Butwal Today

हर्ष र उमङ्गको वर्ष बनोस् नयाँ वर्ष

१ बैशाख २०८३, मंगलवार
अ+
अ-

नयाँ बिहानीसँगै नयाँ वर्ष २०८३ को ढोका खुलेको छ । अर्थात् आजदेखि नयाँ वर्षको सुरुवात भएको छ । नयाँ वर्षले हर्ष र उमङ्ग लिएर आउने अपेक्षा आम नेपालीले गरेका छन् ।

२०८२ को बिदाइसँगै नयाँ वर्षको आगमनमा हामी सबै नेपालीजनमा खुसी र रौनक सुरु हुनु स्वाभाविक छ । नयाँ बर्षकै अवसरमा खुसी साटासाट गर्ने र एक अर्कोलाई शुभकामना दिने परम्परा छ ।

आशा गरौं– नयाँ वर्ष शान्ति र सम्मृद्धिको वर्ष हुनेछ । नयाँ वर्ष प्रवेशको अवसरमा पुरानो वर्षको समीक्षा पनि गर्नुपर्दछ । पुरानो वर्षबाट शिक्षा लिँदै नयाँ वर्षलाई अझै उन्नत र सुखद बनाउनुपर्दछ ।

त्यसैपनि नयाँ वर्ष विगतको भन्दा धेरै हिसावले पृथक रहोस् भन्ने हामी सबै नेपालीको चाहना छ । यद्यपि समिक्षाकै हिसावमा भन्दा पुरानो वर्ष नेपालको राजनैतिक इतिहासमा उतारचढावको वर्ष बन्यो भन्दा अत्युक्ति हुँदैन । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले नेपालको राजनीति उलटपुलट गरिदियो ।

२००७ सालको प्रजातन्त्रदेखि २०६२÷०६३ सालसम्मको राजनैतिक इतिहासका साक्षी बनेका कांग्रेस, एमाले र माओवादी जनताबाट रुचाईएनन् । फलत तीन वर्ष स्थापना भएको नयाँ दल रास्वपा सत्तामा आयो ।

जेहोस पुराना दललाई सच्चिने र नयाँ दललाई काम नगरे पुरानै दलको हैसियतमा झारिदिने सबक जनताले सिकाएका छन् । तसर्थ अव नयाँ वर्ष निर्वाचनमार्फत जनताले दिएको जनादेश कार्यान्वयन गर्ने वर्ष बनोस् ।

नयाँ वर्ष केवल राजनीति र देश सुधारको बर्षमात्रै होइन, पारिवारिक जमघट, नयाँ जीवन, नयाँ सोच र नयाँ संकल्प गर्ने वर्ष बनोस् । चिया पसलदेखि लिएर सार्वजनिक स्थल अनि सामाजिक सञ्जालसम्म नागरिकलाई देशको चिन्ता छ ।

आशा गरौं नयाँ वर्षले ती चिन्ता समाप्त गरोस् । नयाँ वर्ष मनाउँदै गर्दा केही अफसोच पनि छ । त्यो के भने नयाँ बर्षमा नेपाली जनताले महँगीको मार खेप्नुपर्नेछ । त्यसबाट जनतामा निराशा उत्पन्न हुने अवस्था नआउला भन्न सकिदैन् ।

नयाँ बर्षमा खाद्य संकटको अवस्था आउने नै छ । पेट्रोलियमको भाउले आकास चुमेको छ । अझै आकास छुने अवस्था आउँदैछ । नेपालको आर्थिक अवस्था झनै कमजोर हुने हो कि भन्ने चिन्ता छ । त्यसबीच पनि नयाँ वर्ष राजनैतिक स्थीरताको वर्ष बनोस् भन्ने नेपालीको कामना हो । देशमा आन्तरिक कलह बढ्दै जाने संकेत पनि देखिएको छ ।

हरेक बस्तुमा हुने मूल्यबृद्धिले नेपाली जनतालाई पीडा दिने अवस्था छ । समग्रमा भन्दा गास, बास र कपासको पीडा अन्त्यको वर्ष नयाँ वर्ष बन्नुपर्दछ । पुरानो बर्षमा आम निर्वाचनमार्फत नेपालमा नयाँ सरकार गठन भएको छ । नयाँ सरकारले आम नेपाली जनतामा आशाको सञ्चार गरोस भन्ने आम नेपालीको चाहना हो । तर, सरकारका काम लोकतन्त्र सम्मत छैनन् ।

नेपालमा लोकतान्त्रिक गणतन्त्र ल्याउन योगदान गर्ने संचार क्षेत्रको घाँटी निमोठ्ने काम सरकारले सुरु गरेको छ । प्रधानमन्त्रीमा युवा बालेन्द्र शाहको आरोहण भएको छ । नयाँ सरकारबाट जनताले धेरै आशा राखेका छन् । तर, द्वेष र प्रतिशोधको राजनीति नयाँ सरकारले सुरु गरेकोले बालेन सरकार आलोचित हुने अवस्था छ ।

अमेरिका र इरान युद्धले तेलको मूल्य मात्रै बढाएको छैन, विश्व आर्थिक मन्दीको असरबाट नेपाल पनि अछुतो रहने अवस्था छैन् । आशा गरौं नयाँ वर्ष २०८३ नेपालका लागि ऐतिहासिक र महत्त्वपूर्ण बर्षका रूपमा नेपालको इतिहासमा लेखिने छ । निश्चितरूपमा संभावनाहरूको अवसर र ढोका कहिल्यै पनि वन्द हुँदैन ।

हरेक क्षेत्रमा आशाको संचार हुन्छ । त्यही अनुरूप केही निरासा र धेरै आशाका बीचमा नयाँ बिहानी नयाँ वर्षको रूपमा प्रवेश गरेको छ । अव यो बिहानीलाई निरासामा डुब्न नदिने गरि हामी सवैले काम आरम्भ गर्नुपर्ने छ ।

नयाँ वर्षको मुना पलाएको छ र आशा गरौं यसले हुर्कने, मौलाउने र फक्रने मौका पाउनेछ । नयाँ वर्ष यहीरूपमा अघि बढोस् । नयाँ वर्ष शान्ति, सम्मृद्धि र स्थीरताको वर्ष बनोस् । फेरीपनि सबै नेपालीहरूमा नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?