© 2026
सिद्धार्थनगर । भैरहवामा माटो परीक्षण अभियानलाई तीव्र बनाइएको छ । खेतीपातीलाई वैज्ञानिक र उत्पादनमुखी बनाउने उद्देश्यसहित राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ भैरहवाले चालु आर्थिक वर्ष २०८२/८३ मा माटो परीक्षण अभियानलाई तीव्र बनाएको हो ।
डिजिटल माटो नक्सा अद्यावधिक गर्ने तथा माटो परीक्षणको आधारमा कृषि चुन वितरण गर्ने कार्यक्रममार्फत किसानलाई सन्तुलित मल प्रयोगतर्फ उन्मुख गराउने लक्ष्य लिएको परियोजना कार्यान्वयन एकाइ भैरहवाका कृषि अधिकृत दीनबन्धु पौडेलले बताए ।
उनका अनुसार खेतीपातीको पहिलो र अनिवार्य चरण माटो परीक्षण नै हो । “माटो परीक्षणबिना मलखाद प्रयोग गर्नु भनेको अनुमानका आधारमा खेती गर्नु जस्तै हो,” उनले भने, “माटोको अवस्था, त्यसमा रहेका पोषक तत्त्वको मात्रा र आवश्यक सुधारबारे थाहा पाएपछि मात्रै उत्पादन बढाउने सही रणनीति बनाउन सकिन्छ ।”
उनका अनुसार हाल धेरै ठाउँमा किसानहरूले अन्धाधुन्ध रूपमा मल प्रयोग गरिरहेका छन् । कतै आवश्यकभन्दा बढी मल हालिँदा उत्पादन लागत बढ्नुका साथै बजारमा मल अभाव देखिन्छ भने कतै कम प्रयोग गर्दा बिरुवाले आवश्यक पोषक तत्त्व नपाएर उत्पादन घट्ने समस्या देखिएको छ । “सन्तुलित मल प्रयोगकै अभावले हाम्रो कृषि उत्पादन अपेक्षाअनुसार बढ्न सकेको छैन,” उनले स्पष्ट पारे ।
परियोजनाले रुपन्देही र नवलपरासी जिल्लाका विभिन्न कृषि जोनहरू–केरा, धान, गहुँ, आलु तथा माछा सुपर जोनबाट माटो नमुना सङ्कलन गरिसकेको छ । नमुना सङ्कलनका क्रममा प्राविधिक टोली प्रत्यक्ष खेतबारीमै पुगेर जिपिएस लोकेसनसहित तथ्याङ्क सङ्कलन गरेको छ, जसले प्रत्येक नमुनाको स्रोत पहिचानलाई वैज्ञानिक बनाएको छ ।
सङ्कलित नमुनाको विश्लेषण लुम्बिनी प्रदेश सरकारअन्तर्गत बाँकेको खजुरास्थित माटो तथा मल परीक्षण प्रयोगशालाको प्राविधिक सहयोगमा भइरहेको छ । प्रयोगशालाले छोटो समयमै परीक्षण सम्पन्न गरी किसानलाई रिपोर्ट उपलब्ध गराउने व्यवस्था मिलाएको छ । “आजको नमुना परीक्षण भोलिसम्म र भोलिको पर्सिसम्ममा रिपोर्ट दिन सकिन्छ,” पौडेलले जानकारी दिए ।
रिपोर्टमा माटोको अम्लीय वा क्षारीय अवस्था, नाइट्रोजन, फस्फोरस, पोटासलगायत आवश्यक पोषक तत्त्वहरूको मात्रा तथा सुधारका उपायहरू विस्तृत रूपमा उल्लेख गरिएको हुन्छ । सोही आधारमा किसानलाई कति युरिया, डीएपी र पोटास प्रयोग गर्ने भन्ने स्पष्ट सिफारिस गरिन्छ ।
कार्यक्रमबाट करिब २५० किसान प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । माटोमा समस्या देखिएका किसानलाई बजेटको उपलब्धताअनुसार कृषि चुन वितरण गरिनेछ भने प्राविधिकहरूले प्रत्यक्ष परामर्शसमेत दिनेछन् ।
यस अभियानले बजारमा देखिएको मलखाद अभावलाई करिब ५० प्रतिशतसम्म न्यूनीकरण गर्न सहयोग पु¥याउने परियोजनाको विश्वास छ ।
हाल रुपन्देही जिल्लाको माटो परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ भने बुधबारदेखि नवलपरासीका तीन वटा जोनमा विश्लेषण कार्य अघि बढाइनेछ । त्यसपछि क्रमशः रिपोर्ट वितरणसँगै किसानलाई ‘काउन्सिलिङ’ सेवा पनि प्रदान गरिनेछ ।
