© 2026
लमही । मालपोत कार्यालय तुलसीपुर दाङमा सेवाग्राहीलाई अनावश्यक दुःख दिएको र प्रक्रियामा अवरोध पुर्याएको आरोपमा प्रहरीले केही बिचौलिया र लेखापढी व्यवसायीहरूलाई पक्राउ गरेको छ । प्रहरीले कार्यालय हाताभित्रैबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीहरूले काम गराउँदा अनावश्यक झन्झट खेप्नुपरेको र बिचौलियाहरूको चलखेल बढेको र लेखापढी व्यवसायीले बढी रकम लिने गरेको जनगुनासो आएपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूको नाम खुलाएको छैन। उनीहरुलाई अहिले इलाका प्रहरी कार्यालय तुलसीपुरमा सोधपुछ र अनुसन्धान प्रक्रिया अघि बढेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय सरकारी कार्यालयहरूमा बिचौलियामुक्त वातावरण बनाउने उद्देश्यले सुरक्षा निकायले सादा पोसाकमा समेत प्रहरी परिचालन गर्दै आएको छ ।