© 2026
वर्तमान सरकारले हप्ताको दुई दिन सरकारी बिदा दिने निर्णय गरेको विषय लगभग सबैलाई थाहा भइसकेको छ ।
यसको कारणका रूपमा इन्धन अभाव देखाइए राजपत्रमा पनि प्रकाशित गरिसकिएकाले यसको कार्यान्वयन अब स्थायी रूपले नै होला भन्ने देखिएको छ । हप्तामा दुई दिनको बिदाको सर्वप्रथम सुरुवात कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएका समयमा थियो ।
त्यतिखेर सरकारी कार्यालयबाट हुने इन्धन प्रयोगको खपतलाई कम गर्नका लागि भन्ने कारण देखाइएको थियो । तर यस कार्यले झन् नकारात्मक स्थिति ल्याएको भनी पूर्ववत् जसरी नै हप्तामा एक दिनकै अवधारणा ल्याइएको थियो ।
त्यसपछि यस कार्यलाई पुनः २०७९ मा सुरु गरिएको थियो । त्यतिखेर पनि सुरुवात गरिएकामा यस कार्यले केही समयपछि नै अवकाश पाएको थियो । त्यस्तै पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईका समयमा मन्त्रीपरिषद्बाट पारित हुँदा पनि यो कार्यको कार्यान्वयन नभएको भनी उहाँले आफ्नै फेसबुकमा पोस्ट गर्नुभएको छ ।
उहाँको पनि हप्तामा दुई दिन बिदा हुनुपर्ने माग भएकाले अहिले यो कार्यको पुनः सुरुवात हुनु खुसीको कुरा भनेरै पोस्ट गर्नुभएको छ । तर उहाँका पोष्टमा राखिएका कुराले हामीलाई केही सोँच्नपर्ने अवस्था भएको छ । प्रसङ्गअनुसार हाम्रा माइला बाले सुनाए अनुसार हाम्रो पैत्रिक गाउँमा एकजना बा हुनुहुन्थ्यो रे ।
गम्भीर प्रकृतिले मीठा कुरा गर्न माहिर उहाँ कहिले पनि रिसाएको जस्तो न देखिनुका साथसाथै हाँसो पनि त्यति देखिँदैन थियो रे । तर उहाँ कुनै दिन हाँस्नुभयो भने गाउँका मानिसले उहाँले अब गाउँमा केही न केही विगार्नुभयो है भनेर जान्दथे रे । त्यसैले गाउँमा उहाँको नाम जोडेर फल्नो हाँस्यो त गाउँ मास्यो भन्ने गरिन्थ्यो रे ।
त्यस्तै गरेर डाटसाप हाँस्दा पनि सशङ्कित हुन पर्ने अवस्था आएको छ । अर्थात् उहाँले फेसबुकमा लेखेको बुँदामा रहेको –“यो सँगसँगै राष्ट्रिय औपचारिक पात्रोमा पनि सुधार गर्दा राम्रो हुन्छ।
देशको इतिहास र संस्कृतिको संबद्र्धन निम्ति नेपालसम्बत् र विक्रमसम्बत् कायम गर्ने र साथमा औपचारिक अन्तर्राष्ट्रिय कारोवार र व्यवसायिक प्रयोजनकोनिम्ति ग्रेगोरियन क्यालेण्डर (इस्वीसम्बत) प्रयोग गर्दा समयको प्रवाह अनुरूप पदचाप मिलाउन सहज हुन्छ“।
उहाँको यही बुँदाले नै उहाँको उद्देश्यका बारेमा सहज बुझ्न सकिन्छ । उहाँ खासमा त विक्रम संवत्का स्थानमा नेपाल संवत् कि संवत् भनेर कुनै समयमा राम्रैसँग लाग्नुभएको थियो । उहाँका पार्टीमा नै विक्रम संवत् विदेशी संवत् भएकाले यसलाई हटाएर हाम्रै संवत् नेपाल संवत् चलाउनुपर्दछ भन्ने बहस चलिरहन्थे ।