परियोजना संघीय सरकारअन्तर्गत सञ्चालन भए पनि प्रदेश सरकार तथा स्थानीय तहसँग समन्वय गरेर कार्यान्वयन भइरहेको छ । देशभर सबै क्षेत्रमा प्रयोगशाला सुविधा उपलब्ध नभएकाले लुम्बिनी प्रदेशको खजुरा प्रयोगशालाले मोबाइल भ्यानमार्फत सेवा विस्तार गर्दै आएको छ । स्थानीय तह, कृषि ज्ञान केन्द्र तथा सहकारी संस्थासँगको सहकार्यमा शिविर सञ्चालन गरी किसानसम्म सेवा पु¥याइएको छ ।
यद्यपि परियोजनाको कार्यक्षेत्र सीमित जोन र पालिकामा मात्र केन्द्रित भएकाले सबै किसानलाई प्रत्यक्ष रूपमा समेट्न नसकिएको अधिकारीहरूले बताएका छन् । “सीमित क्षेत्रका किसानले मात्र अनुदान र सेवा पाउने भए पनि यस मोडेललाई अन्य क्षेत्रमा विस्तार गर्न सके अझ प्रभावकारी हुने देखिन्छ,” पौडेलले बताए ।
माटो विज्ञ सुनबहादुर केसीका अनुसार लुम्बिनी प्रदेशसहित नेपालका धेरैजसो क्षेत्रमा माटोमा प्राङ्गारिक पदार्थको मात्रा न्यून देखिएको छ, जसलाई माटोको ‘मुटु’ मानिन्छ । “प्राङ्गारिक पदार्थ कम हुँदा माटोको उर्वराशक्ति घट्छ, त्यसैले गोठालो मल, हरियो मलजस्ता स्रोतको प्रयोग बढाउनुपर्छ,” उनले सुझाव दिए ।
उनले नाइट्रोजन, फस्फोरस र पोटासजस्ता आवश्यक पोषक तत्त्वहरूको पनि कमी देखिएको उल्लेख गर्दै यी तत्त्वहरू लामो समय माटोमा टिक्न नसक्ने भएकाले नियमित रूपमा सन्तुलित प्रयोग गर्नुपर्ने बताए । “नाइट्रोजन उड्ने वा चुहिने भएकाले यसको कमी धेरै देखिन्छ,” उनले भने ।
माटोको पिएच स्तर सन्तुलित हुनु अत्यन्त आवश्यक रहेको उनले बताए । उनका अनुसार ६.५ देखि ७.५ बिचको पिएच स्तरलाई तटस्थ मानिन्छ, जसले माटो स्वस्थ रहेको सङ्केत गर्छ । “पिएच कम भए माटो अम्लीय र बढी भए क्षारीय हुन्छ, दुवै अवस्थाले उत्पादनमा असर गर्छ,” उनले स्पष्ट पारे ।
माटो परीक्षणपछि प्रत्येक किसानलाई ‘सोइल हेल्थ कार्ड’ प्रदान गरिने व्यवस्था गरिएको छ, जसमा माटोको भौतिक तथा रासायनिक अवस्था, आवश्यक मलको मात्रा तथा सुधारका उपायहरू उल्लेख हुन्छन् । यसले किसानलाई आफ्नै खेतको आवश्यकता अनुसार खेती व्यवस्थापन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
अघिल्ला वर्षहरूमा भैरहवास्थित कार्यालयमै मिनी प्रयोगशाला सञ्चालनमा रहे पनि जनशक्ति अभावका कारण सेवा अवरुद्ध भएको थियो । यस पटक भने प्राविधिक टोलीलाई प्रत्यक्ष फिल्डमा खटाएर नमुना सङ्कलन गर्ने नयाँ अभ्यास सुरु गरिएको हो, जसले अभियानलाई थप प्रभावकारी बनाएको परियोजनाले जनाएको छ ।
सरकारले देशभर अभियानकै रूपमा माटो परीक्षण कार्यक्रम सञ्चालन गर्ने नीति लिएको सन्दर्भमा भैरहवामा सुरु भएको यो पहललाई कृषि क्षेत्र सुधारको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
कृषि विज्ञहरूका अनुसार माटो परीक्षणमा आधारित खेती प्रणाली अवलम्बन गर्न सके उत्पादन वृद्धि, लागत नियन्त्रण र वातावरणीय सन्तुलन कायम गर्न ठुलो योगदान पुग्नेछ ।