Butwal Today

गौतमबुद्ध विमानस्थलमा हवाई दुर्घटना प्रतिकार्य पूर्वाभ्यास सम्पन्न

२७ चैत्र २०८२, शुक्रबार
अ+
अ-

भैरहवा ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सम्भावित हवाई दुर्घटनापछि गरिने उद्धार तथा प्रतिकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले बृहत् संकटकालीन पूर्वाभ्यास सम्पन्न गरिएको छ ।

विमानस्थलका महाप्रबन्धक श्याम किशोर साह ले यदाकदा हुन सक्ने दुर्घटनाबाट हुने जनधनको क्षतिलाई न्यूनिकरण गर्न र उद्धारमा संलग्न निकायहरुको दक्षता अभिवृद्धि गर्ने लक्ष्यसहित उक्त अभ्यास गरिएको जानकारी दिए ।

पूर्वाभ्यासअन्तर्गत दुर्घटना भएको अवस्थामा उद्धार कार्य कति छिटो र प्रभावकारी रुपमा सञ्चालन गर्न सकिन्छ भन्ने परीक्षण गरिएको थियो । साथै, मानवीय तथा आर्थिक क्षति न्यूनीकरण गर्ने उपायहरुको अभ्यास गर्नुका साथै कुनै दुर्घटना भए पनि विमानस्थललाई छोटो समयमै पुनः सञ्चालनमा ल्याउने क्षमताको विकासमा जोड दिइएको थियो ।

महाप्रबन्धक साहका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसार तीन प्रकारका अभ्यास सञ्चालन गरिन्छन् । ‘फुल स्केल एक्सरसाइज’ अन्तर्गत जहाज दुर्घटना, घाइते तथा मृतकसमेत भएको यथार्थपरक अवस्था सिर्जना गरी उद्धार र उपचारको पूर्ण अभ्यास गरिन्छ भने ‘पार्शियल एक्सरसाइज’ मा बम धम्की जस्ता विशेष घटनामा केन्द्रित आंशिक अभ्यास गरिन्छ । ‘टेबल टप एक्सरसाइज’ मार्फत सहभागी निकायबीच सञ्चार र समन्वय सुदृढ पार्न छलफल तथा योजनागत अभ्यास गरिन्छ ।

दुर्घटनाका बेला प्रभावकारी सञ्चारलाई प्रमुख आधार मानिएको छ । टावरबाट प्राप्त सूचना सुरक्षा निकाय, अग्नि निवारण, रेडक्रस तथा अस्पतालसम्म कसरी द्रुत रुपमा पुग्छ र त्यसअनुसार कसरी प्रतिकार्य हुन्छ भन्ने विषयमा सूक्ष्म परीक्षण गरिएको साहले जनाए ।

पूर्वाभ्यासमा विभिन्न निकायका प्रतिनिधिसँगै पर्यवेक्षकको सहभागिता रहेको थियो । उनीहरुले अभ्यासका क्रममा देखिएका कमजोरी औंल्याई ‘डी–ब्रिफिङ’ मार्फत सुधारका उपाय सुझाव दिएका थिए ।
यस्ता अभ्यासले विमानस्थल सुरक्षामा मात्र नभई विपद्का बेला सर्वसाधारण र सञ्चारकर्मीलाई समेत उद्धार तथा सूचना प्रवाहमा सहयोग पु¥याउन सचेतना अभिवृद्धि हुने साहको भनाई छ ।

अन्तराष्ट्रिय विमानस्थलमा यस्ता अभ्यास प्रत्येक २ वर्षमा गर्नुपर्ने प्रावधान रहेको विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतले बताए । जहाज दुर्घटना भएको अवस्थामा विमानस्थल संचालन र आपतकालीन उद्धारमा सरोकारवालाहरुको सक्रियतालाई व्यवहारिक रुपमै अभ्यास गर्न यस्तो अभ्यास गर्ने गरिएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड भित्र रहेर शुक्रबार बिहान सवा ८ बजे देखी साढे ९ बजेको बीचमा फायर फाइटर, सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका उद्धार टोली विमानस्थलमा एम्बुलेन्स तथा दमकलसमेत तयारी अवस्थामा राखी फुल स्केलको आपतकालिन अभ्यान गरिएको सूचना अधिकारी रावतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?