Butwal Today

ज्ञापन पत्र बुझाउँदै प्रशासन अगाडि एमालेको नाराबाजी

१५ चैत्र २०८२, आइतबार
अ+
अ-
भैरहवा । नेकपा (एमाले) रुपन्देहीले पार्टी अध्यक्ष केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखक को गिरफ्तारीको विरोधमा जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेको छ।
एमाले रुपन्देहीका नेता तथा कार्यकर्ताहरूले जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्र बुझाउने क्रममा कार्यकर्ताहरूले प्रशासन कार्यालय अगाडि नाराबाजी गर्दै गिरफ्तारीको कडा विरोध जनाएका थिए।
पार्टीले उक्त गिरफ्तारीलाई प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैर कानुनी कदमको संज्ञा दिँदै लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि आघात पुगेको आरोप लगाएको छ। साथै, यस्तो कार्यले मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने चेतावनीसमेत दिएको छ।
कार्यक्रमका क्रममा बोल्ने नेताहरूले २०८२ भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्। उनीहरूले जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदनलाई पूर्वाग्रहपूर्ण भन्दै खारेज गर्नुपर्ने बताएका छन्।
एमाले रुपन्देहीले आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न सबै पक्षमाथि निष्पक्ष अनुसन्धान गरी कानुनी कारबाही गर्नुपर्ने मागसमेत राखेको छ। साथै, विभिन्न गैरसरकारी संस्थाहरूको संलग्नताबारे पनि गम्भीर अनुसन्धान गर्नुपर्नेमा जोड दिइएको छ।
पार्टीले अध्यक्ष ओली र नेता लेखकलाई तत्काल रिहा गर्न माग गर्दै माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ। जिल्ला प्रशासन कार्यालय अगाडि भएको प्रदर्शन शान्तिपूर्ण भए पनि नाराबाजीले केही समय वातावरण तनावग्रस्त बनेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?