Butwal Today

सामूहिक विद्यालय परिवारको अधिवेशनबाट पन्थी अध्यक्षमा निर्वाचित, शिक्षा सुधारमा विशेष जोड

१७ चैत्र २०८२, मंगलवार
अ+
अ-

भैरहवा । सामूहिक विद्यालय परिवार रुपन्देहीको २५औँ साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि नयाँ कार्यसमिति गठन गरेको छ ।

नव–निर्वाचित कार्यसमितिको अध्यक्षमा विष्णु प्रसाद पन्थी, निवर्तमान अध्यक्षमा समसाद इद्रिसी, उपाध्यक्षमा सिर्जना पाठक, सचिवमा कमल कोइराला, कोषाध्यक्षमा रविन्द्र खड्का, सह–सचिवमा दीपक थापा तथा सदस्यहरूमा राजकुमार गुरुङ र कमलेस हरिजन चयन भएका छन् ।

कार्यक्रममा बोल्दै प्याब्सन लुम्बिनी प्रदेशका कोषाध्यक्ष महेश भुर्तेलले मुलुक अहिले राजनीतिक रूपमा स्थायित्वतर्फ उन्मुख भएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा सुधारको उपयुक्त अवसर सिर्जना भएको बताए । उनले लामो समयदेखि चर्चामा रहेको शिक्षा ऐन चाँडै व्यवहारिक रूपमा कार्यान्वयनमा आउनुपर्ने आवश्यकता औँल्याए ।

भुर्तेलले विगतमा शिक्षा ऐनका विषयमा विभिन्न तहमा ज्ञापन पत्र बुझाउनेदेखि आन्दोलनसम्मका कार्यक्रमहरू गरिएको स्मरण गराउँदै शिक्षा क्षेत्रका सरोकारवालाहरूको सुझावलाई समेटेर नीति निर्माण गर्न सरकारलाई आग्रह गरे ।

“शिक्षाकर्मीलाई नजरअन्दाज गरेर बनाइने नीति दीर्घकालीन रूपमा प्रभावकारी हुँदैन,” उनले भने, “यसले शिक्षक–कर्मचारीको मनोबल घटाउने र अन्ततः विद्यार्थीको शिक्षामा नकारात्मक असर पार्ने सम्भावना हुन्छ ।”

त्यसै गरी, निवर्तमान अध्यक्ष सांसद इद्रिसीले संस्था वि.सं. २०५९ सालमा स्थापना भएदेखि नै विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि विविध कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले संस्था विद्यार्थी मात्र नभई अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन तथा समग्र समाजसँग सहकार्य गर्दै अघि बढ्दै आएको उल्लेख गरे ।

इद्रिसीले सामूहिक विद्यालय परिवार रुपन्देही जिल्लाकै एक उत्कृष्ट शैक्षिक सङ्गठनका रूपमा स्थापित भइसकेको दाबी गर्दै विगतका सबै कार्यसमितिहरूले संस्थाको गरिमा उच्च राख्न महत्त्वपूर्ण योगदान दिएको बताए । उनले नवगठित कार्यसमितिले पनि संस्थाको प्रतिष्ठालाई अझ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।

अधिवेशनले शिक्षा क्षेत्रको समग्र उन्नति, नीतिगत सुधार तथा संस्थागत सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?