Butwal Today

सिद्धार्थनगरमा अत्याधुनिक प्रशासकीय भवन सम्पन्न

२३ चैत्र २०८२, सोमबार
अ+
अ-

भैरहवा ।

सिद्धार्थनगर नगरपालिकाको अत्याधुनिक प्रशासकीय भवन निर्माण कार्य सम्पन्न भएको छ । २३ करोड ९२ लाख ६९ हजार ३५३ रुपैयाको लागतमा निर्माण गरिएको उक्त भवन सञ्चालनमा आएपछि सेवा प्रवाह थप सहज हुने विश्वास गरिएको छ ।

नगरपालिका र स्काई राम सागर जेभी, चाबहिल, काठमाडौँबीच २०७८ असार २४ गते भएको सम्झौताअनुसार निर्माण सुरु गरिएको भवन निर्धारित समयभन्दा केही ढिला गरी २०८२ असोज ३० गते सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए ।

आरसीसी फ्रेम संरचनामा निर्माण गरिएको भवन करिब चार कट्ठा क्षेत्रफलमा फैलिएको छ । भवनमा २६ वटा कोठा, कार्यपालिका तथा नगरसभाका लागि छुट्टै हल, बेसमेन्ट पार्किङ, दुई लिफ्ट तथा अग्नि सुरक्षा प्रणाली जडान गरिएको छ । बेसमेन्टमा २० कार र १३० मोटरसाइकल पार्किङ गर्न सकिने क्षमता रहेको थापाले बताए ।

भवनका विभिन्न तल्लामा प्रशासनिक शाखा व्यवस्थापन गरिएको छ । भुइँ तल्लामा आठ, पहिलो तल्लामा छ, दोस्रो तल्लामा सात र तेस्रो तल्लामा चार शाखा रहनेछन् । एउटै छानामुनिबाट सेवा प्रवाह हुने भएकाले नगरबासीलाई छिटोछरितो सेवा उपलब्ध हुने प्रमुख प्रशासकिय अधिकृत थापाको भनाई छ ।

उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख इस्तियाक अहमद खानले नगरलाई ‘क्लिन एन्ड ग्रीन’ बनाउने अभियानमा सहयोग गर्न नगरबासीलाई अपिल गरेका छन् । उनले स्रोतबाटै फोहोर वर्गीकरण गर्नुपर्नेमा जोड दिँदै कुहिने, धातु तथा सिसा र प्लास्टिक फोहोर छुट्टाछुट्टै संकलन गर्न आग्रह गरे । निर्देशन पालना नगरे कारबाही गरिने चेतावनी समेत उनले दिए ।

नगर प्रमुख खानले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुनुपर्नेमा जोड दिँदै विमानस्थल सञ्चालनमा ढिलाइ हुँदा पर्यटन तथा होटल व्यवसाय प्रभावित भएको उल्लेख गरे । विमानस्थल सञ्चालनमा आएपछि क्षेत्रीय अर्थतन्त्रमा सकारात्मक परिवर्तन आउने विश्वास उनले व्यक्त गरे ।

स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले नागरिकका समस्या प्रत्यक्ष रुपमा सुन्ने र समाधान गर्ने प्रतिबद्धता जनाउँदै उनले नक्सा पासलगायत सेवामा हुने ढिलासुस्ती अन्त्य गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?