© 2026
अहिलेको जेनजी पुस्ता धेरैलाई थाहा नहोला– आजभन्दा १९ वर्ष अगाडी १९ दिन लामो आन्दोलनपछि शाही शासन ढलेको थियो । देशमा लोकतन्त्र आएको थियो । देशमा लोकतन्त्र आएको १९ वर्ष भैसकेको छ ।
२०६३ सालमा जन्मिएको बालक अहिले जेनजी भैसकेको छ । नेपालमा राजनीतिक परिवर्तन कसरी भयो ? अहिलेको जेनजी पुस्ताले इतिहास पढ्नु जरुरी छ ।
किनभने त्यो ऐतिहासिक दिन जुन दिन नेपालको इतिहासमा नेपाली जनताको १९ दिने अथक प्रयत्न र बलिदानबाट शाही राजतन्त्र ढलेको थियो । शाही राजतन्त्र समाप्त गर्न नेपाली जनता र राजनैतिक दलले कति दुःख र यातना सहेका थिए ।
हिजोको जगमा आज हामी यहाँसम्म आइपुगेका छौँ । आज त्यो दिनको स्मरणमा लोकतन्त्र दिवस मनाईदैछ । विक्रम सम्बत २०६३ को वैशाख ११ गतेको रात तत्कालीन राजा ज्ञानेन्द्रले जनताको नासो जनतालाई नै हस्तान्तरण गरेको भन्दै सत्ताबाट बाहिरिएको घोषणा गरेका थिए ।
नेपालमा १९ दिने ऐतिहासिक जनआन्दोलनमार्फत शासनसत्ता जनतामा फर्किएको त्यो ऐतिहासिक दिन थियो । आन्दोलनका क्रममा कयौं शहिद भए । अझै धेरै त घाईते भए । विडम्बना लोकतन्त्रान्त्रिक आन्दोलनको १९ वर्ष हुँदा पनि नेपाली जनताका आशा र अपेक्षा पूरा भएका छैनन् । घाईतेको अवस्था अझै कमजोर बनेको छ ।
सहिद भएका परिवारले उचित क्षतिपूर्ति पाउन सकेका छैनन् । नेपालीले त्यत्रो आन्दोलनमार्फत प्राप्त गरेको लोकतन्त्रको दिर्घायूका लागि जसरी काम हुनुपथ्र्यो त्यो हुन सकेन् । जनताले राजा फालेर देशमा परिवर्तन ल्याएपनि अझैसम्म परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । सवै कुरा नेताहरूलाई दोष दिएरमात्रै उम्किने अवस्था छैन् ।
किनभने अस्थीर सरकार र माओवादीको १० वर्ष लामो सशस्त्र युद्धले देश छियाछियो बन्यो । माओवादीलाई शान्ति प्रकृयामा ल्याउने काममा नेताहरूले नै भूमिका खेलेका हुन् ।
त्यसपछि शाही शासन अन्त्यमा पनि दलहरूको नेतृत्व र अगुवाईलाई कम ठान्न सकिदैन । त्यसपछि गणतन्त्र हुँदै नयाँ संविधान जारी हुँदासम्मको करिव १० बर्षमा यिनै नेताहरूले नयाँ संविधान जारी गर्न सफलता पाएका हुन ।
तसर्थ विगतमा नेपाललाई स्थीरता दिने कुरामा नेताहरूको ठूलो त्याग र बलिदान छ । हो जनताले सोचे अनुसारको काम हुन सकेन । त्यसमा विभिन्न कठिनाई उत्पन्न भए । त्यही भएर अहिलेको जेनजी पुस्ताले विगत २० बर्षयताको राजनैतिक परिवर्तन, अस्थीरता, भाँडभैलोको समग्र इतिहास पढ्नु जरुरी छ ।
मुलुकको परिवर्तनका लागि विगतमा यति धेरै त्याग र सहादत भए तर अहिलेसम्म आम जनताले चाहेको निराशाको बादल हट्न सकेको छैन । २०६३ सालको ऐतिहासिक आन्दोलन गणतन्त्रको सुत्रधार आन्दोलन थियो भन्दा अत्युक्ति हुँदैन । देश आज संघीय लोकतान्त्रिक गणतन्त्रमय वनेको छ ।
यसका लागि संघर्ष, त्याग र बलिदान गर्ने सवैसवैप्रति नमन गर्नुपर्दछ । अव निश्चितरूपमा दलहरूमा परिवर्तन हुनुको बिकल्प छैन् । उनीहरूमा परिवर्तन आउनु नयाँ पुस्ताको माग र आवश्यकता दुवै हो । नयाँ सरकारले विगतमा भएको परिवर्तनका साक्षी सहिद र घाईते परिवारलाई राहत दिनेतर्फ कञ्जुस्याई नगरोस् ।
अहिलेको राजनीतिक जग १९ दिने आन्दोलनको प्रतिफल हो । अतः आज दिवस मनाईरहँदा लोकतन्त्रका लागि ज्यानको बाजी लगाउनेहरूप्रति मुलुक नतमस्तक हुनुपर्दछ । समय परिवर्तन भएको छ ।
अहिलेको जेनजी पुस्ताले विगत बुझोस् । आउने दिनमा केही नयाँ गर्ने संकल्प गरोस् । जनताको जीवनमा परिवर्तन ल्याउने भन्दै जनताले रास्वपालाई दुई तिहाई नजिकको बहुमत दिएका छन् ।
तसर्थ जनताको आशा र अपेक्षा पूरा गर्ने सवालमा नयाँ सरकारले जनतामा परिवर्तनको अनुभूति गराओस् ।