© 2026
प्रतिकूलता बीचपनि नेपाल आउने पर्यटकको बढ्दो सङ्ख्याले पर्यटन व्यवसायीमा केही भए पनि उत्साह सिर्जना गरेको छ । सन् २०२६ को मार्च महिनामा मात्रै १ लाख २० हजार ५१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो राम्रो सङ्केत हो ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मार्च महिनामा दक्षिण एसियाली र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य रूपमा वृद्धि देखिएको छ । तथ्याङ्क अनुसार मार्च २०२६ मा दक्षिण एसियाली (सार्क) मुलुकबाट मात्रै ४२ हजार ६६८ पर्यटक नेपाल आएका छन् ।
जुन कुल आगमनको करिब ३५.४ प्रतिशत हो । यसमध्ये भारतबाट सबैभन्दा धेरै २५ हजार ७२८ पर्यटक आएका छन् । श्रीलङ्काबाट १० हजार ७५९ र बङ्गलादेशबाट ४ हजार ६७६ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
भारतबाट आउने पर्यटकको उच्च सङ्ख्याले धार्मिक, सांस्कृतिक तथा छोटो अवधिको भ्रमण प्रवृत्ति अझै बलियो रहेको देखाउँछ । त्यस्तै, अन्य एसियाली मुलुकबाट आउने पर्यटकको सङ्ख्या पनि उत्साहजनक देखिएको छ ।
युरोपेली र अमेरिकी बजारबाट आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि नभए पनि स्थिर देखिएको छ । मध्य पूर्वमा जारी युद्धको प्रभावका कारण युरोप र अमेरिकाबाट पर्यटक आगमन वृद्धिमा असर परेको भए पनि अरू देशबाट आउने पर्यटक आगमनले उत्साहको वातावरण उत्पन्न भएको छ ।
थोरै बल ग¥यो भने निश्चित रूपमा नेपालको पर्यटन क्षेत्रले नेपालको कूल गार्हस्थ्य उत्पादनमा सुधारको सङ्केत देखाउँछ । यद्यपि एसियाली बजारको तुलनामा युरोप र अमेरिकाबाट आउने पर्यटकको सङ्ख्या कम भए पनि उच्च खर्च गर्ने पर्यटकको रूपमा उनीहरूको योगदान महत्त्वपूर्ण ठानिन्छ ।
मार्च–अप्रिललाई मौसम, ट्रेकिङ सिजन लगायतका कुराले आगमन वृद्धि हुने महिनाको रूपमा हेरिन्छ । विशेष गरी यो सिजनमा अरू महिनाको तुलनामा हिमाल आरोहण, ट्रेकिङ, साहसिक पर्यटन र सांस्कृतिक भ्रमणका लागि नेपाल आउने पर्यटकको सङ्ख्या बढ्ने गर्दछ । जेहोस नेपाल पर्यटकीय गन्तब्य वन्दै गएको छ ।
सरकारले पर्यटन क्षेत्रको विकासमा ध्यान दिने हो र प्याकेज सार्वजनिक गर्ने हो भने निश्चित रूपमा पर्यटन क्षेत्रले एकपटक फेरी सुधारको अवसर पाउने कुरामा कुनै दुविधा छैन ।
अव नेपाल आउने पर्यटकको बसाई अवधि लम्ब्याउने र विभिन्न आकर्षक प्याकेज योजनामार्फत उनीहरूले गर्ने खर्चमा बृद्धि गराउन सकिएको अवस्थामा निश्चित रूपमा पर्यटन क्षेत्रले एकपटक फेरी जुरुक्क माथि उठ्ने अवसर पाउने थियो ।
सरकारले मात्रै होइन अव पर्यटन व्यवसायीले पनि पर्यटकको बसाई अवधि कसरी लम्ब्याउन सकिएला ? भन्नेतर्फ ध्यान दिनु जरुरी छ । अव पर्यटक आगमनको सङ्ख्यामा बृद्धिसंगै रात बिताउने पर्यटकको खाँचो छ ।
अनिमात्र नेपालको पर्यटन व्यवसाय फस्टाउन सक्नेछ । नेपालमा पर्यटक आउने मुख्य आधार पदयात्रा, हिमाली दृश्यावलोकन, धार्मिक एवं सांस्कृतिक दर्शन आदि रहेका छन । यसबाहेक पनि पर्यटकहरू शैक्षिक, राजनीतिक, व्यावसायिक निर्माण, लगानी, जलयात्रा, उपचार, साहित्यिक जमघट आदि उद्देश्यले नेपाल आउँछन् ।
प्रत्येक वर्ष विभिन्न निकायले निकाल्ने सूचकांकमा नेपाल विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्यमा परिरहेको देखिन्छ । देशभित्र आन्तरिक द्वन्द्व समाप्त भएर शान्ति छाएको, स्थिर राजनीतिक अवस्था र सुरक्षाको प्रत्याभूति हुने हो भने लक्ष्य हासिल गर्न कठिन छैन । तर, त्यसका लागि भने सरकार र पर्यटन व्यवसायीले मिलेर काम गर्नु जरुरी छ ।
पर्यटक आकर्षित गर्ने मामिलामा अन्य राष्ट्रको तुलनामा नेपाल अघि नै देखिन्छ । यति हुँदाहुँदै पनि हाम्रा अगाडि रहेका चुनौतीलाई न्यून गर्ने मामिलामा चालिने कदमबारे हामी प्रस्ट हुन जरुरी छ । अव नेपालमा पर्यटक आगमन बृद्धि गर्ने हो भने पर्यटन व्यवसायीले पनि नयाँ नयाँ प्याकेज घोषणा गर्नु जरुरी छ । नेपालले पर्यटन क्षेत्रमा गर्नुपर्ने धेरै छ ।
यो अवस्थामा पनि नेपालमा बार्षिक २० लाख पर्यटक भित्राउन सकिन्छ तर त्यसका लागि ठोस योजना र प्रतिबद्धता जरुरी छ ।