© 2026
‘स्वास्थ्यको ध्यान, काममा मन’ भन्ने नाराका साथ आज कामको सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस मनाईदैछ । यो दिवस हरेक वर्ष अङ्ग्रेजी पात्रो अप्रिल २८ तारिखमा विश्व भरी मनाउने गरिन्छ ।
विश्व श्रम सङ्गठनको आह्वानमा श्रम र स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै यो दिवस मनाइँदै आइएको छ । सन् २०२२ को जुन महिनामा भएको अन्तर्राष्ट्रिय श्रम सम्मेलनले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको आधारभूत सिद्धान्त र सुरक्षित तथा स्वस्थ काम गर्ने वातावरण तयार गर्नुपर्ने निर्णय गरेको थियो । कामको दौरानमा चाहे त्यो श्रमिक होस या कामदार वा कुनै उपल्लो ओहदामा बसेर काम गर्नेहरू हुन, सबैको प्राथमिकता स्वास्थ्य सुरक्षा हो ।
यो दिवसकै अवसरमा जोखिमको काम गर्नेहरूलाई स्वास्थ्य सुरक्षा सम्बन्धी अलग्गै प्रशिक्षण दिनु जरुरी छ । किनभने अहिले पनि कामको दौरानमा धेरै दुर्घटना भएका छन्, त्यसबाट श्रमिकको ज्यान गएको छ ।
त्यसै गरी स्वास्थ्यलाई हानी पुग्ने काममा समेत श्रमिक मजदुर खटिएका छन् । कामको जोखिमबाट श्रमिकलाई जोगाउनु र उनीहरूको स्वास्थ्यमा हेरचाह गर्नु यो दिवसको मूल मर्म हो । त्यही अनुसार यो वर्षको नारा समेत तय भएको छ ।
निश्चित रूपमा यो दिवसले हरेक दिन काममा जोडिने श्रमिकको सुरक्षाको चिन्ता गर्दछ । महिला तथा पुरुष श्रमिक जो कुनै हुन श्रमिकले जोखिमपूर्ण काम गर्दै आएका छन् । कुनै कुनै कामका कारण श्रमिकको स्वास्थ्यमा ठूलो समस्या आउने गरेको पनि छ तरपनि काममा खटिनुपर्ने परिस्थिति छ ।
स्वास्थ्यलाई जोखिममा पार्नु भनेको चुनौति हो । विश्व श्रम संगठनका अनुसार विश्वमा प्रतिदिन ६ हजार पाँचसय बढी श्रमिकको मृत्यु कार्यसम्बन्धी जोखिमले हुने गर्दछ । कार्यमा सुरक्षा र स्वास्थ्यको अवस्थाको कमीले वर्षभरिमा २५ लाख मानिसको मृत्यु हुने गर्दछ । तर, यस विषयमा नजरअन्दाज गर्ने गरिएको छ ।
स्वास्थ्य सुरक्षाको सम्झौताका कारण कहिले संक्रामक रोग फैलिने त कहिले कार्यस्थलमा दुर्घटना हुने जस्ता अप्रिय घटनाहरू हुने गरेको हामी आफैले देखेका छौं । तसर्थ मंगलबार मनाइने यो दिवसले आम श्रमिकमाझ जनचेतना फैलाउने काम गरोस् । कसैलेपनि जोखिमको काम गर्दैगर्दा मृत्युबरण गर्नु नपरोस् ।
काम सुरक्षाको ग्यारेन्टी गर्दैगर्दा काममा लगाउनेहरूले पनि धेरै भन्दा धेरै जोखिमको कामबाट श्रमिकलाई टाढा राख्नेतर्फ पहल गर्नु जरुरी छ ।
विश्व श्रम संगठनले जुन उद्देश्य र अभियानका साथ यो दिवस मनाउन सुरु गरेको हो, त्यो अहिले आएर अत्यन्त महत्वपूर्ण देखिएको छ । यसको सार्थकता तबमात्रै हुन्छ जब जोखिमबाट हुने मानवीय क्षति रोकिनेछ ।
विडम्वना के छ भने अझैपनि जोखिमको काममा खटिने श्रमिकहरूले आधारभूत स्वास्थ्य सेवा समेत प्राप्त गर्न नसकेको अवस्था रहेको छ । तसर्थ यो दिवसले सुरक्षित र स्वस्थ कार्यस्थलमा कामदारहरूलाई चोटपटक र रोगबाट बचाउने कुरामा पर्याप्त चेतना छर्ने काम गरोस् ।
कैयौं श्रमिकले काममा खटिँदा र स्वास्थ्य जोखिममा पर्दा उपचार खर्च समेत पाउने गरेका छैनन् । काममा जोखिम तर श्रमिक घाईते भएमा उपचार खर्च समेत नपाउने अवस्थाको अव अन्त्य गरिनुपर्दछ । यो बिषयमा विश्व स्वास्थ्य संगठनले नयाँ ढंगले अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।
सबै कामदार श्रमिकको स्वास्थ्यको पहुँच सुनिश्चित गर्न र आर्थिक कठिनाईबाट उपचार नै नपाउने अवस्थाको अन्त्य गर्नेतर्फ नेपाल सरकारले ध्यान देओस् । काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस सन् २००३ देखि मनाउन थालिएपनि कार्यस्थलका श्रमिकको समग्र सुरक्षाको विषयमा अहिले पनि ध्यान पुग्न सकेको छैन् ।
तसर्थ अवको दिनमा सुरक्षित, स्वस्थ र सभ्य कामलाई बढावा दिन मनाउदै आएको यो अन्तर्राष्ट्रिय अभियानलाई उद्देश्यप्रेरित तथा सार्थक बनाउनेतर्फ पहल होस् ।