© 2026
कतार ।
कतारदेखि गृह जिल्ला पाल्पासम्म सामाजिक कार्यमा सक्रिय रहँदै आफ्नो भाषा, कला, संस्कृति र सामाजिक एकतालाई जीवन्त राख्दै आएको पाल्पाली सेवा समाज कतारले नयाँ वर्ष २०८३ सालको पावन अवसरमा शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
समाजले दोहास्थित गोर्खाली रेस्टुरेन्टमा एक कार्यक्रम आयोजना गर्दै “शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम” सम्पन्न गरेको हो । नयाँ वर्षको अवसरमा सहभागीहरूबीच आत्मीय शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव, सहकार्य, भाइचारा र एकताको सन्देश प्रवाह गरिएको थियो । प्रवासको व्यस्त जीवनशैलीबीच यस्तो जमघटले सबैलाई भावनात्मक रूपमा नजिक बनाएको भन्दै कार्यक्रममा सहभागीहरूले प्रशंसा गरेका थिए ।
संस्थालाई निरन्तर माया गर्दै यसको उन्नति, प्रगति र सशक्त यात्राका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा अमूल्य योगदान पुर्याउने सम्झना गुरुङ, बिनिता गुरुङ तथा संस्थापक सदस्यहरू हेम बगाले, पृथ्वी थापा मगर र दल बहादुर बुढाथोकीलाई विशेष सम्मान गरिएको थियो । साथै, संस्थामा आबद्ध रहेका सल्लाहकारहरूलाई समेत प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो ।
समाजका अध्यक्ष विकास गैरेले सम्मानित भएका सबै अग्रजहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत संस्थाको मजबुती र विस्तारमा थप साथ, सल्लाह र सुझाव दिन आग्रह गरे । उनले समाजलाई अझ सक्रिय, प्रभावकारी र सशक्त बनाउने लक्ष्यसहित प्रत्येक तीन महिनामा व्यक्तित्व विकास केन्द्रित स्टेज कार्यक्रम सञ्चालन गरिने बताए । गैरेले यस्ता कार्यक्रमले समाजमा आबद्ध सदस्यहरूको आत्मविश्वास अभिवृद्धि, नेतृत्व क्षमता विकास, सार्वजनिक प्रस्तुतीकरण सीप वृद्धि तथा सामाजिक सम्बन्ध अझ सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
समाजका संरक्षक महल केसीले पाल्पाली सेवा समाजले सामाजिक एकता, आपसी सद्भाव, प्रतिभा विकास तथा प्रवासी नेपाली समुदायलाई संगठित बनाउन खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी, रचनात्मक र प्रेरणादायी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा समाजका पदाधिकारी,शुभेच्छुक,समाजसेवी, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूका साथै कतारमा रहेका पाल्पालीहरूको सहभागिता रहेको थियो ।