© 2026
‘हाम्रो शक्ति हाम्रो पृथ्वी’ भन्ने नाराका साथ यो वर्षको विश्व पृथ्वी दिवस आज मनाईदैछ । पृथ्वी दिवसकै अवसरमा प्लास्टिक नियन्त्रणको अभियान समेत सुरु गरिँदै छ । निश्चित रूपमा पृथ्वी हाम्रो शक्ति हो ।
यही शक्तिमा नै सारा ब्रह्माण्ड अडिएको छ । तसर्थ पृथ्वीलाई बचाउनु पर्ने हाम्रो दायित्व पनि हो । विश्व पृथ्वी दिवसकै अवसरमा पृथ्वीले वास्तवमै सुरक्षा खोजिरहेको महसुस गरिएको छ ।
यदि पृथ्वी जोगाउने हो भने मूख्यरूपमा नवीकरणीय ऊर्जा र जलवायु परिवर्तनलाई आत्मसाथ गर्नु आवश्यक हुनेछ । हरेक वर्ष अप्रिल २२ को दिनमा यो दिवस मनाउने गरिएको छ । यो दिवस केवल औपचारिकताकै लागि होइन, आज विश्वको लागि सर्वाधिक चासो र चिन्ताको कुरा पनि हो ।
किनकी विश्व जलबायु परिवर्तनको सिधा असर पृथ्वीमाथि परेको छ । हरेक वर्ष गर्मी बढिरहेको छ । पृथ्वी तात्नेक्रम हरेक वर्ष बढ्ने हो भने एक दिन मानवको अस्तित्व समेत समाप्त हुने खतरा देखिएको छ ।
पृथ्वीमाथि अनेकखाले अतिक्रमण बढिरहेको छ । त्यसकारण पृथ्वीले सुरक्षा पनि खोजिरहेको छ । अत यो दिवसकै अवसरमा हामी सवैले पृथ्वी जोगाउन सहकार्य गर्नुपर्ने आवश्यकता छ ।
इतिहासकै सन्दर्भको कुरा गर्दा सन् १९७० को अप्रिल २२ तारिखमा अमेरिकी सिनेटर जेराल्ड नेल्सनको अगुवाइमा पर्यावरण शिक्षा कार्यक्रमका रूपमा पहिलोपटक यो दिवस मनाईएको थियो ।
सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी सम्मेलनले पृथ्वी दिवसको आवश्यकतालाई अझ बोध गर्दै सन् २००९ मा राष्ट्र संघको ६३ औँ महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यसयता हरेक वर्ष यो दिवस मनाईदै आईएको छ ।
विश्वले यो दिवसलाई अन्तर्राष्ट्रिय आमा दिवस पनि भनेर सम्बोधन गर्ने गरेको छ । दिवसकै अवसरमा बढ्दो तापमान वृद्धि नियन्त्रण गर्ने र वातावरणलाई कसरी क्षति हुनबाट जोगाउन सकिन्छ भन्ने बिषयमा गंभीर बहस र मनन गर्ने बेला भएको छ । हामीले अव पृथ्वीको दोहन र शोषण होइन, यसको संरक्षणमा ध्यान केन्द्रित गर्नुपर्ने बेला आएको छ ।
विश्वले सकेसम्म दिगो र पर्यावरणमैत्री जीवन जिउनेतर्फ ध्यान दिनु जरुरी छ । बढ्दो तापमान चुनौतिको विषय वनिरहँदा पृथ्वीको सुरक्षा गरेरै विश्वलाई सुरक्षित राख्नुपर्ने जिम्मेवारी थपिएको छ ।
त्यसका लागि औद्योगिक उत्पादनमा प्रयोग गर्ने कार्बन तथा पर्याबरण संरक्षणको सवैभन्दा प्रभावकारी माध्यम रुख रोपेर सुरक्षित उपायको खोजी गर्न सकिन्छ । पछिल्लोसमय पृथ्वीमा बढ्दो जनसंख्या, अव्यवस्थित शहरीकरण र तिव्र औद्योगिकरणले अनेक समस्या निम्ताएको छ ।
यिनै समस्याहरूको न्यूनिकरण गर्न र यसबारे जागरण ल्याउन पृथ्वी दिवसको सार्थकता रहन्छ । कम्तिमा यो दिवसले पृथ्वीलाई बचाउनुपर्छ भन्ने सन्देश दिने गरेको छ । यो महत्वपूर्ण कुरा हो ।
पृथ्वी सुरक्षित राख्ने हो भने अव विश्वले कत्तिपनि ढिलाई नगरि तापमान बृद्धिलाई नियन्त्रणमा राख्नेतर्फ ध्यान दिनैपर्दछ । त्यसका लागि ठूला औद्योगिक राष्ट्रले कार्बनमा कटौती गर्नेतर्फ ध्यान दिनु जरुरी छ ।
वातावरण प्रदुषण नियन्त्रण, बृक्षारोपण अर्को उपाय हुन सक्छ । पृथ्वीलाई भार पर्ने काम गर्दा आज अनेकथरी समस्या निम्तिएको छ । भूकम्प, अतिबृष्टि, अनाबृष्टि, खडेरी, सामुद्रिक उछाल यावत समस्याले चुनौती थपिएको छ ।
अर्को चुनौती के हो भने पृथ्वी हरेक वर्ष शून्य दशमलव १८ डिग्री सेन्टिग्रेडका दरले पृथ्वीको तापक्रममा वृद्धि भइरहेको छ । यसैको फलस्वरूप पृथ्वीको उत्तरी ध्रुवमा अवस्थित बरफका चुचुरा हिमालहरू पग्लिँदै गएको अवस्था छ ।
पृथ्वीमाथिको बढ्दो भार र अतिक्रमणले पृथ्वी असुरक्षित हुने चिन्ता बढ्दै गएको बेला नेपालले पनि पृथ्वीको सुरक्षामा चिन्तामात्रै होइन, कार्ययोजना बनाएर अघि बढ्नु जरुरी छ ।