© 2026
काठमाडौँ– विदेशमा बसेर नेपालमा वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको आरोपमा अर्घाखाँची शितगंगा नगरपालिका-५ का ३० वर्षीय शिवबहादुर सारू वर्ष दिनभन्दा बढी समयपछि पक्राउ परेका छन्।
साउदी अरबबाट फ्लाई दुबईको उडानमार्फत नेपाल फर्किएका सारू बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्। विमानस्थलको समन्वयमा मानव बेचबिख अनुसन्धान व्यूरोले उनलाई पक्राउ गरेको हो।
उनले नेपालमा एक नाजुक अवस्थामा रहेकी महिलालाई अनलाइन माध्यम (ह्वाटस् एप)मा फोन तथा एसएमएस गरेर वेश्यावृत्तिमा लगाउने कार्य गरेको व्यूरोका सूचना अधिकारी राजन लिम्बुले जानकारी दिए।
जबरजस्ती वेश्यावृत्तिमा लगाएको अवस्थामा एक महिलालाई २०८१ सालको कात्तिक १२ गते प्रहरीले उद्धार गरेको थियो। सारूले २०८१ सालकै असोजदेखि ती महिलालाई ग्राहक खोज्दै आर्थिक प्रलोभनमा पारेर वेश्यावृत्तिमा लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
सारूले एक ग्राहकबाट आठ देखि २० हजारसम्म लिने गरेका थिए। नाजुक अवस्थाकी ती महिलालाई उद्धार गरेपछि प्रहरीले अनुसन्धान गर्दा आर्थिक प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको खुलेको सूचना अधिकारी लिम्बुले बताए।