© 2026
काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा देखिएका विद्यमान समस्याहरू समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।आइतबार नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष निकोलस पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलसँग भएको घनिभूत छलफलमा मन्त्री लम्सालले निर्माण उद्योगलाई सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत “भ्रष्टाचार शून्य” बनाउने स्पष्ट अडान व्यक्त गरे।
पश्चिम एशियामा जारी द्वन्द्वका कारण इन्धन तथा निर्माण सामग्रीको मूल्यमा भएको तीव्र वृद्धिबारे प्रतिक्रिया दिँदै मन्त्री लम्सालले दुई हप्ताभित्रै नयाँ निर्देशिका जारी गरेर मूल्यवृद्धिको समस्या सम्बोधन गरिने जानकारी दिए। साथै, एक वर्ष अवधिका सबै ठेक्कामा समेत मूल्य समायोजनको व्यवस्था गरिने उनले बताए।निर्माण क्षेत्रमा देखिएको भुक्तानी समस्या समाधानका लागि सरकारले आवश्यक रकमान्तरको निर्णय गरिसकेको उल्लेख गर्दै उनले अब भुक्तानी र भेरिएसन अर्डरमा ढिलाइ नहुने बताए। यसका लागि आयोजना प्रमुखलाई थप जिम्मेवार बनाइने उनले स्पष्ट पारे।
मोबिलाइजेशन पेश्कीको दुरुपयोग रोक्न विशेष अनुगमन प्रणाली स्थापना गरिएको जानकारी दिँदै मन्त्री लम्सालले निर्माण प्रक्रियामा पारदर्शिता र जवाफदेहिता बढाइने बताए। साथै, निर्माण उद्योगमैत्री वातावरण सिर्जना गर्न सार्वजनिक खरिद ऐन संशोधन प्रक्रिया अघि बढाइएको र त्यसमा महासंघको समेत सहभागिता रहने उनले बताए। छलफलका क्रममा महासंघका अध्यक्ष पाण्डेले “रुग्ण ठेक्का” को समस्या समाधानमा ध्यान दिन आग्रह गरेका थिए। जवाफमा मन्त्री लम्सालले ठेक्काहरूलाई रुग्ण हुन नदिने नीति लिइने र आवश्यक वर्गीकरण तथा लचकता अपनाएर समस्याहरू समाधान गरिने बताए।
त्यस्तै, निर्माण क्षेत्रमा अनावश्यक हस्तक्षेप गर्ने “थर्ड पार्टी” विरुद्ध कडा कारबाही हुने चेतावनी दिँदै उनले नियमअनुसार काम गर्ने सबै पक्ष सुरक्षित रहने बताए। कार्यक्रममा मन्त्री लम्सालले सरकार र निजी क्षेत्र दुबै जिम्मेवार भएर अघि बढेमा निर्माण क्षेत्रमा देखिएका अधिकांश समस्या समाधान गर्न सकिने धारणा राखे। सो अवसरमा महासंघका अध्यक्ष निकोलस पाण्डेले मन्त्री लम्साललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै निर्माण क्षेत्र सुधारमा सहकार्य गर्ने प्रतिबद्धता जनाए।