोपको महिनाको रूपमा परिभाषित गरिएको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग अन्तरगत रहेका सम्पूर्ण खोप कार्यक्रम संचालन भएका सुचिकृत स्वास्थ्य संस्थाहरूमा निशुल्क रूपमा राष्ट्रिय खोप तालिका अनुसार जन्मेदेखि दुईबर्ष भित्रका बालबालिकाहरूलाई बिभिन्न घातक रोगहरूको बिरुद्वमा खोपहरू उपलब्ध भएको कुरा सर्बबिदितै छ ।
यस्ता घातक रोगहरूबाट भविष्यका कर्णधारको रूपमा रहेका बालबालिकाहरूलाई पूर्णरूपमा बचाउनको लागि हरेक परिवारले आफ्ना बालबालिकाहरूलाई जन्मेपश्चात १५ महिनाको उमेर पूरा हुँदासम्म अर्थात दुई बर्षभित्र स्वास्थ्य संस्थामा रहेका स्वास्थ्यकर्मीहरूसंग बच्चालाई भेटगरी खोप लगाई आफ्ना बच्चालाई घातक रोगबाट बचाउनु अत्यन्तै जरुरी र महत्वपूर्ण कार्य मानिन्छ । भनिन्छ नि “रोग लाग्नु भन्दा रोगको बाटो छेक्नु नै बेस” ।
ठिक त्यसैको उपजलाई मानेर यो कार्यलाई निकै महत्वको साथ हेरिएको छ । त्यसकारणले गर्दा हरेक स्वास्थ्य संस्थाहरूबाट सञ्चालित यो महत्त्वपूर्ण कार्यक्रमलाई निकै सम्बेदनशील र अनिबार्य प्रयोगमा ल्याउनुपर्ने कार्यक्रमको रूपमा मानिन्छ । त्यसैले गर्दा यो खोप कार्यक्रमलाई पिवान कार्यक्रम अर्थात कार्यक्रमको पनि महत्त्वपूर्ण कार्यक्रम भनिएको छ ।
हरेक बर्ष वैशाख महिनालाई नियमित रूपमा खोप कार्यक्रममा छुट भएका बालबालिकाहरूलाई सम्पूर्ण स्वास्थ्यकर्मीहरूले आ– आफ्ना सेवा क्षेत्र भित्रका बालबालिकाहरूलाई सेवा क्षेत्रका गाउँहरूमा घरधुरी सर्बेक्षण गरी खोपको दिगोपना निरन्तर दिने र कतैबाट छुटेकाहरूलाई पुनः खोप केन्द्रमा बोलाई खोप लगाईदिने, पूर्ण खोप निश्चित गर्ने र खोपको दिगोपनालाई सुनिश्चित गर्ने कार्य हरेक वर्षको वैशाख महिनामा निरन्तर गरिने हुनाले वैशाख महिनालाई खोपको महिना भनिएको हो ।
याद गरौं जबसम्म सबै बालबालिकाले खोप लगाउदैनन् तबसम्म कोही पनि सुरक्षित हुदैनन् । खोप लगाउन छुटेका ५ बर्ष मुनिका सबै बालबालिकाकालागि २०८३ वैशाख महिनाको बृहत खोज र खोप अभियान सफल बनाउन आ–आफ्नो स्थानबाट लागी परौं ।
हाल नेपालमा नियमित खोप कार्यक्रम अन्तरगत १४ बटा रोगहरू बिरुद्ध खोप दिईन्छ । प्रतिरोधात्मक क्षमता विकास गरी यी रोगहरू लाग्नबाट बच्न सकिन्छ ।
१. क्षयरोग
२. रोटाभाईरसबाट हुने झाडापखाला
३. पक्षघात (पोलियो)
४. न्युमोनिया
५ं भ्यागुते रोग
६. लहरेखोकी
७. धनुष्टंकार
८. हेपाटाइटिस बी
९. हेमोफिलस इन्फ्लयुएन्जा बी
१०. दादुरा
११. रुबेला
१२. टाइफाईड
१३. जापानिज इन्सेफ्लाईटिस
१४. पाठेघरको मुखको क्यान्सर
खोपको महत्व:
खोप निशुल्क पाईन्छ । खोप सुरक्षित छ । खोपले जीवन रक्षा गर्दछ । खोप ठूलो जनसमूहलाई सुरक्षित गर्ने साधन हो । प्रत्येक पाँचजना बालबालिकाको मृत्युमध्ये एकजनालाई खोपबाट बचाउन सकिन्छ । खोपले जीवन बचाउँछ ।
