Butwal Today

कम्युनिष्ट आन्दोलनलाई पुनःगठित गरेर अगाडि बढ्छौँ : महासचिव पोखरेल

२८ चैत्र २०८२, शनिबार
अ+
अ-

काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले कम्युनिष्ट आन्दोलनलाई पुनःजागृत र पुर्नगठित गरेर अगाडि बढ्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा सम्पर्क विशेष सङ्गठन कमिटीले आज आयोजना गरेको कार्यक्रममा उहाँले जनताको बहुदलीय जनवादका माध्यमबाट आजका चुनौती सामाना गर्दै अगाडि बढ्ने बताए ।

महासचिव पोखरेलले भने,“हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ । सत्ता र केन्द्रमुखी भएर जनताबीचमा पुग्न नसक्दा कम्युनिष्ट आन्दोलन पछाडि परेकाले अबको पाँच वर्ष प्रतिपक्षमा रहेर जनतासँग जोडिने छौँ ।”

उनले यसपटक पार्टीको पराजय भए पनि अब मुलुकको बलियो र निर्णायक शक्तिका रूपमा स्थापित गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए । “विसं २०६४ को संविधानसभामा यस्तै प्रकारको पराजय भोगेका थियौँ । यसपटक पनि त्यस्तै अवस्था आयो, तर यो पराजयबाट निराश नभई शक्ति सञ्चय गर्र्दै फेरि आउने चुनावमा यो अवस्था बदल्छौँ”, महासचिव पोखरेलको भनाइ थियो ।

पार्टी सचिव पद्मा अर्यालले फेरि जनतासँग जोडेर पार्टीलाई माथि उठाइने बताए । सम्पर्क विशेष सङ्गठन कमिटीका अध्यक्ष अशोक ठकुरीले पार्टीलाई फेरि एकीकृत गरेर लैजान विशेष भूमिका निर्बाह गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?