उहाँको विक्रम संवत्प्रतिको नकारात्मक धारणाका साथ नेपाल संवत्प्रतिको माया देख्दा नेपाल संवत सम्बन्धी जानकारहरू नै सशङ्कित हुन्थे । त्यसैले उहाँलाई जोडेर उनीहरूले उहाँको खास उद्देश्य त कहाँ नेपाल संवत् ल्याउनु हो र ? विक्रम संवत् र नेपाल संवतको लडाई गराएर यहाँ त इस्वी संवत् ल्याउनु हो नि भनेर भन्ने गर्थे ।
त्यसैले उहाँका यस किसिमका योजना बुझिसकेपछि त्यसको विरोध पनि भएको थियो । त्यतिखेरको जनआक्रोश बुझेका चतुर डाटसापले विक्रमसंवत्का विरुद्ध बोल्न सकिन्न है भन्ने जानेरै अहिले विक्रम संवत् पनि नेपाल संवत्सँगै जोडेर राख्नुभएको छ । यो उहाँको इच्छा नभई बाध्यता हो । नलेख्दा कतै विरोध हुन्छ कि भनेर यहाँ थप्नुभएको मात्र हो ।
उहाँको भित्री उद्देश्य नै नेपाल संवत् लागू गर्ने भन्ने अस्त्रले विक्रम संवत्लाई हटाएर इस्वी संवत् लागू गर्ने भन्ने नै हो । स्मरण रहोस् उहाँहरूको पार्टीले तात्कालिक समयमाजाती–जनजाती, स्थानीयभाषी, स्थानीय समुदाय इत्यादिका अधिकारका नाममा उठाएको नारा स्थानीय भाषा र स्थानीय संस्कृति प्रबर्धन गर्नका लागि नभएर नेपाली भाषा मासेर अङ्ग्रेजी ल्याउन र स्थानीय संस्कृति मासेर सिधै अङ्ग्रेजी कल्चर ल्याउनका लागि थियो ।
त्यस्तै मधेशमा पनि भाषाका साथमा भेषभुषाको विषाक्त खेती पनि त्यहाँको धोती कुर्ता गम्छाको संबर्धनका लागि नभएर राष्ट्रिय दौरा सुरुवालको विरोध गराएर कोट पाइन्ट र टाइको प्रचलन ल्याउनका लागि थियो । त्यसैले त हिन्दुत्वका बारेमा नबुझेको मधेशी समुदायको मानिसले डाटसापका साथ डाटसापकै पार्टीका पूर्व नेता उपेन्द्र यादवका भाषामै दौरा सुरुवालको विरोध गर्दछ तर आफ्नो धोती र कुर्ता लगाउन लाज मानेर सुटमा सजिएर हिँडिरहेको हुन्छ ।
यही कार्य अन्तर्गत नै हिन्दू संस्कार, हिन्दू भाषा र हिन्दू धर्म मासेर इसाइतन्त्र ल्याउनका लागि हुने गरेका उहाँका क्रियाकलाप त हामीले देखेकै छौँ । बुझेकै छौँ । उहाँ लगायतका यस कार्यमा वरणी भएकाहरूका भाषामा हिन्दूले गर्ने गरेका संस्कार यथास्थितिवादी, परम्परागत, कर्मकाण्डीय र दमनकारी हुन्छन् भने क्रिस्तानहरूले गर्ने गरेका कार्य सुधारात्मक, क्रान्तिकारी र वैज्ञानिक हुन्छन् । यहाँ बाबुराम डाटसापको उदाहरण दिइए पनि यस कार्यमा नयाँ तथा पुराना पार्टीका अधिकांश नेताजीहरू संलग्न देखिएका छन् ।
