© 2026
मर्यादित सहकारी समृद्ध समाज भन्ने नाराका साथ नेपालमा आज राष्ट्रिय सहकारी दिवस मनाईदैछ ।
यो वर्षको नाराले भनेजस्तै केही सहकारीको कारण सिङ्गो सहकारी क्षेत्र बदनाम भइरहेकोले सहकारीलाई मर्यादित बनाउनुपर्ने खाँचो छ । समृद्ध समाज निर्माणमा सहकारीको योगदान महत्त्वपूर्ण हुन्छ तर सहकारीलाई केही स्वार्थी तत्त्वले बदनाम गरेका छन् । सहकारीलाई एउटा पद्धतिमा चलाउनुपर्नेमा सहकारीलाई ठगीको माध्यम बनाउने गरिएको छ ।
सहकारीमा पैसा जम्मा गरेका सर्वसाधारण जनताको रकम डुबेको छ । यही बुटवलका आधा दर्जन सहकारीले बदमासी गर्दा हजारौँ बचतकर्ताको रकम डुबेको छ । सहकारी अहिले सर्वसाधारण बचतकर्ताको रकम ठगी गर्ने माध्यम बन्दै गएकोमा चिन्ता लाग्नु स्वाभाविक छ ।
निश्चित रूपमा सहकारीमा सर्वसाधारणले आफ्नो अथक मेहनत र परिश्रमबाट आर्जन गरेको पैसा जम्मा गर्ने गर्दछन् । भोली कुनै पनि अवस्थामा काम लाग्छ भन्ने मान्यता र विश्वासका साथ सहकारीमा पैसा जम्मा गर्ने गरिन्छ । तर, पछिल्लो समय यही सहकारीमार्फत सर्वसाधारणको बचत रकम ठगेर कुलेलम हुने प्रवृत्ति रोक्नेतर्फ अव नयाँ सरकारले पहल गरोस् ।
यद्यपि बालेन सरकारको एक सय बुँदे कार्यसूचीमा साना बचतकर्ताको रकम फिर्ताको कुरा पनि परेको छ । तसर्थ सरकारले बचतकर्ताको रकम अविलम्ब फिर्ता गरोस् । जीवनभर सहकारीमा पैसा जम्मा गरेका बचतकर्ताहरू सहकारी सञ्चालक नै फरार भएर पैसा डुबेपछि अहिले पनि बिलखबन्दमा परेका छन् ।
हजारौँ बचतकर्ताको जीवन बर्बाद भएको छ । जीवनभर श्रम गरेर राखेको पैसा डुबेपछि चिन्ता लाग्नु स्वाभाविक हो । तसर्थ सहकारी दिवसको आजको महत्त्वपूर्ण दिनमा सहकारीलाई नियमन गर्ने तथा बचतकर्ताको रकम सुरक्षित गर्ने बिषयमा एउटा ठोस योजना सार्वजनिक गरियोस् । यस विषयमा नयाँ सरकारको ध्यान जानु जरुरी छ ।
अबको दिनमा सहकारी सदस्यहरूको हित र दिगो सहकारी निर्माणका लागि भिजन तयार गर्ने, योजना तथा नीतिहरू निर्माण गर्ने जिम्मेवारी बोध जरुरी छ । सदस्यहरू सहकारीका मेरुदण्ड हुन् । सदस्य नभै सहकारी चल्न सक्दैन । यो ध्रुबसत्य कुरा हो तर सदस्यहरूलाई नै समस्यामा पार्ने काम भैरहेको छ । जुन खेदजनक छ ।
संचालकहरूमा ऋण लिन सदस्य बन्ने, नाफाको लागि सदस्यता लिने वा बढी ब्याज पाउने लोभमा सदस्य बन्ने प्रवृत्तिले समस्या देखिएको छ । अबको दिनमा सदस्यहरूलाई विभिन्न तालिममार्फत क्रियाशिल गराउने, नियमित बचतमा सहभागी गराउने, सदस्य सहभागितामा नीति निर्माण गर्ने, ऋण सदुपयोगिता र यसको जोखिमको बारेमा परामर्श सेवा दिने र सदस्यको हरेक सुख दुःखमा सहकारीले साथ दिने, सदस्य ग्राहक होईन मालिक हो भन्ने वातावरण सिर्जना गर्ने तर्फ ध्यान दिने हो भने सहकारी फस्टाउने छन् ।
अवका दिनमा हरेक सहकारीका सञ्चालकको ध्यान सहकारी बन्द गराउने नियतले होइन, सहकारीमार्फत विकास अभियानमा जोडिनेतर्फ जानैपर्दछ ।
विगतमा सहकारीहरू डुब्नुको मूख्यकारणहरूमा गैरजिम्मेवारीपन, पारदर्शिताको अभाव, जवाफदेहिताको कमी र कर्तव्यपालनको विषयमा चुकेकै कारण धरापको अवस्था आएको हो भन्दा अत्युक्ति हुँदैन ।
सहकारीमा नीति भन्दा नेता प्रधान गतिविधीले वित्तीय अपराध मौलाउनुका साथै वित्तीय अनुशासन उल्लंघन भएको थुप्रै घटनाहरू हामीले विगतमा नेपाली सहकारीबाट भोगेको हौ । तसर्थ यस्ता गतिविधिले सहकारीलाई दिगोपन होईन, क्षणभरमै खरानीको बाटोमा पु¥याउँछ । तसर्थ सहकारी एउटा निर्दिष्ट नीतिमा कायम हुनुपर्दछ ।
सहकारी दिवस मनाउँदै गर्दा यी सवै नीति, जिम्मेवारी, दायित्व निर्वाह गर्न सकियो भने सहकारीलाई आर्थिक बिकासको खम्बा बनाउन सकिन्छ । अतः अव सहकारीमा नियमन जरुरी छ ।
संघीय र प्रदेश सरकारले अव सहकारीलाई एउटा निश्चित सिमाभित्र बाँध्ने काम गर्नु अत्यावश्यक छ । सहकारी मर्यादित भयो भने समाज मर्यादित र जिम्मेवार बन्छ । सहकारीको यो वर्षको नारा समेत यही हो ।
अतः सरकारले सय दिनभित्रैमा जसरी साना बचतकर्ताको रकम फिर्ता गर्ने घोषणा गरेको छ, त्यो कार्यान्वयन होस् । सहकारीका बचतकर्ताको रकम चुक्ता गर्दैगर्दा सहकारी डुबाउनेहरूलाई कारवाहीको दायरामा ल्याउने बिषयमा सरकारको ध्यान जाओस् ।