Butwal Today

करहिया वन पार्क: कङ्क्रिटको सहरबिच ‘हरियाली’ उपहार

२९ चैत्र २०८२, आइतबार
अ+
अ-

बुटवल  । सहरको चर्को धुलो, भीडभाड र कोलाहलबाट केही क्षण टाढा पुगेर हरियालीमा शान्ति खोज्ने चाहना धेरैको हुन्छ ।

यही चाहनालाई सम्बोधन गर्ने उद्देश्यले तिलोत्तमा नगरपालिका–८, प्रदीपनगरस्थित करहिया सामुदायिक वनमा एउटा आकर्षक पर्यटकीय पार्क निर्माण भैरहेको छ, जसले अब केवल वनको पहिचान मात्रै होइन, स्थानीय जीवनशैली र अर्थतन्त्रलाई समेत नयाँ दिशा दिने अपेक्षा गरिएको छ ।

२०७९ सालदेखि सुरु भएको पार्क निर्माणले अहिले बिस्तारै आकार लिँदै छ । वन समितिको कार्यालयसँगै रहेको खुला क्षेत्रलाई हरियाली उद्यानमा रूपान्तरण गर्ने सोचसहित अघि बढाइएको यो परियोजना चार करोड रुपियाँ लागतको गुरुयोजनामा आधारित छ । यद्यपि, हालसम्म करिब एक करोड रुपियाँ खर्च भइसकेको छ, जसले प्रारम्भिक संरचना र सौन्दर्यीकरणलाई गति दिएको छ ।

वन समिति, तिलोत्तमा नगरपालिका र डिभिजन वन कार्यालयको संयुक्त सहकार्यमा अघि बढेको यो योजना केवल पूर्वाधार निर्माणमा मात्र सीमित छैन ।

यसको मूल उद्देश्य पर्यापर्यटन प्रवर्द्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नु हो । “वनलाई संरक्षणसँगै सदुपयोग गर्ने हाम्रो प्रयास हो,” वन समितिका अध्यक्ष हरिलाल पाण्डे भन्छन्, “यो पार्कले प्रकृति प्रेमीका लागि नयाँ गन्तव्य दिनेछ ।”

पार्कमा प्रवेश गर्दा हरियाली बगैँचाले स्वागत गर्नेछ । बालबालिकाका लागि खेल सामग्री, विश्रामका लागि शान्त वातावरण, पदमार्ग हुँदै वनभित्रको रमणीय दृश्य अवलोकन गर्न सकिने व्यवस्था क्रमशः निर्माण भइरहेका छन् ।

कङ्क्रिट संरचनाको सट्टा काठजस्ता प्राकृतिक सामग्री प्रयोग गरेर वातावरणमैत्री बनाउने योजना विशेष आकर्षणको रूपमा हेरिएको छ ।

निर्माण समिति संयोजक बाबुराम खरेलका अनुसार, “यो केवल सुरुवात हो । भविष्यमा क्षेत्र विस्तार गर्दै थप आकर्षक संरचना निर्माण गर्ने लक्ष्य छ ।” पार्कमा बुद्धको मूर्ति, वाटर फाउन्टेनजस्ता संरचनाहरू अझै निर्माण हुन बाँकी छन्, जसले यसको सौन्दर्यलाई थप उचाइ दिने अपेक्षा गरिएको छ ।

पार्कको छेउमै पिकनिक स्पट र सभा हल निर्माण भइसकेको छ, जसले पारिवारिक जमघटदेखि सामुदायिक कार्यक्रमसम्मका गतिविधि सञ्चालन गर्न सहज बनाउनेछ । यसले स्थानीय बासिन्दालाई मात्र होइन, बाहिरबाट आउने पर्यटकलाई समेत आकर्षित गर्ने विश्वास लिइएको छ ।