खोप सबैभन्दा राम्रो खरिद हो । खोप जनताको लागि फ्रि अधिकार हो भने रोग लाग्ने दर, अपाङ्ग हुने दर र मृत्यु हुने दर घटाउने खोप कार्यक्रमको लक्ष्य हो । एकजना बच्चालाई सम्पूर्ण खर्च बेहोरेर हेर्ने हो भने सम्पूर्ण खोप पूरा गर्नको लागि तिस हजार रूपैंया भन्दा बढी खर्च लाग्ने भनिएको छ ।
त्यसकारणले पनि नेपाल सरकारले बच्चाको लागि निशुल्क रूपमा बितरण गर्दै आएको खोप कार्यलाई निकै महत्वका साथ हेरि सम्पूर्ण अभिभावकले आफ्ना बालबालिकालाई खोप लगाई बालबालिकाहरूलाई घातक रोगबाट बचाउनु अत्यन्तै महत्वपूर्ण कार्य मानिन्छ ।
नेपाल सरकारले निशुल्क रूपमा बालबालिकाहरूका लागि संचालनमा ल्याएको यो खोप कार्यक्रमबाट प्राप्त हुने खोपहरूलाई बाहिरी रूपमा किनेर प्रयोगमा ल्याउनको लागि हामी नेपालीहरूको क्षमता भन्दा अलि टाढाको बिषय भएको अर्थात हाम्रो क्षमताले भेट्न नसक्ने हुनाले आफ्ना बालबालिकाहरूलाई यस्ता चौधवटा घातक रोगहरूबाट बचाउन बालबालिकाहरूलाई लुलो लङ्गडो, लठेब्रो, सुस्तमनस्थिति र बिक्षिप्त क्षमता बाट जोगाउन तथा बच्चाको शारिरिक, मानसिक, सामाजिक र सम्बेगात्मक विकासमा पछी गएर कुनै असर नपरोस भन्नका लागि यी महत्वपूर्ण र निशुल्क रूपमा प्रगोगमा आएका नियमित रूपमा हरेक महिना सन्चालनमा ल्याईएका खोपहरूलाई आफ्नो पायक पर्ने नजिकको स्वास्थ्य संस्था वा खोप केन्द्रमा आफ्ना बालबालिकाहरूलाई लगेर अनिबार्य खोप लगाऔं ।
आफ्ना बालबालिकाहरूको भविष्य उज्वल बनाऔं । जानेर वा नजानेर कुनैपनि अभिभावकले बालबालिकाहरूको खोप लगाउन पाउनुपर्ने नैसर्गिक अधिकारबाट बञ्चित नगरौं । हरेक बर्ष अभियानकै रूपमा चल्ने वैशाख महिना खोपको महिना भन्ने अभियानलाई सफल पारौँ ।
खोपबारे जान्नैपर्ने कुराहरू:
हरेक बर्ष विश्वमा झण्डै ४० लाखको जीवन खोपले बचाउँछ । खोप निशुल्क पाईन्छ । खोप सुरक्षित हुन्छ, खोपले जीवन रक्षा गर्दछ । जन्मेदेखि १५ महिनाको उमेर सम्ममा पाउने सम्पूर्ण खोपहरू समयमै पूरा गर्नुपर्दछ ।
सबै खोपहरू पूरा गर्न कम्तिमा ७ पटक स्वास्थ्य संस्था वा खोप केन्द्रमा जानुपर्दछ । खोप लगाई सकेपछि सामान्यतया ज्वरो आउने, खोप लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने हुन सक्दछ । तर, यस्ता लक्षणहरू केहि दिनपछि आफै ठिक हुन्छन् । तर खोप लगाईसकेपछि यदि उच्च ज्वरो आएमा, खोप लगाएको ठाउँमा रगत बगिरहेमा, बच्चा ३ घण्टा भन्दा बढी लामो समयसम्म रोइरहेमा, दुध नचुसेमा वा अचेत भए एवं सुस्त भएमा तुरुन्त स्वास्थ्य संस्थामा लैजानुपर्दछ । बच्चाको खोप कार्ड सुरक्षित राख्नु पर्दछ ।
खोप लगाउन नहुने अबस्थाबाहेक आफ्नो बच्चालाई खोप नलगाएमा त्यस्तो अभिभावक खोप ऐनमा उल्लेख भए अनुसारको सजाएको भागिदार हुनुपर्दछ । खोप नियमित लगाएपनि सधै पूर्ण सरसफाईका नियमहरू ब्यवहारमा पालना गर्नुपर्दछ । आफ्नो स्वास्थ्य र आफ्ना बालबालिकाको जिम्मेवार आफै बन्नुपर्दछ ।