Butwal Today

एमालेमा नेतृत्व संकट: ओलीविरुद्ध पौडेल–पोखरेल एकै मोर्चामा

१ बैशाख २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)भित्र अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने विषयमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल एकै ठाउँमा उभिएको नेताहरूले बताएका छन्।

ओलीका निकट विश्वासपात्र मानिने पोखरेललाई ११औँ महाधिवेशनमा स्वयं ओलीले महासचिव बनाएका थिए। त्यस्तै, उपाध्यक्ष पौडेल पनि लामो समयदेखि ओलीका विश्वासिला सहयात्रीका रूपमा चिनिँदै आएका छन्। तर पछिल्ला निर्णयहरूले पार्टी संकटमा परेको निष्कर्षसहित उनीहरू अब ओलीको नेतृत्वमा अगाडि बढ्न नसकिने धारणा बनाउन पुगेको स्रोतको दाबी छ।

‘अब केपी कमरेडबाट एमाले चल्दैन भन्नेमा उहाँहरू स्पष्ट हुनुहुन्छ,’ एक नेताले भने, ‘त्यसैले नेतृत्व परिवर्तनका लागि भित्री रूपमा मोर्चाबन्दी सुरु भएको छ।’

चुनावी हारपछि बढ्यो दबाब

जेनजी आन्दोलनपछि भएको चुनावमा एमालेले अप्रत्याशित पराजय भोगेपछि ओलीको नेतृत्वमाथि प्रश्न उठ्न थालेको थियो। नेताहरूले उनको नीतिलाई अस्वीकृत भएको भन्दै राजीनामाको माग गरे पनि ओली त्यसका लागि तयार भएनन्। यसबीच, गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा ओली पक्राउ परेपछि पार्टीले कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापा बादललाई दिएको छ। संसदीय दलको नेतासमेत बादललाई बनाइएपछि असन्तुष्टि थप चुलिएको छ।

नेतृत्व फेर्ने पक्षमा नेताहरू

एमालेभित्र नेतृत्व परिवर्तनको पक्षमा विष्णु पौडेल, गोकर्ण विष्ट, रघुजी पन्त, शंकर पोखरेल र योगेश भट्टराईलगायत नेताहरू सक्रिय रहेको बताइन्छ। तीमध्ये विशेषगरी पौडेल र पोखरेलबीचको सहकार्य निर्णायक बन्न सक्ने आकलन गरिएको छ।एमालेका केन्द्रीय सदस्य समीक बडालका अनुसार यी दुई नेताको एकताले पार्टीलाई फेरि एकढिक्का बनाउन सक्छ। ‘उहाँहरू मिल्दा पार्टी बलियो हुन्छ,’ उनले भने, ‘नेतृत्वबारे उठेका प्रश्नलाई समाधान गर्दै अघि बढ्ने सम्भावना बढ्छ।’

विशेष महाधिवेशनको माग

पार्टीभित्र नेतृत्व परिवर्तनका लागि विशेष महाधिवेशनको माग पनि उठ्न थालेको छ। युवा नेता कमल जोशीको नेतृत्वमा हस्ताक्षर अभियान चलिरहेको छ, जसमा करिब ६ सय प्रतिनिधिले हस्ताक्षर गरिसकेको दाबी गरिएको छ।पार्टी कार्यालय च्यासलमा भएको भेटमा पौडेलले ‘बैठक बस्ने बित्तिकै ओलीलाई राजीनामा दिन खुला रूपमा भन्ने’ संकेत दिएको जोशीले बताएका छन्। साथै, चुनावी हारको समीक्षा गर्दै आवश्यक परे नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा पनि राखिएको छ।

बादलप्रति ओलीको झुकावले असन्तुष्टि

तर, पार्टी कार्यालयका सचिव डा. भिष्म अधिकारीले भने ओलीलाई हटाउने कुरा अव्यावहारिक भएको बताएका छन्। ‘महाधिवेशनले चुनेको अध्यक्षलाई यसरी हटाउन मिल्दैन,’ उनले भने, ‘विधानअनुसार प्रक्रिया हुनुपर्छ।’ ओलीले रामबहादुर थापा बादललाई कार्यवाहक अध्यक्ष र संसदीय दलको नेता बनाएको विषयले पनि विवाद बढाएको छ।बादलले सार्वजनिक कार्यक्रममा ‘पार्टीभित्र र बाहिरका दुश्मनहरू एक्स्पोज भएको’ अभिव्यक्ति दिएपछि उपाध्यक्ष विष्णु पौडेलले त्यसलाई व्यक्तिगत धारणा भन्दै असहमति जनाएका थिए।

एमालेभित्र अहिले नेतृत्वको विषयमा गम्भीर बहस सुरु भएको छ। अध्यक्ष ओलीको विकल्प खोज्ने प्रयास तीव्र बन्दै जाँदा पार्टीभित्र शक्ति सन्तुलन फेरिने संकेत देखिएको छ। आगामी दिनमा विशेष महाधिवेशन वा आन्तरिक सहमतिबाट नेतृत्व परिवर्तन हुने सम्भावना बलियो बन्दै गएको विश्लेषण गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?