स्थानीय बासिन्दाहरूका लागि यो पार्क केवल घुमफिरको स्थान मात्र होइन, एउटा आशा पनि हो । सहरोन्मुख ग्रामीण क्षेत्रमा यस्तो हरियाली स्थल निर्माण हुँदा मानिसहरूलाई प्रकृतिसँग नजिक हुने अवसर मिलेको उनीहरूको भनाइ छ ।

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले सामुदायिक वनमा पार्क निर्माण गर्ने सरकारको अवधारणाअनुसार करहिया वनले अघि बढाएको पहल सकारात्मक भएको बताउँछन् । “वनलाई वैज्ञानिक ढङ्गले उपयोग गर्दै पर्यावरण नबिग्रने गरी पर्यटन विकास गर्नु अहिलेको आवश्यकता हो,” उनी भन्छन् । उनका अनुसार यस्ता पूर्वाधारले स्थानीय स्तरमा आयआर्जनका नयाँ ढोका खोल्नेछन् ।

वडाध्यक्ष कृष्णप्रसाद पौडेल पनि पार्कले गाउँको पहिचान बढाउने विश्वास व्यक्त गर्छन् । “पर्यावरण संरक्षणसँगै पर्यटन विकासको राम्रो सम्भावना छ,” उनी भन्छन्, “यसले स्थानीयलाई आर्थिक रूपमा पनि सशक्त बनाउनेछ ।”

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–देवदह खण्डको फायरलाइनबाट करिब तीन किलोमिटर दक्षिण र मणिग्राम–देवदह मार्गको शिवपुरबाट एक किलोमिटर उत्तरमा अवस्थित यो पार्क सहज पहुँचका कारण पनि महत्त्वपूर्ण मानिएको छ ।

पार्कको डिजाइन पुष्प व्यवसायी रमेश पाण्डेले गरिरहेका छन्, जसले यसलाई रुपन्देहीकै नमुना गन्तव्य बनाउने लक्ष्य लिएका छन् ।

करहिया सामुदायिक वनमा निर्माणाधीन यो पार्क केवल एक पूर्वाधार परियोजना मात्र नभएको पाण्डेको भनाइ छ । “यो प्रकृति, पर्यटन र स्थानीय विकासबिचको समन्वयको प्रयास हो । यदि योजनाअनुसार काम अघि बढ्दै गयो भने केही वर्षमै यो क्षेत्र हरियालीको काखमा बसेको एक आकर्षक पर्यटन केन्द्रका रूपमा स्थापित हुनसक्छ”–उनी भन्छन् ।

तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोग र सामुदायिक वनको आन्तरिक कोषबाट पार्क निर्माण कार्य अगाडि बढाइएको सामुदायिक वनका उपाध्यक्ष बाबुराम खरेल बताउँछन् ।

यो पार्कका लागि तिलोत्तमा नगरपालिकाले अहिलेसम्म २५ लाख रुपियाँ लगानी गरेको छ । सुरुको वर्ष ७ लाख लगानी गरेको नगरपालिकाले गत वर्ष १० लाख रुपियाँ लगानी गरेको थियो भने यस वर्ष ८ लाख रुपियाँ लगानी गरेको छ ।

सामुदायिक वनका अध्यक्ष हरिलाल पाण्डेका अनुसार नगरपालिकाले यस वर्ष छुट्टाएको ८ लाख बजेटबाट ब्लक लगाएर सडक निर्माण गरिएको छ । सामुदायिक वनको गेटदेखि सभा हल र त्यहाँदेखि डेढसय स्क्वायर मिटर पश्चिमसम्म सडक निर्माण गरिएको पाण्डेको भनाइ छ ।

वि.सं. २०४६ सालदेखि संरक्षण सुरु भई २०५४ पुसमा उपभोक्तालाई हस्तान्तरण गरिएको करहिया सामुदायिक वनको क्षेत्रफल २६९ हेक्टर रहेको छ । यो वन क्षेत्रमा ३ हजार २ सय ८५ घरधुरी र १८ हजार २ सय ८८ उपभोक्ता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?