Butwal Today

नयाँ वर्ष र सरकारसँगको जनअपेक्षा 

१३ बैशाख २०८३, आइतबार
अ+
अ-

नयाँ वर्ष आगमनसँगै हामी नेपालीहरू स्वदेश तथा विदेशमा जहाँ रहेको भए पनि नयाँ वर्षको शुभकामना निकै हर्षका साथ बाँडेका छौँ । सुस्वास्थ्य दीर्घायुको कामना गरेका छौँ । अनि साथमा समृद्धिको कामना समेत थपेका छौँ ।

यो त भयो व्यक्ति व्यक्तिमा बाँडेको शुभकामना । नयाँ वर्षको उपलक्षमा कतिपयले राज्यबाट गरेका चाहना समेत आफ्ना भावनामा बिसाउनु भएको छ । अति कमले मात्र नयाँ वर्ष भनेको भित्ताको क्यालेन्डर फेरिने मात्र हो नयाँ केही हुनेवाला छैन भनेर पनि लेखेको देख्न पाइयो । यो उहाँहरूको विचार हो । मनमा लागेको विचार राख्न पाइन्छ ।

जति वेलासम्म आफ्ना विचारले अर्काको मनमा ठेस पुग्दैन त्यति वेलासम्म आफ्नो विचार प्रवाह गर्न पाइन्छ र विचार प्रवाह गर्नुपर्दछ । हाम्रो जीवनमा आउने नयाँ वर्षहरू भित्ताको क्यालेन्डर फेर्नका लागि मात्र आउँदैनन् केही न केही नयाँ रूप रङ्ग र आकार लिएर आएका हुन्छन् । नयाँ वर्षले ल्याएको रूप रङ्ग र आकार देख्न र बुझ्न सक्नुपर्दछ ।

त्यो क्षमता आफूभित्र हुनुपर्दछ । जसको भित्र दिलमा नयाँ रूप, रङ्ग वा आकार हुँदैन उसले नयाँ वर्षमा पनि केही फरक नदेख्नु त्यति अस्वाभाविक मानिँदैन । नयाँ वर्षले ल्याएर कसैका काखमा केही वस्तु राखिदिदैन ।

नयाँ वर्षमा आफूले नयाँ कर्म गर्नु पर्दछ । गतवर्ष गरेको कर्मका फल कति र कस्तो प्राप्त भयो यसको पनि समीक्षा गर्नु पर्दछ । जसले जीवनमा नयाँ कर्म जानेको छ त्यसले नयाँ वर्षको स्वाद राम्ररी थाह पाउँछ ।

जससंग त्यो क्षमता हुँदैन उसले क्यालेन्डर फेरेको मात्र देख्छ । यसमा अन्यथा मान्नुपर्ने पनि केही छैन् । यो त आफू भित्रको गुण या बैगुणले निर्धारण गर्दछ । नेपालमा नयाँ वर्षको संघारमा नयाँ सरकार आएको हो । यो सरकार चानचुने होइन दुई तिहाइ नजिकको सरकार हो । यो सरकारले केही गरौ भन्ने हुटहुटीका साथ आएको छ भनिन्छ ।

नेपालमा नयाँ सरकार आउनु र नयाँ वर्षको आगमनले सकारात्मक विचार भएकाहरूले नयाँ वर्षबाट र नयाँ सरकारबाट धेरै अपेक्षा गरेका छन् । अनन्त चाहना छन् नेपाली जनमनमा । हिंजोका दलहरूबाट के के कार्य भयो त्यो जनसमक्ष जगजाहेर छ । यो कतै छिपेको छैन । यसको मूल्यांकन भोलीका दिनमा हुँदैजाला ।

आज आएको सरकारले हिंजोका दलहरूले केही गरेनन् भनेर जनजनमा फिंजाउन सफल भएकाले उसको पक्षमा राम्रो मत खसेको हो । निर्वाचनका समयमा जसले जे सुकै भने पनि मत परिणाम आएपछि सबै राजनीतिक दलका शीर्ष नेताहरूले वधाइ समेत दिएका छन् ।

यसाबट के बुझिन्छ भने सबै दलले निर्वाचनको मत परिणामलाई सहजरूपमा लिएका छन् भन्ने नै हो । सबै दलबाट बधाई पाइसके पछि यो सरकारप्रति जनअपेक्षा बढेको हो भन्दा अझ उचित हुनेछ । यसबाट सरकारप्रति सबैमा चासो समेत थपिएको छ । साँच्चि यो सरकारले मौका परेको समयमा आमुल परिवर्तन गरेर देखाउन सक्यो भने यसको प्रतिष्ठमा कसैले पनि आँच पु¥याउन सक्दैन । यो पक्का कुरा हो । यसप्रकारका कुरा धेरैबाट सुन्न पाइन्छ ।

नेपाली नागरिकले वर्तमान सरकारबाट यति ठूला अपेक्षा गरेका छन् कि छोंटो समयमा ठूलो परिवर्तन अवश्य हुने छ भन्ने अपेक्षा गरेका छन् । होला नहोला त्यो भविश्यले देखाउने छ । तर एउटा कुरा सत्य केहो भने नयाँ विचार र कार्य प्रवाह गर्नका लागि यो सरकारलाई कसैले छेक्न सक्ने छैन ।

सरकार के का लागि गठन भएको हो ? नेपाली नागरिकले के भनेर त्यो पार्टीमा आफ्नो मत प्रदान गरे ? साथमा त्यो दलका नेताहरूले के भनेर मत मागेका हुन ? यो पनि त नेपाली जनका मनमा ताजै छ । मनमा ताजै भएको कुरा सित्तै कसैले विर्सने छैन । यसकारण यो सरकारले विभिन्न वहानावाजी गर्ने छुट नै हुने छैन ।

