Butwal Today

यातायात व्यवसाय संकटमा, तीन तहका सरकारको ध्यानाकर्षण

१९ चैत्र २०८२, बिहीबार
अ+
अ-

बुटवल । छाडा चौपाया, बस टर्मिनलको अव्यवस्था, बढ्दो करको भार र जीर्ण राजमार्गका कारण यातायात व्यवसाय संकटमा परेको भन्दै पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले तीन तहका सरकारको ध्यानाकर्षण गराएको छ।

संस्थाले बुटवलमा पत्रकार सम्मेलन गर्दै यातायात क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न संघीय, प्रदेश र स्थानीय सरकारसँग माग राखेको हो। बुटवललाई केन्द्र बनाएर देशका विभिन्न भाग तथा भारतका शहरसम्म सेवा सञ्चालन गर्दै आएको संस्थाले आफू ठूलो यात्रुवाहक सवारी संस्था भएको दाबी गरेको छ।

अध्यक्ष दधिराम खरेलले बदलिँदो समयअनुसार प्रविधियुक्त र यात्रुमैत्री सेवा दिँदै आए पनि नीतिगत तथा संरचनागत समस्याले व्यवसाय प्रभावित भएको बताए। चैत १४ देखि १८ गतेसम्म सञ्चालन गरिएको छैटौँ वार्षिक साधारण सभामा उठेका विषयहरू सार्वजनिक गर्दै उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।संस्थाले बुटवल उपमहानगरपालिका सँग छाडा चौपायाको नियन्त्रण, लुम्बिनी बस टर्मिनल को व्यवस्थापन सुधार, बसपार्कको क्षमता विस्तार, राजमार्गमै शुल्क असुली रोक्न तथा अटो भिलेजको व्यवस्थापन गर्न माग गरेको छ।

त्यस्तै लुम्बिनी प्रदेश सरकार सँग सवारी इजाजतपत्रको अवधि एक वर्ष बनाउन, सवारी कर तथा आयकर घटाउन र दुर्घटना न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ। संघीय तहमा नेपाल सरकार सँग सवारीसम्बन्धी संघ–संस्थाको नवीकरण सहज बनाउने, वैज्ञानिक भाडादर निर्धारण गर्ने, अनियन्त्रित सवारी आयात रोक्ने, निजी सवारीबाट यात्रु ओसारपसार नियन्त्रण गर्ने तथा ई–रिक्सा र टेम्पुजस्ता सवारीलाई राजमार्गमा सञ्चालन रोक्न माग गरिएको छ। संस्थाका अनुसार राष्ट्रिय राजमार्गको मर्मत–सम्भारमा ढिलाइ हुँदा दुर्घटना बढेको छ भने दुर्घटनापछि सवारी साधन लामो समयसम्म नियन्त्रणमा राखिँदा व्यवसायी आर्थिक समस्यामा परेका छन्।

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले पूर्व सहमतिअनुसार २४ घण्टाभित्र सवारी जिम्मा–जमानीमा छोड्ने व्यवस्था कार्यान्वयन गर्न पनि संस्थाले सरकारसँग माग गरेको छ। व्यवसायीहरूले उठाएका समस्या समाधान नगरे सार्वजनिक यातायात सेवा प्रभावित हुने चेतावनी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?