© 2026
अर्घाखाँची ।
अर्घाखाँचीको नरपानीमा नेपाल वन प्राविधिक संघ लुम्बिनी प्रदेशद्वारा प्रकाशित “लुम्बिनी सन्देश” पत्रिका तथा एनएफए भित्ते पात्रो सार्वजनिक गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देव करण प्रसाद कलवार, मन्त्रालयका सचिव प्रमोद भट्टराई तथा वन निर्देशनालयका महानिर्देशक ईश्वरी प्रसाद पौडेलले संयुक्त रूपमा पत्रिका र भित्तेपात्रो विमोचन गरेको नेपाल वन प्राविधिक संघ लुम्बिनी प्रदेशका अध्यक्ष केशर खड्काले जानकारी दिएका छन् । मन्त्री कलवारले वन क्षेत्र संरक्षण, दिगो व्यवस्थापन र प्राविधिक जनशक्तिको भूमिकालाई अझ सुदृढ बनाउन यस्ता प्रकाशनहरूले महत्वपूर्ण योगदान पुर्याउने बताए ।
कार्यक्रममा मन्त्रालयका सचिव प्रमोद भट्टराई, वन निर्देशनालयका महानिर्देशक ईश्वरी प्रसाद पौडेल नेपाल वन प्राविधिक संघका सल्लाहकार दामोदर शर्मा, विजयराज सुवेदी, जितेन्द्र खड्का लगायतका वक्ताहरूले पनि आफ्नो धारणा राख्दै वन प्राविधिकहरूको पेशागत क्षमता विकास, सूचना आदानप्रदान तथा जनचेतना अभिवृद्धिमा “लुम्बिनी सन्देश” पत्रिका र एनएफए भित्तेपात्रोको महत्व औंल्याए । उनीहरूले वन तथा वातावरण संरक्षणमा स्थानीय समुदायको सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता प्रकाशनले ज्ञान र सूचनाको सेतुको काम गर्ने बताए ।
नेपाल वन प्राविधिक संघले वन क्षेत्रसँग सम्बन्धित नीति, प्रविधि, अनुसन्धान तथा अभ्यासहरूलाई एकीकृत गर्दै प्राविधिकहरूबीच समन्वय कायम गर्ने उद्देश्य राखेको छ । संघका गतिविधिहरूले वन संरक्षण मात्र नभई वातावरणीय सन्तुलन, जैविक विविधता संरक्षण तथा जलवायु परिवर्तन न्यूनीकरणमा समेत सकारात्मक प्रभाव पार्दै आएको नेपाल वन प्राविधिक संघ लुम्बिनी प्रदेशका अध्यक्ष केशर खड्काले बताएका छन् ।