Butwal Today

जिल्ला प्रशासनका सुब्बा पक्राउ, रकम मागेको र चरित्र हत्या गरेको आरोप

२५ चैत्र २०८२, बुधबार
अ+
अ-

सल्यान ।

सेवाग्राहीसँग मुद्दा मिलाइदिने नाममा रकम मागेको, नक्कली च्याट बनाएर व्यक्तिको चरित्रहत्या गरेको आरोप लागेका जिल्ला प्रशासन कार्यालय सल्यानमा कार्यरत नायव सुब्बा निरज परियारलाई प्रहरीले पक्राउ गरेको छ । सल्यान जिल्ला अदालतले अनुसन्धानका लागि उनलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

प्रहरीका अनुसार परियारमाथि सेवाग्राहीलाई प्रभावमा पार्दै रकमको बार्गेनिङ गर्ने र सामाजिक सञ्जाल प्रयोग गरी व्यक्तिविरुद्ध गलत सामग्री तयार पार्ने जस्ता गम्भीर आरोप लागेका छन् । उजुरीका आधारमा उनीमाथि साइबर अपराध अन्तर्गत अनुसन्धान अघि बढाइएको छ । सामाजिक सञ्जालमा सार्वजनिक एक अडियोमा “एक लाख २० हजार रुपैयाँ दिएमा मुद्दा मिल्ने” भन्ने आशयको संवाद बाहिरिएको छ । यद्यपि, उक्त अडियोमा संलग्न व्यक्तिको आधिकारिक पुष्टि भने हुन बाँकी छ ।

यसअघि जेनजी सल्यानका संयोजक युवराज खड्काले पनि आफूलाई फसाउन नक्कली च्याट बनाइएको र सेवाग्राहीमार्फत रकम असुलिएको आरोप सार्वजनिक गरेका थिए । सोही विषयमा अन्य व्यक्तिहरूले पनि उजुरी दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले घटनाबारे अनुसन्धान भइरहेको जनाउँदै प्रमाणका आधारमा दोषी ठहरिने जोकोहीलाई कानुनी दायरामा ल्याइने बताएका छन् । साथै आधारहीन आरोपसमेत दण्डनीय हुने भन्दै उनले तथ्य स्थापित गरेर मात्र निष्कर्षमा पुगिने बताए । हाल पक्राउ परेका परियार प्रहरी हिरासतमा छन् भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?