वर्तमान सत्तारुढ दलका नेताहरूले हिंजाका सत्तारुढ दलहरूले केही गरेनन् उनीहरूले गरेको भनेको भ्रष्टाचार मात्र हो भनेको अहिले पनि हाम्रो कानमा गुञ्जिरहेको छ । यसकारण पनि सरकार सञ्चालकहरूले तत्काल कुरा फेर्न पाउने अवस्था नै रहने छैन ।

जनअपेक्षा र सरकारको गतिका कारणले यहाँ देखिने परिवर्तन आउने छ भन्ने लाग्दछ । हिंजो सत्तामा रहेका दलहरूले विभिन्न समयमा निरंकुशकाता विरुद्धमा आन्दोलन गरेर यो स्वतन्त्रताल्याएका हुन् यो त सबैले बुझेको कुरा हो यसमा रहेको कमी के हो भन्दा जन अपेक्षा अनुसार परिवर्तन ल्याउन सकेनन् भन्ने नै हो ।

यो केही मात्रामा सत्य पनि हो । सत्य कुरालाई नकार्न मिल्दैन । किनभने सत्य भनेको सधै घाम जस्तै छर्लंग हुन्छ । त्यसकारण पनि यसलाई लुकाउन वा वहानावाजीका कुरा सुनाउन हुँदैन । चाहेको जतिगर्न नसक्नुमा धेरै कारणहरू छन् र ति कारण पनि सत्य छन् । नाकावन्दी, भूकम्प,कोरोना जस्ता केही कुराहरू सबैका समुमा छन् ।

यी कारणहरू अहिले खोतल्नु भन्दा आगामी दिनमा गर्नुपर्ने कुराका वारेमा वहस छलफल गर्दा राम्रो हुन्छ भन्ने लाग्दछ । नयाँ सरकारले जसरी भ्रष्टाचार निवारणको कुरा उठाएको छ । यसलाई लक्षमा लैजानुपर्दछ । यसका निम्ति नियम संगत ढंगले जानु पर्दछ । कसले कहाँ कहाँ के कमजोरी गरेको छ त्यसको जरोसम्म पुगेर निरूपणको कुरा गर्नुपर्दछ ।

हिंजोका दिनमा पनि भ्रष्टाचार गर्नेहरू समातिएका धेरै उदाहरण छन् । हिंजो भ्रष्टाचार मात्र भयो भन्नु कत्ति पनि उचित होइन । हिंजो पनि भ्रष्टाचारीलाई नियम संगत ढंगबाट कारावही भएको छ । कतिपय दलका उच्च नेताहरूले समेत जेलको सजाय भोगेका उदाहरण पनि छन् । भ्रष्टाचार अचंम्भको कुरा रहेछ ।

भ्रष्टाचार गर्नेहरूलाई हदैसम्मको कारावही भएको पनि देखिन्छ । अझ भ्रष्टाचारको कुरा गर्दा हाम्रो छिमेकी मुलुक गणतन्त्र चीनमा भ्रष्टाचार गर्नेहरूलाई मृत्यू दण्डको सजाय भएको पनि हामीले वेला मौकामा सुन्ने गर्दछौं । भ्रष्टाचार गरे वापत ज्यान गुमाउनुपर्दछ भन्दा पनि त्यसलाई वेवास्ता गरेर मानिसहरूले भ्रष्टाचार गर्छन अनि ज्यान गुमाउँछन् भने हाम्रो नेपालमा त्यस्तो व्यवस्था छैन । यहाँको कुरा वेग्लै भयो । जेसुकै भएपनि भ्रष्टाचार गर्नेहरूलाई हदैसम्मको सजाय हुनुपर्दछ ।

यसमा दुईमत छँदै छैन । तर कारवाही विधि र नीति अनुरूप हुनुपर्दछ भन्ने मात्र हो । नयाँ सरकारले भ्रष्टाचार निवारणका कुरा त अति जोडले उठाएको छ । त्यो भन्दा पहिले यो सरकारमा पुगेकाहरू कति दुधले नुहाएका छन् भन्ने कुरा पनि आउँछ होला ? अरूलाई भन्न जति सजिलो छ आफू उदाहराण बनेर देखाउन अलि गाह्रो हुन्छ होला ।

वर्तमान सरकारबाट जनताले अपेक्षा गरेका कुराहरू धेरै छन् पहिले पनि भनियो । निर्वाचननका समयमा भने भ्रष्टाचार निवारणका कुरा एकातर्फ आए भने अर्कोतर्फ पुराना दलले केहीगरेनन् भन्ने कुरा आएका थिए अव त्यतिवेलाको सरकारले पारेको खाडल नयाँ सकारले कसरी पुर्छ र नयाँ ढिस्को कसरी उठाउँछ भन्ने मुल कुरा यतिवेलाको यक्ष प्रश्न हो ।

निर्वाचनमा उल्लेख भएका वाचापत्रका कुरा के र कसरी पुरा हुँनेछन् ? सुक्ष्मरूपमा हरक नागरिकले नियाली रहेका छन् । यो सरकारले जनअपेक्षा बुझेर पाइला चाल्यो भने यसले दीर्घकालसम्म प्रभाव पर्ने छ । यो प्रभावको कुरा जनताबाट होइन वर्तमान सरकारबाटै सम्भव छ । किनकी अहिले बल नयाँ सरकारको कोर्टमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?