प्रसङ्ग अनुसार आइतबारको बिदा पाउँदा सबैभन्दा बढी खुशी त्यस्तै बाबुराम डाटसाप र उहाँहरूकै मलजलमा हुर्किएको धर्म परिवर्तनकारी इसाइ समुदाय रहेको छ ।
इसाइ मान्नेहरूले आइतवारलाई शुभ वार मानेर त्यस दिन चर्चमा गएर प्रार्थना गर्ने गरेका छन् । आइतवारका दिन सुलीमा चढाइएका येशु पुनः जाग्नुभएको भन्ने विश्वास पनि रहेको छ । त्यसैले यस वर्ष अप्रिल चार तारिखमा परेको आइतवारको दिन नेपालमा रहेका धर्म परिवर्तित इसाइहरूले ठाउँठाउँमा येशुका नाममा कार्यक्रम गरेका पनि थिए ।
शुक्रवारको आधा दिन बिदा हुने गरे पनि त्यसलाई छोडेर आइतवार राखिनु नै इसाइ समुदायले पनि प्रार्थना गर्न पाउन् भनेरै हो भन्ने कुरा जानकारहरूले बताएका पनि छन् । भारतमा हिन्दू समुदायले यही कारणले पनि आइतवारलाई हटाएर अरू बारका दिन बिदा दिनुपर्दछ भन्ने माग पनि उठाइरहेको छ ।
अन्त्यमा यो जनताको अपार मतबाट अनुमोदित सरकारले जसरी पनि राम्रै काम गर्छ भन्ने आम समुदायमा विश्वास रहेको छ । अझ वेदध्वनी र बौद्ध गानका साथ रामनवमीका दिनबाट सुरु भएको यस सरकारले पक्कै पनि यहाँका पुराना धर्म संस्कारको जगेर्ना गर्दछ भनेरै जनता हस्किएका पनि छन् ।
यस पटकको चुनावमा जनताले अनुमोदन गर्नुको कारण यस सरकारले यहाँका हाम्रा पुराना धर्म संस्कार र संस्कृतिको संरक्षण गर्दै जानेछ भन्ने पनि हो । विकास त पुराना सरकारहरूले पनि गरेका थिए तर त्यहाँ भ्रष्टाचार व्यापक थियो । धर्मान्तरण व्यापक रूपमा भएको थियो ।
येशुप्रतिको भक्तिभावमा भावविभोर बनाई सुखी नेपाली बनाउने उद्देश्यले नभएर नेपालमा धर्मका नाममा युद्ध गराई आफ्नो अभीष्ट सिद्ध गर्ने उद्देश्यले नै यहाँ धर्मान्तरण गराइएको हुनाले ती सबैलाई रोक्नुपर्ने भएकाले त्यो रोक्ने काम पक्कै पनि नयाँ पार्टीले गर्नेछ भन्ने भावनाले नै नयाँलाई जिताएका हुन् ।
अतः बाबुराम डाटसापको जस्तो यहाँका पुराना धर्म संस्कार चाल चलन सबैलाई मासेर अन्तराष्ट्रिय समुदायसँग मिलाएर जानुपर्दछ भन्ने जुन कुराहरू आउने गरेका छन् त्यसमा व्यापक षडयन्त्र भएको अनुभूति जनतालाई हुने गरेको छ ।
तिनै डाटसाप जस्तै गरेर नै हाम्रा गुरौहरूले पनि विदेशीका चिया नास्तामा स्वाद लिँदै हाम्रा पञ्चाङ्ग परिवर्तन गर्नुपर्दछ भन्ने विषयलाई उजागर गरिरहनु भएको हुन्छ । अतः यो तपाइँहरूले ल्याउनुभएको हप्ताका दुई दिनको बिदा पनि तपाइँहरूलाई पनि फसाएर त्यस्तै हाम्रो बिदाको दिन शनिवारलाई मासेर पछि अन्ताराष्ट्रिय स्तरमा आइतवार बिदा गर्ने भन्ने खालले नजाओस् भन्ने हाम्रो माग रहेको छ । अस्तु ।