Butwal Today

निर्माण कार्यमा सहजीकरण नभए आन्दोलन गर्ने व्यवसायीको चेतावनी

२७ चैत्र २०८२, शुक्रबार
अ+
अ-

गुल्मी ।

निर्माण क्षेत्रमा भएको असामान्य मूल्यवृद्धिका कारण लागत ३० देखि ३६ प्रतिशतसम्म बढेको भन्दै निर्माण व्यवसायीहरूले तत्काल सहजीकरणको माग गरेका छन् ।

नेपाल निर्माण उद्योग परिषद जिल्ला कार्य समिति गुल्मीका अध्यक्ष धनिश्वर गौतमद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा पेट्रोलियम पदार्थ, बिटुमिन, सिमेन्ट, फलामजन्य सामग्री, ढुवानी तथा मजदुरीमा निरन्तर मूल्यवृद्धि भएको उल्लेख गर्दै यसले विकास निर्माणका अधिकांश आयोजना प्रभावित बनेको जनाइएको छ ।

विज्ञप्तिमा यस्तो अवस्था कुनै एक आयोजना वा व्यवसायीसम्म सीमित नभई देशव्यापी समस्या बनेको उल्लेख गरिएको छ । मूल्यवृद्धि, आपूर्ति अस्थिरता तथा बाह्य कारणहरूले निर्माण कार्यको प्रगतिमा प्रत्यक्ष असर परेको जनाइएको छ ।

यसैबीच, निर्माण व्यवसायीमाथि विभिन्न निकायबाट अनावश्यक प्रशासनिक दबाब, बारम्बार स्पष्टीकरण माग तथा ताकेता गरिँदै आएकोप्रति परिषद्ले गम्भीर ध्यानाकर्षण जनाएको छ । निर्णय प्रक्रियामा पारदर्शिता र निष्पक्षता कायम हुनुपर्नेमा अनौपचारिक तथा अनैतिक अपेक्षाका संकेत देखिएको उल्लेख गरिएको छ ।

परिषद्ले हाल देखिएको मूल्यवृद्धिलाई ‘प्राइस एस्केलेसन’ का रूपमा सम्बोधन गर्न, वर्तमान अवस्थालाई ‘फोर्स माज्योर’ वा ‘एक्सेप्सनल कन्डिसन’ को मान्यता दिन, निर्माण व्यवसायीमाथिको दबाब अन्त्य गर्न तथा सम्पूर्ण प्रक्रिया पारदर्शी बनाउन माग गरेको छ ।

यदि यथार्थ अवस्थालाई बेवास्ता गरी तत्काल सहजीकरण नगरिए निर्माण कार्य थप प्रभावित हुने, राष्ट्रिय विकास प्रक्रियामा अवरोध सिर्जना हुने र थप औपचारिक कदम चाल्न बाध्य हुने परिषद्ले चेतावनी समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?