© 2026
अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाको पालिकास्तरीय कक्षा ८ को परीक्षाले उल्टै पालिकालाई गिज्याएको छ ।
जिल्लाको भूमिकास्थान नगरपालिकामा कक्षा ८ को हालै सार्वजनिक नतिजाले शिक्षा क्षेत्रको वास्तविक अवस्था उजागर गरेको छ । नगरपालिकाभरिका विद्यालयहरूको समग्र तथ्याङ्क अनुसार ४५८ जना विद्यार्थीमध्ये मात्र ९४ जना उत्तीर्ण भएका छन् भने ३६४ जना अनुत्तीर्ण भएका छन् । यस आधारमा उत्तीर्ण प्रतिशत करिब २०.५२ मात्र देखिएको छ, जुन अत्यन्त कमजोर अवस्था हो ।
नगरपालिकाभित्र रहेका विद्यालयमा नतिजा निराशाजनक देखिएको छ । धेरै विद्यालयमा १० प्रतिशत भन्दा कम विद्यार्थी मात्र उत्तीर्ण भएका छन् भने केही विद्यालयमा एक जना पनि उत्तीर्ण हुन नसकेको अवस्था छ । यस्तो अवस्था शिक्षाको गुणस्तरप्रति गम्भीर प्रश्न उठाउने खालको छ ।
भूमिकास्थान नगरपालिकाले शिक्षा क्षेत्रमा वार्षिक रूपमा उल्लेख्य बजेट विनियोजन गर्दै आएको छ । विद्यालय भवन निर्माण, शैक्षिक सामग्री, शिक्षक व्यवस्थापन तथा विभिन्न कार्यक्रमहरूमा लगानी गरिएको छ । तर, यति धेरै लगानी हुँदाहुँदै पनि नतिजा सुधार हुन नसक्नुले “शिक्षामा गरिएको लगानी बालुवामा पानी जस्तै भइरहेको छ” भन्ने आलोचना बलियो बनेको छ ।
स्थानीयका अनुसार यस्तो कमजोर नतिजाका कारणहरूमा शिक्षकको उत्तरदायित्वको अभाव, नियमित अनुगमनमा कमजोरी, विद्यार्थीको सिकाइप्रति घट्दो ध्यान, अभिभावकले छोराछोरीको पढाइप्रति चासो नदिने तथा स्थानीय तहको प्रभावकारी योजना अभाव मुख्य रहेका छन् । नगरपालिकाले शिक्षा सुधारका लागि विभिन्न नीति ल्याए पनि कार्यान्वयन पक्ष फितलो देखिएको आरोप लागिरहेको छ ।
अब भूमिकास्थान नगरपालिकाका लागि शिक्षामा गरिएको लगानीको प्रतिफल देखाउने चुनौती स्पष्ट भएको छ । त्यसका लागि शिक्षकको कडाइका साथ मूल्याङ्कन, विद्यालयको प्रभावकारी अनुगमन, विद्यार्थी केन्द्रित सिकाइ वातावरण, अभिभावकसँग सहकार्य र परिणाममुखी योजना कार्यान्वयन अनिवार्य देखिन्छ ।
यथास्थिति कायम रहने हो भने भूमिकास्थान नगरपालिकाको शिक्षा क्षेत्र अझै कमजोर बन्दै जाने र लगानी निरन्तर ‘बालुवामा पानी’ साबित हुने खतरा बढ्दो छ ।