© 2026
भैरहवा । रुपन्देहीमा प्रहरीले गोली प्रहार गरेर लागु औषधसहित तीन जना कारोबारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देहीको रोहिणी गाउँपालिका-२ खुरहुरियाका विशाल यादव, भारतको महाराजगन्ज, पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुण कुमार र सोही स्थानका २० वर्षीय विनय पाण्डेय रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, रोहिणी गाउँपालिका-४ कोटहवामा लागु औषध ओसारपसारको सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो भैरहवा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त टोली खटिएको थियो ।
कोटहवाबाट छिपागढतर्फ आइरहेको तीन जना सवार यूपी ५६ एफ ९९०१ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्न खोज्दा भाग्ने क्रममा उनीहरू लडेका थिए ।
लडेका युवकहरूलाई नियन्त्रणमा लिने क्रममा ढुङ्गा प्रहार गर्दा प्रहरी घाइते भएपछि एक राउन्ड हवाई फायरसहित दुई राउन्ड गोली प्रहार गरी उनीहरूलाई लागु औषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी एवं सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए।
उनका अनुसार पक्राउ परेकाहरूले प्रयोग गरेको मोटरसाइकल चेकजाँच गर्दा लागु औषध फेनरागन ११०० एम्पुल, डाइजेपाम ११०० एम्पुल र ब्रुफिन ११०० एम्पुल बरामद भएको छ ।
बायाँ खुट्टाको पिँडुलामा गोली लागेर घाइते भएका यादवको भीम अस्पतालमा उपचार भइरहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको चन्दले बताए ।