© 2026
पाल्पाको बगनासकाली गाउँपालिकाकी गीता पाण्डे गर्भ सम्बन्धी उपचारका क्रममा बुटवलका विभिन्न क्लिनिक धाउँदै गर्दा अन्ततः ज्यान गुमाउन बाध्य भएकी छिन् ।
उनी एक प्रतिनिधि पात्र हुन जसले चिकित्सकको लापरबाहीका कारण ज्यान गुमाएकी छिन । बुटवलमा यस्ता अपराधजन्य घटना धेरै हुने गरेका छन्, जसको पर्दा पछाडिको रहस्य गर्भमै तुहिने गरेको छ ।
असुरक्षित गर्भपतनको कारण धेरै महिला आजीवन रोगी बनेर बाँच्न विवस वनेको कथा पनि यही बुटवलमा छन् । पैसा कमाउने नाममा पर्दा पछाडिका अपराध बुटवलमा भनिसाध्य छैन ।
दोषी उम्किने र बिरामीले कि मृत्युवरण गर्नुपर्ने कि सधैँ पीडामा बाँच्नुपर्ने बाध्यता उत्पन्न हुँदै आएको छ । चिकित्सक र स्वास्थ्कर्मीको लापरबाहीका कारण महिलाहरूले अकालमा ज्यान गुमाउनु परेको घटना धेरै छन् ।
त्यसको पछिल्लो उदाहरण गीता पाण्डे हुन जसले अन्ततः मृत्युवरण गर्न बाध्य भएकी छिन् । गीताको उपचारमा जोडिएका सुरुदेखि अन्त्यसम्मका पात्रमाथि कडा कारबाही हुनुपर्दछ । पैसाका लागि जेपनि गर्नेहरू कारवाहीको दायरामा परुन ।
भोलि कुनै गीताले असुरक्षित गर्भपतनको कारण अकालमै ज्यान गुमाउन बाध्य हुन नपरोस् । तसर्थ बुटवलमा झाँगिएको यो जालो तोडन प्रहरी प्रशासन तथा सम्बद्ध निकायले ध्यान देओस् ।
घटना विवरण अनुसार गीता सुरु उपचारका क्रममा खत्री नर्सिङ होममा पुग्छिन । खत्री नर्सिङ होमले उनलाई बुटवलकै अस्पताल लाईनमा रहेको फार्मेसीमा रिफर गर्छ । त्यहाँबाट उपचार हुँदै उनलाई अर्को क्लिनिक लगिन्छ । त्यसपछि उनको अवस्था गंभीर हुन्छ । अन्ततः गंभीर अवस्थामा लुम्बिनी सिटी अस्पताल पु¥याइएपछि उनको मृत्यु हुन्छ ।
यो बीचमा उपचारमा जोडिएका सवै दोषी हुन् । उपचारमा गंभीर लापरवाही भएकै हो । तसर्थ संलग्नमाथि कडा कारबाही हुनुपर्दछ । यो त एउटा प्रतिनिधि घटना हो ।
लुम्बिनी प्रदेशमा धेरै महिलाहरूले सुत्केरी हुने क्रममा ज्यान गुमाउन बाध्य हुने गरेका छन् । त्यसमाथि असुरक्षित गर्भपतनको समस्या चुनौतिको रूपमा बढिरहेको छ । देशभरका मातृ मृत्युमध्ये करिब ३७ प्रतिशत लुम्बिनीमै हुने गरेको छ ।
मृतक गीताका श्रीमान् प्रकाश पाण्डेले चिकित्सकको सल्लाह अनुसार नै गर्भपतनका लागि बुटवल ल्याइएको भएपनि उपचारकै क्रममा ज्यान गएकोले यो घटनालाई गम्भीर लापरबाहीको परिणाम हो भनेका छन् ।
अव दोषीमाथि कारबाही र परिवारलाई न्याय दिनुपर्ने उनको माग छ । पाण्डेका अनुसार करिब १२ हप्ताको गर्भमा समस्या देखिएपछि वैशाख ५ गते श्रीमतीलाई लिएर बुटवल आएका थिए । सुरुमा उनलाई खत्री नर्सिङ होम इट्टाभट्टीमा लगिएको र त्यहाँ स्वास्थ्यकर्मीले औषधि प्रयोग गरी गर्भपतन गराउने प्रयास गरिएको थियो ।
त्यसपछि अवस्था सुधार नभएपछि उनलाई बुटवल अस्पताल लाइनस्थित जोनल फार्मेसी र इन्दुलेखा क्लिनिकमा लगिएको थियो । त्यहाँ पनि औषधि प्रयोग गरेर उपचार गरिएको तर स्वास्थ्य अवस्था झनै गम्भीर वनेको परिवारको भनाइ छ । अवस्था जटिल बनेपछि उनलाई अन्ततः लुम्बिनी सिटी अस्पताल पु¥याइएको थियो ।
तर अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । मृतक गीताका श्रीमान प्रकाशले मृतकका परिवारले उपचारमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही हुनुपर्ने माग गरेका छन् । अव बुटवलमा हुने अवैध गर्भपतन असुरक्षित बन्दै गएकोले यो संयन्त्रको जालो तोडिनुपर्दछ ।
इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी समेत परेकोले अव यो घटनाको निष्पक्ष छानविन होस् । घटनामा संलग्न भनिएका दुई चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीनजना स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।
साथै यो घटनाको मेडिकल काउन्सिलले अनुसन्धान गर्ने भएको छ । तसर्थ अव थप अनुसन्धान गरी पीडित परिवारलाई न्याय दिलाउने काम होस् । बुुटवलमा पहिलेदेखि नै फैलिएको असुरक्षित र अबैध गर्भपतनको जालो तोडियोस् । भोली अरू कोही गर्भवती महिलाले चिकित्सकको लापरवाहीले ज्यान गुमाएको सुन्न नपरोस् ।